पेट्रोलियम पदार्थमा फेरि मूल्यवृद्धि, पेट्रोल र डिजेलको भाउ अहिलेसम्मकै उच्च
नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगमले शनिबार रातिबाट लागू हुने गरी पेट्रोल,डिजल र मट्टीतेलमा प्रतिलिटर रू.३ का दरले मूल्य बढाएको हो।
यससँगै पेट्रोलको मूल्य प्रति लिटर रू.१४५ तथा डिजेल र मट्टीतेलको मूल्य प्रति लिटर रू.१२८ पुगेको छ । हवाई इन्धन र एलपी ग्याँसको मूल्य भने यथावत् राखिएको छ।
१८ माघमा मात्रै मूल्यवृद्धि गरेको सरकारले तीन हप्ता नपुग्दै इन्धनको भाउ बढाएको हो। अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेकाले स्थानीय बजारमा पनि बिक्री मूल्य बढाउनुपरेको निगमले जनाएको छ ।
मूल्यवृद्धिका बावजूद अझै पेट्रोलमा प्रतिलिटर १६ रुपैयाँ ५९ पैसा, डिजेलमा प्रति लिटर १२ रुपैयाँ ९८ पैसा घाटा रहेको निगमको दाबी छ। मूल्यवृद्धिका बावजूद निगमको १५ दिनको घाटा रू.२ अर्ब १५ करोड हुने निगमले जनाएको छ।