सभामुखलाई सरकारको प्रस्ताव रोक्ने अधिकार छैनः कांग्रेस प्रवक्ता
नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले प्रतिनिधि सभाका सभामुखलाई सरकारले संसद्मा पेश गर्न चाहेको विषय रोक्ने अधिकार नभएको बताएका छन्।
नुवाकोट–१ कोे कांग्रेस क्षेत्रीय कार्यालय र प्रदेश ‘ख’ को प्रदेश क्षेत्रीय कार्यालयको शनिबार उद्घाटन गर्दै महतले सभामुख अग्नीप्रसाद सापकोटालाई कुनै पनि विषय रोकेर राख्ने अधिकार नभएको बरु सरकारले पेश गर्ने विषयमा उनले सघाउनु पर्ने बताए।
मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) कम्प्याक्ट पनि सापकोटाले रोक्न नमिल्ने उनको जोड थियो। पूर्व ऊर्जा मन्त्री महतले एमसीसीको बारेमा सत्ता गठबन्धनका साझेदार दलहरुले राजनीतिक इमान्दारी नदेखाउदा समस्या परेको बताए।
अमेरिकाले दिन लागेको ६० अर्ब विकास अनुदान लिने प्रक्रियामा सबै दलका सबै नेताहरु सहभागी भएको र अहिले संसदमा छलफलका लागि प्रस्तुत गर्न केही दलबाट अवरोध गरिएको बताए।
कार्यकर्तालाई सम्बोधन गर्दै महतले भने, “ हिजो ४ देखि ५ महिनाभित्र संसदबाट अअनुमोदन गर्दछौ भनेर प्रचण्डजीले चिठी लेख्नुभएको हो। तर उहाँ अहिले त्यसमा इमान्दार देखिनु भएको छैन।”