खाडीको मरुभूमिमा नेपालको पानी
रसुवास्थित एक कम्पनीले कतारको बजारमा पानी निर्यात शुरू गरेको छ। मुलुक बाहिरका बजारमा पानी निर्यातको दिगोपनका विषयमा भने पर्याप्त आशङ्का छ।
झण्डै २० महीना लामो पहलपछि नेपालमा उत्पादित पानीको मध्यपूर्वको कतारमा निर्यात शुरू भएको छ। रुद्रगंगा नेचुरल वाटर प्रालिले उत्पादन गरेको ‘रसुवा’ ब्रान्डको पानीलाई दोहाको बजारमा बिक्री शुरू गरिएको खाडी देशका लागि आधिकारिक वितरक बनेको न्यू लाङटाङ हिमालय ट्रेडिङ एन्ड कन्ट्र्याक्टिङ कम्पनीका प्रबन्ध निर्देशक बीबी खरेलले बताए।
“हाम्रो लक्ष्य नेपालको पानी खाडीमा लैजाने हो। महामारीका कारण झण्डै २० महीनाको सङ्घर्षपछि नेपाली पानीको पहिलो बिक्री कतारमा शुरू भएको छ,” खरेलले हिमालखबरसँग भने।
पहिलो चरणमा काठमाडौंबाट करीब तीन हजार चार सय किलोमिटर टाढा (हवाई दूरी) को दोहासम्म जहाजमा हालेर लगभग आठ टन पानी पुर्याइएको छ। पानीको परिमाण क्रमशः बढाउँदै लैजाने उनले बताए। कतारमा पानी परीक्षण, सरकारी निकायबाट प्रमाणीकरण तथा आवश्यक स्वीकृति पाएपछि बिक्री शुरू गरिएको खरेलले जानकारी दिए।
रसुवा ब्रान्डका ३३० मिलिलिटर र ५०० मिलिलिटरका पानी भरिएका बोतल क्रमशः ३.५० रियल (करीब ११५ रुपैयाँ) र चार रियल (करीब १३० रुपैयाँ) मा बिक्री शुरू गरिएको हो। “खाडी राष्ट्रहरू पानीका लागि ठूलो बजार हुन्। ती देशहरू पेट्रोल बेचेर धनी भए र हामीले पनि यी देशहरूमा पानी बेच्ने लक्ष्य लिएर शुरू गरेका छौं, जहाँ पानी पेट्रोलभन्दा महँगो छ,” खरेलले भने।
कतार र मध्यपूर्वभरि छरिएका नेपाली कामदार नेपाली पानीको बिक्रीका लागि सद्भावना दूत भएको खरेलको भनाइ छ। “हस्पिटालिटी क्षेत्रका थुप्रै कम्पनीमा नेपालीले काम गर्छन्, हामीले उनीहरूसँग सम्पर्क गर्दै छौं ताकि प्रमुख ग्राहक हुने होटेललाई पानी बिक्री गर्न सकियोस्,” उनले भने। मध्यपूर्वका देश खानेपानीको उच्च अभाव भएका देशको सूचीको अघिल्लो पङ्क्तिमा पर्छन्। यी देशले खानेपानीको व्यवस्थापनका लागि ठूलो रकम खर्च गर्दै आएका छन्।
खरेलको समूहले अहिलेको परीक्षण बिक्री सफल भएपछि नेपालबाट थप १६ टन पानी कतार निर्यात गर्ने तयारी गरेको छ। त्यसै गरी आगामी मार्चमा दुबईमा ५० टन पानी लैजानका लागि सम्झौताको तयारी गरिएको पनि उनले बताए। उनको टोलीको प्रमुख नजर भने यस वर्षको अन्त्यमा हुने फिफा विश्वकप फूटबल र अर्को वर्ष हुने दोहा एक्स्पोमा केन्द्रित छ।
आगामी नोभेम्बर महीनामा शुरू हुने फिफा विश्वकप प्रतियोगिताका लागि लाखौं आगन्तुक कतार पुग्ने अपेक्षा गरिएको छ। “हामीले विश्वकप र दोहा एक्सपोमा पक्कै पनि धेरै आशा राखेका छौं। होटलहरू बाहेक डिपार्टमेन्टल स्टोरहरूसँग साझेदारी गर्ने हाम्रो प्रयास हुनेछ। खेलका क्रममा विश्वभरका पर्यटकहरू आउने भएकाले यो नेपाली पानीलाई विश्वव्यापी रूपमा बजारीकरण गर्ने माध्यम पनि हुनेछ,” खरेलले भने।
तर, विश्वका ठूला पानी कम्पनीको रजगज गरेको मध्यपूर्वको प्रतिस्पर्धात्मक बजारमा नेपालको सानो कम्पनीलाई प्रतिस्पर्धामा उत्रिन सजिलो छैन। खास गरी मूल्य र बजारमा उपलब्ध गराउन सक्ने परिमाणका हिसाबले।
“फिजी वाटर वा फ्रान्सको एभियन जस्ता प्रख्यात ब्रान्डहरूसँग प्रतिस्पर्धा गर्न सजिलो छैन, तर उनीहरूको दबदबाबीच पनि नेपालको हिमालय क्षेत्र स्रोत (करीब दुई हजार मिटरको उचाइमा सङ्कलन गरिएको) भएको स्वाद र गुणस्तर दुवैमा अब्बल पानीमा मानिसको चासो रहन्छ भन्ने हाम्रो अपेक्षा छ,” उनले भने।
रसुवाको धुन्चेमा पानी प्रशोधन कारखाना रहेको रुद्रगंगा नेचुरल वाटरले साढे दुई वर्षअघि उत्पादन थालेको थियो। हिउँबाट पग्लिएको पानीमा कुनै पनि रसायन नहाली तयार गरिएकाले प्राकृतिक गुणका कारण आफ्नो उत्पादनले बजार पाउने अपेक्षा गरेको कम्पनीका अध्यक्ष गणेशबहादुर भण्डारीले बताए। यो कम्पनीले शुरूआतदेखि नै विदेशी बजारमा पानी निर्यातको लक्ष्य राखे पनि कोभिड-१९ लगायत कारणले निर्यात गर्न सकेको थिएन।
यद्यपि, अब कम्पनीले चीन, कतार, अस्ट्रेलिया, दुबई सहितका देशमा पानीको निर्यात सम्भावना हेरिरहेको छ। भण्डारीले भने, “चीन ठूलो बजार हो। चीनका शहरमा रसुवा वाटरको बजार प्रवर्द्धनका लागि ठूलो रकम खर्च भइसकेको छ। हाम्रो वितरकले चीनमा छिटै ठूलो परिमाणमा बिक्री शुरू गर्दै छ।”
नेपालले पछिल्ला वर्षमा अन्य मुलुकलाई पानी निर्यातको सम्भावना हेरिरहेको छ। हिमालय क्षेत्रको पानीको साख राम्रो हुने कारणले गर्दा विदेशी बजारमा सहजै बिक्री गर्न सकिने सरकारी अधिकारीहरूले बताउने गरेका छन्। नेपालमा हिउँले ढाकिएका हिमाली र पहाडी क्षेत्रमा उद्गमस्थल भएका झण्डै ६ हजार नदीनाला रहेको मानिन्छ।
यी नदीबाट दक्षिणतिर बग्ने पानीले भारतमा गङ्गा नदीको दुई तिहाई पानी आपूर्ति गर्ने बताइन्छ। तर, विरोधाभास के छ भने जति धेरै पानीका स्रोत रहे पनि नेपाल आफैंले पानीको व्यवस्थापन उचित तरीकाले गर्न नसक्दा ठूलो जलसङ्कट बेहोरिरहेको छ। यस्तोमा विदेशमा पानी निर्यात गरेर लाभ लिने सम्भावना कति औचित्यपूर्ण छ भन्ने प्रश्न पनि उठ्छ।
झण्डै डेढ दशकअघि नै रसुवाको धुन्चेस्थित हिमालयाज् स्प्रिङ वाटरले पानी निर्यातको पहल शुरू गरेको थियो। कोरियाली लगानीमा स्थापित यो कम्पनीले शुरूआतका वर्षमा कोरियामा पानी निर्यात गरेको थियो। तर, पछि कोरियन लगानीकर्ता फर्किएपछि लामो समय कम्पनीले उत्पादन बजारमा पठाउन सकेन।
अहिले व्यवसायी अजेयराज सुमार्गीको स्वामित्वमा रहेको यो कम्पनीले हिमालयाज् अनटप ब्रान्डमा पानी उत्पादन गर्छ। यसले साउदी अरेबिया तथा दुबईमा पानी निर्यातको पहल गरे पनि सफल हुन सकेको छैन।
रुद्रगंगा नेचुरल वाटरका अध्यक्ष भण्डारीका अनुसार, विदेशमा पानी निर्यातको सम्भावना भए पनि यातायात खर्च सबैभन्दा ठूलो बाधाका रूपमा रहेको छ। “कतारसम्म ५०० मिलिलिटरको पानी भरिएको बोतल पुर्याउन करीब ६० सेन्टसम्म (करीब रु.७२) खर्च हुन्छ। हाम्रा लागि उत्पादन गर्नुभन्दा यातायातमा धेरै खर्च हुन्छ। यसलाई घटाउन सकिए मात्रै निर्यातको सम्भावना फराकिलो हुन्छ,” भण्डारीले भने।
मध्यपूर्वमा पानी वितरणको जिम्मा लिएका खरेल हवाई उडान मार्फत कतार पुर्याइएको पानीका लागि ढुवानीमा प्रति किलो करीब रु.५५ रुपैयाँ खर्च भएको बताउँछन्। “यो असाध्यै महँगो ढुवानी शुल्क हो। यसलाई कम्तीमा रु.३५ घटाउन चाहन्छौं। त्यसो हुँदा मात्रै हाम्रो पानीको बजार प्रतिस्पर्धात्मक हुन सक्छ,” उनले भने।
वितरक खरेल चाहिं विशेष गरी नेपाल सरकारको स्वामित्व रहेको नेपाल एअरलाइन्स मार्फत पानी निर्यात गर्दा हवाई कार्गो ढुवानी शुल्कमा छूट दिइनुपर्ने बताउँछन्।
“विदेशी बजारमा पानी बिक्री गर्न हामीलाई सरकारको सहयोग चाहिन्छ, हवाई कार्गो ढुवानीमा आधा छूट दिने हो भने नेपाली पानी मात्रै होइन, तरकारी वा अरू उत्पादनको पनि बजार बढ्न सक्छ,” उनी भन्छन्। खरेलका मतमा विदेशस्थित नेपाली नियोगले नेपाली उत्पादनलाई त्यहाँको बजारमा फैलाउन बजारीकरणका लागि सहयोग गर्नु आवश्यक छ।
हवाई ढुवानीको विकल्पमा पानीजहाज मार्फत सस्तोमा भारतीय बन्दरगाह हुँदै पानी निर्यातको सम्भावना भए पनि त्यसले लामो समय लिन्छ। खरेलका अनुसार, पानीजहाज मार्फत पठाउँदा प्रतिकेजी रु.१० मात्रै ढुवानी भाडा पर्छ। तर, पुग्नलाई कैयौं साता लाग्छ। भारतको कलकत्ता बन्दरगाह हुँदै कतारसम्म पानी पुर्याउन कम्तीमा ४५ दिन लाग्छ।
त्यसै गरी विशाखापट्नम् बन्दरगाह मार्फत निर्यात गर्ने हो भने करीब एक महीना लाग्छ। “बरु सरकारले मुम्बई बन्दरगाहबाट निर्यात हुने प्रबन्ध मिलाउन सक्ने हो भने खाडी देशमा पाँच दिनमै सामान पुर्याउन सकिन्छ,” उनले भने।
नेपालीले पछिल्ला दशकमा मध्यपूर्वका देशको रूपान्तरणका लागि महत्त्वपूर्ण भूमिका खेलेका छन्। ती देशमा काम गर्न गएका लाखौं नेपालीले पठाएको रेमिटेन्सबाटै नेपालको वैदेशिक मुद्राको सञ्चितिमा टेवा मिलिरहेको छ।
अब नेपालका प्राथमिकता परिवर्तन हुन आवश्यक रहेको खरेल बताउँछन्। उनी भन्छन्, “अब श्रमशक्ति निर्यात गर्ने होइन, नेपालले उत्पादन निर्यात गर्ने दिशामा सोच्नुपर्छ। विदेशी मुद्राको भरपर्दो आम्दानी र उद्यम व्यवसाय विस्तारका लागि पनि त्यसो गर्नु जरुरी छ।”