आदर्श शिक्षाको प्रारूप
कुनै पनि बालकको अन्तर्निहित क्षमता बुझ्नेभन्दा पनि अभिभावकको ‘सपना’, शिक्षकको ‘पर्फमेन्स’ र विद्यालयको ‘छवि’ को बोझ बोकाउनेतिर नेपाली शिक्षा क्षेत्रले मिहिनेत गरिरहेको देखिन्छ।
लामो शिक्षण अनुभवमा आदर्श शिक्षाको परिकल्पना जोडेर हरिहर तिमिल्सिनाले लेखेको उपन्यास कखराले जीवन र शिक्षाबीचको सम्बन्धबारे प्रश्न उठाएको छ। शिक्षक तिमिल्सिनालाई अभिभावकका आकाङ्क्षादेखि विद्यार्थीका मनोभावना अनि जीवनका व्यावहारिक आवश्यकताबारे प्रत्यक्ष अनुभव हुनु स्वाभाविक हो। त्यसमाथि आफ्नो पेशा र लेखनप्रेमबीचको लगातारको चिन्तनको परिणाम पनि हो- कखरा।
सफल नामक किशोर पात्रको विद्यार्थी जीवन वरपर घुम्ने यो उपन्यास मार्फत लेखक नेपाली शिक्षा क्षेत्र, विशेषतः निजी विद्यालयमा ‘गुणस्तरीय शिक्षा’ का नाममा विद्यार्थीलाई यान्त्रिक बनाउने अभ्यासमाथि घोत्लिएका छन्। विद्यार्थीलाई जीवनका नैतिक आदर्श र व्यवहारभन्दा पाठ्यपुस्तकभित्र कैद गर्ने र अनुशासनका नाममा स्वाभाविक हुर्काइलाई कुण्ठित गर्ने प्रवृत्तिमा परिवर्तनको माग नै उपन्यासको सार हो।
उपन्यासकार तिमिल्सिनाले कखरामा बालमनोविज्ञान मार्फत नेपाली शिक्षा व्यवस्थाका यस्ता धेरै आयाम केलाएका छन्। अनि विद्यालयमा महँगो पैसा तिर्दैमा छोराछोरीप्रतिको दायित्व पूरा भएको ठान्ने अभिभावकलाई कटाक्ष गरेका छन्। सामाजिक परिवर्तनसँगै पारिवारिक र दाम्पत्य जीवनमा आइरहेका समस्याले सन्तानमा पारिरहेको प्रभावलाई उनले उपन्यासमा उजागर गरेका छन्।
विशेषतः गुणस्तरीय शिक्षाका नाममा छोराछोरीलाई छात्रावासमा राख्दा उनीहरूले अनुभव गर्ने अलगाव र एक्लोपना अनि त्यसले उनीहरूको समग्र व्यक्तित्वमा पार्ने प्रतिकूल प्रभावको रोचक प्रस्तुति पुस्तकमा छ।
शिक्षालाई व्यावहारिक, नैतिक र प्रकृतिसँगै एकाकार भएर हुर्कन सिकाउने पद्धति बनाउन खोज्नेहरूलाई ‘प्रतिस्पर्धाको युग’ ले असफल बनाएको चित्रण उपन्यासमा गरिएको छ। विशेषतः गुणस्तरीय शिक्षाका नाममा छोराछोरीलाई छात्रावासमा राख्दा उनीहरूले अनुभव गर्ने अलगाव र एक्लोपना अनि त्यसले उनीहरूको समग्र व्यक्तित्वमा पार्ने प्रतिकूल प्रभावको रोचक प्रस्तुति पुस्तकमा छ।
धेरै शुल्क लिने विद्यालयलाई अब्बल ठान्ने सामाजिक मनोविज्ञानको शिकार कमजोर आर्थिक पृष्ठभूमिका अभिभावक बन्छन्। आफ्ना सन्तान राम्रो (महँगो) विद्यालयमा पढेर राम्रो (पैसा कमाउने) बनून् भन्ने अधिकांश नेपाली अभिभावकको सपना हो।
प्रतिस्पर्धाको जमानामा सन्तानको भविष्यका निम्ति अभिभावकले यस्तो सोचाइ राख्नु अन्यथा पनि नहोला। तर, यो दौडमा हामीले शिक्षाको खास मूल्य र उपादेयता भुल्दै गएका छौं। छोराछोरीलाई अङ्कको तुलोमा नाप्दानाप्दै हामी उनीहरूलाई के र किन पढाउन खोजिरहेका छौं भन्ने चुरो कुरोबाटै विषयान्तर भइरहेछौं।
बाल्यकालीन उत्सुकतालाई बदमासी र किशोरकालीन जाँगरलाई उत्ताउलोपना करार गरेर हामी नयाँ पुस्ताको हुर्काइमा स्वाभाविकता कम, कृत्रिमता बढी थोपर्न खोजिरहेछौं। कुनै पनि बालकको अन्तर्निहित क्षमता बुझ्नेभन्दा पनि अभिभावकको ‘सपना’, शिक्षकको ‘पर्फमेन्स’ र विद्यालयको ‘छवि’ को बोझ बोकाउनेतिर नेपाली शिक्षा क्षेत्रले मिहिनेत गरिरहेको देखिन्छ। फलतः नयाँ पुस्ता क्रमशः आफ्ना आमाबुबा, शिक्षक र समाजको सत्सङ्गबाट विमुख भएर अलगावको मनोवैज्ञानिक अन्योल भोग्न बाध्य छ।
उपन्यासमा एकातिर हामीले देख्दै आएको व्यापारीकरणको चपेटामा परेको शिक्षा-व्यवस्थाको चित्रण गरिएको छ, अर्कातिर ‘प्रेम शिविर’ का नाममा आदर्श शिक्षाको प्रारूप पनि देखाइएको छ। पहिलो थरी शिक्षा व्यवस्थाले विद्यार्थीलाई यन्त्र बन्न सिकाउँछ, जसका कारण उनीहरू प्रतिस्पर्धामा अब्बल नतीजा दिए पनि समाज, आमाबुवा र प्रियजनसँग टाढिंदै गएको अनुभव गर्दै छन्।
आफू नियमित पढ्ने शिक्षकले नै विद्यार्थीलाई धेरै कुरा सिकाउन सक्नेमा विवाद छैन। तर, शिक्षकहरूले पेशागत दक्षताका लागि पढ्ने कृतिको कमी छ।
त्यो शिक्षा प्रणालीले प्रकृतिको कुनै मूल्य देख्दैन। कक्षाकोठाभित्र पढाइने पुस्तक बाहेक विद्यार्थीले ज्ञानको फराकिलो दायराबारे भेउ पाएको हुँदैन। अर्कोतिर प्रेम शिविर आदर्श शिक्षा प्रणालीको ज्यासल हो जहाँ विद्यार्थीले जीवनमा अपरिहार्य सीप सिक्दै जान्छ। साथै, प्रकृति र समाजसँग एकाकार बन्न सिक्छ। यसरी उपन्यासकारले पाठकलाई कुन चाहिं शिक्षा अब्बल भनी दाँज्न उत्साहित गरेका छन्।
पात्रको चरित्र चित्रण र घटनाको बुनोटका आधारमा उपन्यासकारले शिक्षण जीवनमा भेटाएका पात्रहरूलाई नै उपन्यासमा समेट्दै गएको देखिन्छ। छात्रावास जीवनको चित्रणले पनि लेखकको अनुभव झल्काएको छ। विशेषतः शिक्षक-शिक्षिकाले यो उपन्यास अझ नजिकबाट अनुभूत गर्न सक्छन्।
उपन्यासका शुरूका अध्याय जति जीवन्त र अनुभवसिद्ध छन्, पछिका घटनाक्रम र पात्रहरूको प्रवेश कृत्रिम बन्दै गएको देखिन्छ। उपन्यासमा सफलले पढ्ने गरेका भनी उल्लेख गरिएका पुस्तक सामान्यतः त्यो उमेरका किशोरले पढ्दैनन्। अध्ययनशीलता झल्काउने नाममा उनको स्तरले नै नधान्ने कृतिको भारी बोकाउनु अस्वाभाविक देखिन्छ।
आफू नियमित पढ्ने शिक्षकले नै विद्यार्थीलाई धेरै कुरा सिकाउन सक्नेमा विवाद छैन। तर, शिक्षकहरूले पेशागत दक्षताका लागि पढ्ने कृतिको कमी छ। भारतीय शिक्षा चिन्तक गिजुभाइका कृतिको नेपाली अनुवादले त्यो अभावलाई केही पूर्ति पक्कै गरेको छ। तर, अझै पनि नेपाली भाषामा त्यस्ता कृतिको सङ्ख्या हातमा गन्न नपुग्ला।
त्यसका निम्ति शिक्षकहरूले नै कलम चलाउनुको विकल्प छैन। त्यस अर्थमा कखरा नेपालको शिक्षा व्यवस्थाको बहसलाई गहन बनाउँदै नीतिनिर्मातालाई सजग बनाउने कृति हो।
पुस्तक: कखरा, प्रकाशक: सिकाइ समूह, लेखकः हरिहर तिमिल्सिना, मूल्यः रु.४८०, पृष्ठः ३३६