एमसीसी संसद्मा टेबल गर्न एकीकृत समाजवादीले नरोक्ने
नेकपा (एकीकृत समाजवादी) ले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौतालाई संघीय संसद्मा टेबल गर्न नरोक्ने भएको छ।
नयाँ बानेश्वरमा शनिबार बसेको स्थायी समिति बैठकले सहमति भएमा एमसीसी संसद्मा टेबल गर्न दिने निर्णय गरेको एकीकृत समाजवादीका उपमहासचिव तथा प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए। “संसद्मा टेबल गर्नु कुनै अनौठो कुरा होइन किनभने एमसीसीमा के छ भन्ने विषयमा सांसद्हरूले आफ्नो धारणा राख्न, बोल्न पाउनुपर्छ” उनले भने।
यद्यपि, यथास्थितिमा एमसीसी सम्झौताको पक्षमा आफूहरू उभिन नसक्ने उपमहासचिव खतिवडाले हिमालखबरलाई जानकारी दिए। एमसीसी सम्झौताका विषयमा छलफल गर्न अध्यक्ष माधवकुमार नेपालको अध्यक्षमा स्थायी समिति बैठक बसेको हो।
एमसीसी सम्झौतालाई संसद् लग्ने विषयमा सत्तारूढ गठबन्धनभित्र विवाद उत्पन्न भएको छ। नेपाली कांग्रेसले संसद्बाट पारित गर्ने निर्णय गरेको छ भने नेकपा (माओवादी केन्द्र) ले यसको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ।
त्यस्तै, सत्तारूढ जनता समाजवादी पार्टी (जसपा) भित्र दुई धार देखिएका छन्। जसपा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई समूह एमसीसीको पक्षमा छ भने अध्यक्ष उपेन्द्र यादव समूह विपक्षमा देखिएको छ।
राष्ट्रिय जनमोर्चा भने यसको विरोधमा उत्रिएको छ। प्रमुख प्रतिपक्ष नेकपा (एमाले) ले यस विषयमा कुनै निर्णय गर्न सकेको छैन।