नेपालको फिलिपिन्समाथि १३६ रनको जित
आईसीसी टी-२० पुरुष विश्वकप छनोट अन्तर्गत शनिबार भएको खेलमा नेपालले फिलिपिन्सलाई १३६ रनले पराजित गरेको छ।
ओमनको अल इमेरत क्रिकेट मैदानमा भएको खेलमा नेपालले फिलिपिन्स विरुद्ध फराकिलो जित हासिल गरेको हो। यो नेपालको तेस्रो ठूलो जित हो। यसअघि नेदरल्यान्ड्सलाई १४२ र भुटानलाई १४१ रनले पराजित गरेको हो।
नेपालले दिएको २१९ रनको लक्ष्य पछ्याउने क्रममा फिलिपिन्सले आठ विकेटको क्षतिमा ८२ रन मात्रै बनाउन सक्यो। नेपालका लागि सन्दीप लामिछानेले तीन, गुल्सन झा, जितेन्द्र मुखिया, अविनाश बोहरा, कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले एक-एक विकेट लिए।
यो गुल्सन झाको डब्यू खेल हो। उनले डब्यू खेलमै विकेट लिएका छन्। तीन ओभरमा १६ रन खर्चेर एक विकेट लिए।
फिलिपिन्सका लागि जोडर्न अलेग्राले २७, ड्यानियल स्मिथले २० र जोनाथन हिलले ११ रन बनाए। अन्य खेलाडीले दोहोरो अङ्क पनि बनाउन सकेनन्।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले तीन विकेटको क्षतिमा २१८ रन बनाएको थियो। यो नेपालको तेस्रो उच्च स्कोर हो।
यसअघि गत वर्ष कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेदरल्यान्ड्स विरुद्ध नेपालले २३८ रन बनाएको थियो। त्यस्तै, सन् २०१९ मा भुटान विरुद्ध २३६ रन बनाएको थियो।
नेपालका लागि कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरीले उत्कृष्ट प्रदर्शन गरे। भुर्तेलले ६१ बलमा एक छक्का र १३ चौकाको मद्दतले १०४ रन बनाए। उनी नटआउट रहे। यो उनको पहिलो शतक हो।
त्यस्तै, ऐरीले ४७ बलमा ८३ रन बनाए। उनले चार चौका र ६ छक्का प्रहार गरे। यो उनको व्यक्तिगत उच्च स्कोर हो। यसअघि उनले ओमन विरुद्ध ७३ रन बनाएका थिए।
यसै गरी नेपालका लागि कुशल मल्लले १२ र लोकश बमले ६ रन बनाए।
फिलिपिन्सका लागि ड्यानियल स्मिथ, मिक्की पोडोस्की, गुरभूपिन्द्र चौहानले एक-एक विकेट लिए।
टी–२० विश्वकप छनोट अन्तर्गत दुई खेलमा चार अङ्क जोड्दै नेपाल समूह ‘बी’ को शीर्षस्थानमा छ। त्यस्तै, क्यानाडा दुई खेलमा एक जित र एक हार सहित दुई अङ्क सहित दोस्रो स्थानमा छ भने ओमन एक जित र एक हार सहित दुई अङ्क जोडेर रनरेटको आधारमा तेस्रो स्थानमा छ। फिलिपिन्सले दुवै खेल हारेको छ।
सेमिफाइनल नजिक पुगेको नेपालले सोमबार तेस्रो खेल क्यानाडासँग खेल्नेछ।