कुशलको शतकमा नेपालले फिलिपिन्सलाई दियो २१९ रनको लक्ष्य
कुशल भुर्तेलको शतकीय पारीमा नेपालले फिलिपिन्सलाई २१९ रनको लक्ष्य दिएको छ।
ओमनको अल अमेरत क्रिकेट मैदानमा शनिबार भएको खेलमा नेपालले तीन विकेटको क्षतिमा २१८ रन बनाएको हो। यो नेपालको तेस्रो उच्च स्कोर हो।
यसअघि गत वर्ष कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेदरल्यान्ड्स विरुद्ध नेपालले २३८ रन बनाएको थियो। त्यस्तै, सन् २०१९ मा भुटान विरुद्ध २३६ रन बनाएको थियो।
फिलिपिन्स विरुद्धको खेलमा नेपालका लागि भुर्तेल र दीपेन्द्रसिंह ऐरीले उत्कृष्ट खेल प्रदर्शन गरे। भुर्तेलले ६१ बलमा एक छक्का र १३ चौकाको मद्दतले १०४ रन बनाए। उनी नटआउट रहे।
त्यस्तै, ऐरीले ४७ बलमा ८३ रन बनाए। उनले चार चौका र ६ छक्का प्रहार गरे। यो उनको व्यक्तिगत उच्च स्कोर हो। यसअघि उनले ओमन विरुद्ध ७३ रन बनाएका थिए।
यसै गरी नेपालका लागि कुशल मल्लले १२ र लोकश बमले ६ रन बनाए।
फिलिपिन्सका लागि ड्यानियल स्मिथ, मिक्की पोडोस्की, गुरभूपिन्द्र चौहानले एक-एक विकेट लिए।