टी-२० मा कुशल भुर्तेलको पहिलो शतक
युवा क्रिकेटर कुशल भुर्तेलले आईसीसी टी-२० विश्वकप छनोट खेलमा पहिलो शतक प्रहार गरेका छन्।
ओमनको अल अमेरत क्रिकेट मैदानमा शनिबार फिलिपिन्ससँग भएको खेलमा भुर्तेलले शतक प्रहार गरेका हुन्। उनको यसअघि टी-२० मा सर्वाधिक ७७ रन थियो।
नेपाली टोलीका प्रारम्भिक ब्याट्सम्यान भुर्तेलले ५७ बलमा शतक पूरा गरेका हुन्। २५ वर्षीय भुर्तेलले यसअघि सात वटा टी-२० अन्तर्राष्ट्रिय खेलमा २९८ रन बनाएका थिए।
शनिबारको खेलमा उनले नेपालका लागि ६१ बलमा एक छक्का र १३ चौकाको मद्दतले १०४ रन बनाए। यो उनको व्यक्तिगत उच्च स्कोर हो।
त्यस्तै, नेपालका लागि टी-२० अन्तर्राष्ट्रिय खेलमा शतक प्रहार गर्ने तेस्रो खेलाडी बनेका छन्। यसअघि सन् २०१९ मा ज्ञानेन्द्र मल्लले १०७ र पारस खड्काले १०६ रन बनाएका थिए।