सालक संरक्षणकी अभियन्ता
तस्करी तथा वासस्थान विनाशका कारण सङ्कटग्रस्त जनावर सालकको संरक्षणमा डेढ दशकदेखि लागिरहेकी प्राणीशास्त्री र संरक्षणकर्मी तुलसीलक्ष्मी सुवालको प्रयास देश–विदेशमा प्रशंसित छ।
लजालु र कसैलाई नोक्सानी नपुर्याउने सुधो वन्यजन्तु मानिन्छ, सालक। चोरी शिकार र वासस्थान विनाशका कारण लोपोन्मुख यो स्तनधारी जीवलाई जोगाउन नेपाल सहित विश्वभरिका संरक्षणकर्मी चिन्तित छन्। यही लहरमा रहेकी संरक्षण अभियन्ता हुन्, तुलसीलक्ष्मी सुवाल।
सालकसँग सुवालको डेढ दशकदेखि अटुट साइनो गाँसिएको छ। सन् २००७ मा यो प्राणीतिर उनको ध्यान तानिएको हो। त्यस वेला कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय केन्द्रीय प्राणीशास्त्र विभागमा स्नातकोत्तर पढ्दै थिइन् उनी। एक दिन त्यहींको केन्द्रीय पुस्तकालयमा एउटा पुस्तकमा सालकको तस्वीर देखिन्।
यस प्राणीबारे उनलाई चासो लाग्यो र थप जानकारी बटुलिन्। यसको निर्दोष चरित्रबारे थाहा पाएपछि उनलाई यो त नवजात बच्चा जस्तो लाग्यो। सालकप्रति उनको मोह यति बढ्यो, उनले आफ्नो स्नातकोत्तरको शोधपत्र (थेसिस) मा यसकै अध्ययन गर्ने सोच बनाइन्।
त्यसयता सालकको अध्ययन र संरक्षणमा रमाएकी उनी यही प्राणीबारे विद्यावारिधि गरिरहेकी छन्। विश्वभर सालक संरक्षणका परियोजनालाई सघाउँदै आएको संस्था ‘सेभ प्याङ्गोलिन्स’ ले हालै उनलाई सालक अभियन्ताका रूपमा सम्मान गर्दै उनको विद्यावारिधिको शोधलाई सहयोग समेत गरेको छ।
“१५ दिनसम्म लगातार बिहान चिडियाखाना पुग्थें, दिउँसोभरि सालकको आनीबानी अध्ययन गरेर घर फर्कन्थें,”
शिक्षकदेखि संरक्षणकर्मीसम्म
भक्तपुरको ‘चोछें’ टोलमा जन्मेहुर्केकी सुवाललाई ठूलो भएपछि आफ्नो बुबा जस्तै शिक्षक बन्ने रहर थियो। एसएलसीपछि भक्तपुर क्याम्पसमा आइएस्सी पढिन्। त्यही वेला मुटुको व्यथाले आमा बितेपछि घरको जेठो सन्तान हुनुको नाताले १८ वर्षीया उनलाई पारिवारिक जिम्मेवारी बोध भयो।
बुबाको बाटो पछ्याउँदै स्थानीय प्रभात स्कूलमा पढाउन शुरू गरिन्। त्यसको केही समयमै तत्कालीन दीपेन्द्र प्रहरी स्कूल साँगामा पढाउन थालिन्। १९ वर्षे उमेरमा प्रहरी स्कूल छिरेकी उनले पाटन क्याम्पसबाट प्राणीशास्त्रमा चार वर्षे स्नातक नसकिउन्जेल आठ वर्ष पढाइन्।
त्यसबीचमा उनको विवाह भयो, बच्चा जन्मियो। इन्जिनियर श्रीमान् तथा सासू-ससुराले उनलाई पढाउनेदेखि पढ्ने कुरामा सहयोग र हौसला दिइरहे। प्रहरी स्कूलमा एघार कक्षाको पढाइ शुरू हुने भएपछि उनलाई स्नातकोत्तर गर्नुपर्ने दबाब महसूस भयो।
स्नातकोत्तर पढ्न त्रि-चन्द्र कलेजमा साँझको सोसियोलोजी कक्षामा भर्ना भइन्। स्नातक तहमा प्राणीशास्त्र पढेका कारण उनको मन चाहिं त्यही विषयमा अडिएको थियो। स्कूलबाट दुई वर्ष बेतलबी बिदा लिएर त्रिविको केन्द्रीय प्राणीशास्त्र विभागमा पढ्न थालिन्। त्यसै क्रममा सालकले उनको ध्यान तानेको थियो।
सन् २००९ मा साना स्तनधारी प्राणी संरक्षण तथा अनुसन्धान फाउन्डेशनमा आबद्ध भएपछि उनी पूर्ण रूपमा संरक्षणकर्मीको भूमिकामा लागिन्। जुन निरन्तर जारी छ।
सालक सम्बन्धी अध्ययन सामग्री खोज्दै जाँदा उनले संरक्षणकर्मी जुद्ध गुरुङ, डा. डान च्यालेन्डर लगायतका अनुसन्धानपत्रलाई मिहिन ढङ्गले पढिन्। सालकको संरक्षणमा काम गर्दै आएको ताइपेई चिडियाखानाले गरेको कार्यशालाका पत्रहरू पनि प्राप्त गरिन्। समयक्रममा उनको सम्पर्क ताइपेई चिडियाखानाका भेटेरिनरी डाक्टर जियो ग्वाउसँग भयो। डा. ग्वाउकै प्रोत्साहनले उनलाई सालक अनुसन्धानमा लाग्न उत्साहित बनायो।
हालसम्म विश्वविद्यालयले सालक सम्बन्धी गरेका अध्ययनको सङ्ख्या ३५ पुगिसकेको छ, जसमा संरक्षण क्षेत्रमा कार्यरत सरकारी निकायहरूको सहभागिता छ।
सालक भेटेको त्यो दिन
३ मे २००९ लाई सुवाल भुल्न सक्दिनन्। सालककै कारण उक्त दिन उनको स्मृतिमा खास बनेर बसेको हो। त्यो दिन उनले एउटा माउ सालकलाई भर्खर जन्मिएको भाले शिशु सहित भक्तपुरको सामुदायिक वन क्षेत्रभित्र भेटिन्। उनले तिनलाई केही समय सदर चिडियाखाना, जावलाखेलमा लगेर राख्ने प्रबन्ध मिलाइन्। र, आमा र बच्चाको व्यवहारबारे अध्ययन थालिन्।
“१५ दिनसम्म लगातार बिहान चिडियाखाना पुग्थें, दिउँसोभरि सालकको आनीबानी अध्ययन गरेर घर फर्कन्थें,” उनी ती दिन सम्झन्छिन्।
त्यस वेला उनी आफैं पनि पाँच वर्षीय शिशुकी आमा थिइन्। त्यसै कारण सालकले बच्चालाई दूध चुसाएको, गुटुमुटु पारेको, खाना खुवाएको जस्ता मातृत्वका यावत् व्यवहारले उनलाई त्यस प्राणीसँग भावनात्मक रूपमा नजिक बनायो।
यसले उनलाई सालकबारेको किताबी ज्ञानलाई फराकिलो दायरामा बुझ्न सघायो। पछि ती सालकलाई भक्तपुरको सामुदायिक वनमै छोडियो।
आफ्नो स्नातकोत्तरको शोधपत्रका लागि भने उनले काभ्रेको बल्थली रोजिन्। बल्थली अहिले जस्तो पर्यटकीय केन्द्र बनिसकेको थिएन। त्यहाँको निजी वन पनि सालकको राम्रै वासस्थान थियो। उनले महीनौंसम्म त्यहाँ सालकबारे अध्ययन गरिन्।
बाह्र वर्षअघि त्रिविमा केन्द्रीय प्राणीशास्त्र विभागमा माछा अध्ययनका लागि फिसरी, परजीवी अध्ययनका लागि पारासिटोलोजी, कीट अध्ययनका लागि इन्टोमोलोजी र पर्यावरण र वातावरण अध्ययनका लागि इकोलोजी एन्ड इन्भाइरोमेन्ट विभाग थियो। प्राणीशास्त्र पढ्ने महिला विद्यार्थीले फिल्डमा जानुनपर्ने भएकाले सामान्यतया पारासिटोलोजी रोज्थे। तर, उनले फिल्डमै उत्रिने इकोलोजी एन्ड इन्भाइरोमेन्ट रोजिन्।
“हामी पढुन्जेल पनि केटीहरूले त बोटनी र इन्भाइरोमेन्ट पढ्ने हो नि भने जस्तो गर्थे,” सुवाल भन्छिन्, “मैले प्राणीशास्त्र नै लिएँ र इकोलोजीमा केन्द्रित भएँ।”
सालक अभियन्ता
आफ्नो गाउँठाउँ बाहेक पनि सामुदायिक तथा राष्ट्रिय वनमा पाइने सालकको पहिचान गर्न सुवाल धेरै ठाउँमा पुगेकी छन्। उनले ती भ्रमणका क्रममा मानिसहरूले सालकबारे खासै थाहा नभएको र महत्त्व नबुझेको महसूस गरिन्।
सन् १९७३ देखि नै सालक संरक्षित प्राणीको सूचीमा रहे पनि यसबारे चासो राख्ने सर्वसाधारणको सङ्ख्या न्यून थियो। सन् २००९ देखि उनले यसको संरक्षणमा आवाज उठाउन थालिन्। स्थलगत भ्रमणमा जहाँ जहाँ पुग्यो, त्यहाँका स्थानीयलाई जैविक विविधतामा सालकको महत्त्वबारे बुझाउँदै गइन्। सञ्चार माध्यम मार्फत सूचना तथा जानकारी प्रसार गर्ने अभियान चलाइन्।
उनको निरन्तरको प्रयासपछि बिस्तारै सम्बन्धित क्षेत्रका मानिसले उनको कुरामा ध्यान दिन थाले। उनीहरू सालकको संरक्षणमा सहकार्य गर्न पनि उत्साहित देखिए। स्थानीय स्तरसँगै विद्यालय तथा विश्वविद्यालयमा छलफल तथा अन्तरक्रिया गराउन थालिन्। सालकलाई उद्धार गरेर प्राकृतिक वासस्थानमा छोड्ने लगायत संरक्षण कार्यमा व्यस्त भइन्।
उनले गरेको सालक संरक्षण कार्यले सम्मान त पाएको छ नै, सालक संरक्षणलाई मूलधारमा ल्याउन पनि मद्दत मिलेको छ।
संरक्षणमा उनी स्थानीयसँगै सञ्चारकर्मी, सामुदायिक वन उपभोक्ता समूह, जिल्ला वन कार्यालय, सुरक्षा निकायसँग सहकार्य गर्दै अघि बढिन्। त्यस्तै, वन तथा वातावरण मन्त्रालय, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, वन विभागसँग समन्वय पनि गरिन्। तन, मन र अध्ययन सालकमै केन्द्रित हुँदै जाँदा उनको परिचय सालक विज्ञका रूपमा फैलिन थाल्यो।
सन् २०१२ सम्म आइपुग्दा स्थानीय स्तरमा सर्वसाधारणको जागरुकता मात्र देखिएन, स्नातकोत्तर तहमा धेरै विद्यार्थीले सालकको अध्ययनमा रुचि देखाए। हालसम्म विश्वविद्यालयले सालक सम्बन्धी गरेका अध्ययनको सङ्ख्या ३५ पुगिसकेको छ, जसमा संरक्षण क्षेत्रमा कार्यरत सरकारी निकायहरूको सहभागिता छ।
सरकारले ढिलै भए पनि सालक सम्बन्धी राष्ट्रिय निर्देशन र सर्भे निर्देशन लागू गरेको छ। यसमा विश्व वन्यजन्तु कोष हरियो वनको कार्यक्रमले सहयोग गरेको छ। त्यस्तै, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले ‘सालक संरक्षणका लागि राष्ट्रिय कार्यपत्र’ तयार पारेको छ।
अध्ययनका क्रममा उनले धेरै पहाडी जिल्ला भ्रमण गरिसकेकी छन् भने थुप्रै विदेशी कार्यक्रम र कार्यशालामा भाग लिएकी छन्। सालक संरक्षणकर्ताका रूपमा उनको चिनारी देश-विदेशमा फैलिएको छ। प्राणीशास्त्रका गुरुहरूले उदाहरण दिने नाम भएकी छिन्, उनी।
सालकमा विद्यावारिधि गरिरहेकी उनको शोध पूरा हुने क्रममा छ, जुन सकिएपछि सालकमा पीएचडी गर्ने नेपालकी महिला प्राणीशास्त्रीका रूपमा उनको परिचय बन्नेछ।
हिजोदेखि यहाँसम्मको यात्रा सम्झिंदा उनी रोमाञ्चित हुन्छिन्। दृढ सङ्कल्प गर्ने हो भने जुनसुकै कुरा पनि हासिल गर्न सकिने उनलाई लाग्छ। आफ्नो उपलब्धिलाई उनी सामूहिक प्रयासको परिणाम ठान्छिन्। “मैले पढाइमा रुचि राखें, घरभित्र र बाहिर सबैले सहयोग गर्नुभयो र यहाँसम्म आउन सकें,” सुवाल भन्छिन्। सशस्त्र प्रहरीको इन्जिनियरिङ विभागमा कार्यरत श्रीमान् मनोज बखुन्छेको साथ आफ्नो सफलताको बलियो आधार रहेको उनको ठम्याइ छ।
सालक संरक्षणमा केन्द्रित हुँदै जाँदा सन् २०१२ देखि उनी अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ.(आईयूसीएन) को सालक स्पेशलिस्ट ग्रुपको सदस्य बनेकी छन्। यो सञ्जाल मार्फत उनी विश्वका ३७ देशका १४८ सालक विशेषज्ञसँग जोडिएकी छन्। उक्त समूहमा नेपालका तर्फबाट सात सदस्य छन्।
“यो सोझो प्राणीमाथिको सङ्कट अझै पनि उस्तै छ, विगतको तुलनामा अहिले यसप्रति चासो र चिन्ता बढ्नु चाहिं सुखद छ”
विश्वभर सालक संरक्षणका परियोजनालाई सघाउँदै आएको संस्था ‘सेभ प्याङ्गोलिन्स’ ले हालै उनलाई सालक अभियन्ताका रूपमा पहिचान गर्दै उनको विद्यावारिधिको शोधलाई सहयोग समेत गरेको छ। यसबाट उनले गरेको सालक संरक्षण कार्यले सम्मान त पाएको छ नै, सालक संरक्षणलाई मूलधारमा ल्याउन पनि मद्दत मिलेको छ। संरक्षणमा सबैको प्रयास झनै जरुरी भएको उनी बताउँछिन्।
“यो सोझो प्राणीमाथिको सङ्कट अझै पनि उस्तै छ, विगतको तुलनामा अहिले यसप्रति चासो र चिन्ता बढ्नु चाहिं सुखद छ,” उनी भन्छिन्, “यसको संरक्षणमा सबैको हातेमालो आवश्यक छ।”
अचेल सालकको संरक्षणमा सरकार र स्थानीय समुदाय अग्रसर भएको समाचारले उनलाई खुशी बनाउँछ। संरक्षण कार्यमा लागेका संस्थाहरूले आफ्नो कार्यक्षेत्र बढाउँदै जाँदा सालक संरक्षण पनि मूलधारमा समेटिन थालेको छ। नेपालमा सालक पार्कको स्थापना भएको छ। त्यस्तै, काठमाडौं मच्छेगाउँको बाघभैरव सामुदायिक वन क्षेत्रमा ‘सालक पदमार्ग’ घोषणा गरिएको छ। सालक संरक्षणका लागि गरिएको यो प्रयास नेपालमै पहिलो हो।
हरेक वर्ष फेब्रुअरीको तेस्रो शनिबार मनाइने विश्व सालक दिवसले संरक्षणकर्मी तथा प्राणीशास्त्रीको क्यालेन्डरमा स्थान पाउन थालेको छ। यद्यपि, सालक संरक्षणकै लागि भनेर बजेट विनियोजन हुन सकेको छैन। यस्तै, दीर्घकालीन अध्ययन अनुसन्धानका लागि नियमित कार्यक्रम तय हुन सकेको छैन।
हालसम्मका प्रयासबाट समुदाय तथा संस्थाहरू सालक संरक्षणप्रति गम्भीर हुँदै गए पनि अहिलेको प्रयास पुग्दो नभएको सुवालले महसूस गरेकी छन्। “सालक जोगाउने अभियानलाई व्यापक पार्न संरक्षणमा भइरहेका कामलाई देशभर विस्तार गर्नुपर्ने देखिन्छ,” उनी भन्छिन्।