टी-२० विश्वकप छनोट: दोस्रो खेलमा फिलिपिन्ससँग भिड्दै नेपाल
आईसीसी टी-२० पुरुष विश्वकपको ग्लोबल छनोट अन्तर्गत आज नेपाल फिलिपिन्ससँग भिड्न लागेको छ।
ओमनको अल अमेरत क्रिकेट मैदानमा आज बिहान ११ः४५ बजे नेपाल र फिलिपिन्सको खेल हुँदै छ। नेपालले पहिलो पटक फिलिपिन्ससँग खेल्न लागेको हो।
ग्लोबल क्वालिफायरको यो समूहमा रहेका आठ टोलीमा फिलिपिन्स कमजोर मानिएको छ। आजको खेल जितेमा नेपालको सेमिफाइनल यात्रा लगभग तय हुनेछ।
शुक्रबार पहिलो खेलमा नेपालले ओमनलाई ३९ रनले पराजित गर्दै सुखद शुरूआत गरिसकेको छ। न्यून स्कोरको खेलमा बलिङ चम्किएपछि नेपालले जित हासिल गरेको थियो। नेपालले दिएको ११८ रनको लक्ष्य पछ्याउने क्रममा ओमन ७८ रनमै समेटिएको थियो।
समूह ‘बी’ मा नेपालसँगै फिलिपिन्स, ओमन र क्यानाडा छन्। त्यस्तै समूह ‘ए’ मा बहराइन, यूएई, आयरल्यान्ड र जर्मनी छन्।
दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन्। फाइनलमा पुग्ने दुई टोली विश्वकपका लागि छनोट हुनेछन्।
नेपालले तेस्रो खेल सोमबार क्यानाडासँग खेल्नेछ। अहिलेसम्म भएका एक-एक खेलमा नेपाल र क्यानाडाले जितेका छन् भने ओमन र फिलिपिन्सले हारेका छन्।