स्थानीय चुनावमा विद्युत मेशिन प्रयोग गर्न आयोगले थाल्यो तयारी
आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा विद्युतीय मेशिनको प्रयोग गर्ने विषयमा तयारी थालिएको निर्वाचन आयोगले जनाएको छ।
छैटौं निर्वाचन दिवसको अवसरमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जारी गरेको शुभकामना सन्देशमा विद्युतीय मेशिनको प्रयोग विषयमा आयोगले तयारी थालेको जनाएका छन्। थपलियाले भनेका छन्, “निर्वाचनमा विद्युतीय मेशिनको प्रयोग गर्ने विषय र राजनीतिक दलहरूको दर्ता अभिलेख र नियमनमा पद्धतिगत सुधार गर्ने कार्यको प्रारम्भ भइसकेको छ।”
प्रमुख निर्वाचन आयुक्तको शुभकामना सन्देश:
७ फागुन २०१५ मा नेपालमा आम निर्वाचन प्रारम्भ भई बालिग नेपालीले आफ्नो मताधिकार उपयोग गर्न पाएको महत्त्वपूर्ण दिनको रूपमा स्मरण गर्दै ‘निर्वाचनमा सबै सधैं सँगै’ भन्ने मूलनाराका साथ हामी छैटौं निर्वाचन दिवस २०७८ उल्लासमय वातावरणमा मनाउन लागिरहेका छौं।
निर्वाचन दिवसको यस गौरवमय र पावन अवसरमा म आयोगलाई अगाडि बढ्न निरन्तर सहयोग, योगदान र प्रेरणा प्रदान गर्नुहुने अग्रजको सम्मान एवं प्रशंसा गर्दै सम्पूर्ण नेपाली मतदातालाई हार्दिक शुभकामना दिन चाहन्छु। साथै, आगामी ३० वैशाख शुक्रबारका दिन एकै चरणमा सम्पन्न हुन गइरहेको स्थानीय तहको निर्वाचनमा आम मतदाताको स्वतस्फूर्त, सक्रिय एवं उत्साहजनक सहभागिताका निम्ति हार्दिक आह्वान गर्छु।
आजको बिन्दुबाट पछाडि फर्केर हेर्दा निर्वाचन आयोगसँग निर्वाचन व्यवस्थापनको साढे ६ दशक लामो सफल र प्रेरणादायी अनुभव एवं गौरवमय इतिहास छ। स्थापनाकालदेखि नै निष्पक्षता, स्वतन्त्रता, व्यावसायिकता र विश्वसनीयताको प्रत्याभूति सहित निर्वाचन व्यवस्थापनको दायित्व निर्वाह गर्दै आएको आयोगले संघीय लोकतान्त्रिक गणतन्त्र, जनतामा निहित सार्वभौमसत्ता, आवधिक निर्वाचन, बालिग मताधिकार र जनताको प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन प्रणालीको जगमा निर्वाचनको सञ्चालन, रेखदेख, निर्देशन र नियन्त्रण गर्ने संवैधानिक जिम्मेवारी कुशलतापूर्वक सम्पादन गर्दै आएको कुरा विदितै छ।
नेपालको संविधान जारी भएपछि २०७४ सालमा राष्ट्रपति, उपराष्ट्रपति, राष्ट्रिय सभा सदस्य, प्रतिनिधि सभा सदस्य, प्रदेश सभा सदस्य र स्थानीय तहका सदस्यको निर्वाचन तथा यसपछि सम्पन्न उपनिर्वाचन र राष्ट्रिय सभा सदस्यको निर्वाचनबाट देशभर करीब ४१ हजार सात सय जनप्रतिनिधि शासकीय प्रणालीमा सहभागी हुन पाउनु यसको ज्वलन्त उदाहरण हो। यसबाट संघीयताको प्रत्यक्ष कार्यान्वयन प्रारम्भ भई संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने तथा विधिको शासन सुदृढ बनाउने अवसर प्राप्त भएको तथा नेपालमा शान्ति, स्थिरता, समृद्धि र सुशासनको जग मजबूत हुन पुगेको हामीले महसूस गरेका छौं।
निर्वाचन बालिग मताधिकारका आधारमा प्रतिनिधि छान्ने प्रक्रिया मात्र नभई जनतालाई शक्तिशाली बनाउने लोकतन्त्रको मेरुदण्ड पनि भएकाले यसलाई कुनै पनि अवाञ्छित गतिविधिबाट प्रभावित हुन नदिई आस्था, विचार र सिद्धान्तबाट निर्देशित एवं परिचालित हुने वातावरण बनाइनुपर्छ। यसका निम्ति खर्चिलो र भड्किलो बन्दै गएको निर्वाचन खर्चलाई नैतिकता र इमानदारीको अभ्यास, स्वनियन्त्रण पद्धतिको अनुसरण र सामाजिक सचेतनाको प्रयासबाट निस्तेज गर्ने विषयमा साझा सङ्कल्प र इमानदार प्रयत्न आवश्यक पर्छ।
आगामी निर्वाचनमा हाम्रा सबै प्रयास यसैतर्फ केन्द्रित गरी स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र मितव्ययी निर्वाचनको हाम्रो सङ्कल्प पूरा होस् भन्ने हाम्रो दृढ धारणा रहेको छ।
३१ वैशाख, १४ असार र २ असोज गरी २०७४ मा तीन चणमा सम्पन्न स्थानीय तहको निर्वाचनबाट निर्वाचित पदाधिकारीको पदावधि नेपालको संविधानको धारा २१५ को उपधारा (६), धारा २१६ को उपधारा (६), धारा २२० को उपधारा (५) तथा स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ४ र दफा ५५ बमोजिम ५ जेठ २०७९ मा समाप्त हुने भएकाले त्यस अगावै स्थानीय तहको निर्वाचन सम्पन्न गर्नु नेपाल सरकार तथा निर्वाचन आयोगको संवैधानिक एवं कानूनी दायित्व हाे। त्यो दायित्व पूरा गर्न आयोगको परामर्शमा आगामी ३० वैशाख २०७९ मा स्थानीय तहको निर्वाचन एकै चरणमा सम्पन्न गर्ने गरी नेपाल सरकारबाट निर्वाचन मिति तोकिएको छ।
निर्वाचनलाई व्यवस्थित ढङ्गले सम्पन्न गर्न आयोगले मौजुदा नीतिगत, कानूनी र संस्थागत व्यवस्थाको उपयोग गर्दै आवश्यक तयारीका कार्य प्रभावकारी ढङ्गले सम्पादन गर्दै आएको छ। यसै सिलसिलामा आयोगबाट मतदाता नामावली अद्यावधिक, निर्वाचन सम्बन्धी योजना, कार्यविधि, निर्देशिका र मापदण्डको तयारी, निर्वाचन सामग्री तथा वित्तीय व्यवस्थापनको कार्य र मतदाता शिक्षा एवं प्रचारप्रसार कार्य योजना आदि तयार गरिनुका साथै मतदाताको सहभागिता र सहज पहुँचको निम्ति स्वीकृत मापदण्ड अनुसार पायक पर्ने सुरक्षित, व्यवस्थित र न्यूनतम पूर्वाधारयुक्त मतदानस्थलहरू निर्धारण भइसकेका छन्।
गुणस्तरीय, त्रुटिरहित एवं अद्यावधिक मतदाता नामावली निर्वाचनको पूर्व शर्त भएकाले निर्वाचनमा कोही पनि छुट्नु हुँदैन भन्ने मान्यताका साथ मतदाता नामावली सङ्कलन विशेष कार्यक्रम सम्पन्न गर्नुका साथै जो जहाँ छ त्यहीबाट मतदाता नामावलीमा नाम दर्ता गर्न पाउने व्यवस्था गरी जिल्ला बाहिरका मतदाता दर्तालाई निरन्तरता दिइएको छ। नेपालको संविधानले व्यवस्था गरे अनुसार १८ वर्ष उमेर पूरा गरेका बालिग नेपाली नागरिकको मताधिकार सुनिश्चत गर्न मतदाता नामावली सम्बन्धी ऐन बमोजिम नाम सङ्कलन तथा दर्ता भई निर्वाचनको अघिल्लो दिन २९ वैशाख २०७९ सम्म १८ वर्ष उमेर पूरा गरेका सबै मतदातालाई मतदानको अधिकार प्रदान गरिएको छ।
निर्वाचनको अघिल्लो दिन १८ वर्ष उमेर पूरा हुने बालिग मतदाताले निर्वाचनमा मत दिन पाउने 'कट अफ् डेट' सम्बन्धी नयाँ व्यवस्था र मतदाता नामावली दर्ता तथा सङ्कलन कार्यमा भएको सहजताका कारण २०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा अन्तिम मतदाता नामावलीमा कायम भएका एक करोड ४० लाख ७२ हजार ४२४ मतदाताभन्दा आगामी निर्वाचनमा करिब एक करोड ७९ लाख मतदाता कायम भई थप करीब ३८ लाख मतदाताले मताधिकार प्रयोग गर्न पाउने अवस्था सिर्जना भएको छ।
निर्वाचन आयोगले निर्वाचन व्यवस्थापनको सिलसिलामा गर्नुपर्ने सुधारका क्षेत्र पहिल्याई मौजुदा निर्वाचन कानूनहरूमा संशोधन गरी एकीकृत निर्वाचन कानूनको तर्जुमा गर्ने कार्य समेत अगाडि बढाएको छ। निर्वाचनमा विद्युतीय मेशिनको प्रयोग गर्ने विषय र राजनीतिक दलहरूको दर्ता अभिलेख र नियमनमा पद्धतिगत सुधार गर्ने कार्यको प्रारम्भ भइसकेको छ।
निर्वाचनमा आचारसंहिताको व्यावहारिक र भरपर्दो अनुगमन प्रणालीको संस्थागत प्रबन्ध मिलाइएको छ। लोकतन्त्रको सबलता, आम नागरिकको सहभागिताबाट मापन हुन्छ र निर्वाचनको सफलता निर्वाचन शिक्षाको व्यापकताले निर्धारण गर्छ भन्ने कुरालाई हृदयङ्गम गरी आयोगले विभिन्न नीतिगत व्यवस्था गरेको हुँदा सोको कार्यान्वयनमा ‘निर्वाचन आयोगको नेतृत्व सबै सरोकारवालाको दायित्व’ भन्ने मूल मन्त्रलाई आत्मसात् गरी निर्वाचनमा सहभागिता जनाइदिनुहुन सम्पूर्ण सरोकारवालामा म हार्दिक आग्रह गर्छु।
निर्वाचन प्रतिनिधिमूलक शासन व्यवस्थाको आधारशिला भएको र आफूले रोजेको जनप्रतिनिधि मार्फत शासन सञ्चालन गर्न पाउने जनताको अधिकारलाई निर्वाचनले नै वैधता र सुनिश्चितता प्रदान गर्ने हुँदा आगामी ३० वैशाखमा हुन गइरहेको स्थानीय तहको निर्वाचनमा सम्पूर्ण मतदाता तथा आम सञ्चार माध्यम लगायत सम्बद्ध सरोकारवालाको सहयोग र सहभागिताका लागि अनुरोध गर्दै छैटौं निर्वाचन दिवस, २०७८ सफलतापूर्वक सम्पन्न गर्न प्रत्यक्ष र परोक्ष रूपमा हौसला र प्रेरणा प्रदान गर्नुहुने सबैप्रति आभार प्रकट गर्छु।