अमेरिकी राजदूतले भने- एमसीसीमा शान्तिपूर्ण रूपले बहस गरौं, तर हिंसा स्वीकार्य छैन
नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले एमसीसी सम्झौताका विषयमा शान्तिपूर्ण रूपमा आफ्नो विचार राख्न आग्रह गरेका छन्।
केही दिनयता विभिन्न राजनीतिक दल र उनीहरूका भ्रातृ संगठनले एमसीसी विरुद्ध प्रदर्शन गरिरहेका छन्। काठमाडौंको नयाँ बानेश्वरमा भएको प्रदर्शनमा प्रहरी र प्रदर्शनकारीबीच झडप पनि भएको छ। केही प्रहरी र प्रदर्शनकारी घाइते भएका छन्।
यसलाई लिएर अमेरिकी राजदूत बेरीले चिन्ता जनाएका हुन्। उनले शुक्रबार ट्वीट गर्दै भनेका छन्, “हामी वाक् स्वतन्त्रता र तथ्यमा आधारित खुला बहसको बलिया समर्थक हौं, एमसीसीको विषयमा पनि हाम्रो धारणा यही हो।”
एमसीसीको विरोध गर्दा हिंसा र हिंसा भड्काउने विचार भने स्वीकार्य नहुने उनले जनाएका छन्। राजदूत बेरीले भनेका छन्, “आफ्नो विचार व्यक्त गर्न पाउनु लोकतन्त्रको अन्तर्निहित विषयवस्तु हो र सबैलाई आफ्नो धारणा शान्तिपूर्वक राख्न छूट हुनुपर्छ, तर हिंसा र हिंसा भड्काउने किसिमका विचार स्वीकार्य हुँदैनन्।”