जब ओमनमा घन्कियो ‘रातो र चन्द्र सूर्जे...’
आईसीसी टी-२० पुरुष विश्वकप छनोट अन्तर्गत समूह ‘ए’ को शुक्रबार नेपालले पहिलो खेल जितेपछि ओमनको अल अमेरत क्रिकेट मैदानमा ‘रातो र चन्द्र सूर्जे’ गीत घन्कियो।
ओमनलाई पराजित गरेसँगै नेपाली टोली क्रिकेट मैदानमै गोलबद्ध भयो। र, एकाएक ‘रातो र चन्द्र सूर्जे’ गीत बज्न थाल्यो। नेपाली खेलाडी पनि गाउन थाले। त्यहाँ उपस्थित दर्शकले ताली बजाए।
यसअघि ओमनमै भएका पछिल्ला दुई खेलमा यसरी ‘रातो र चन्द्र सूर्जे’ गीत गाइएको थिएन। आज एकाएक किन बज्यो?
नेपाली राष्ट्रिय टोलीका पूर्व कप्तान विनोद दास भन्छन्, “खेल जितेपछि रातो र चन्द्र सूर्जे गीत गाउने गरिन्छ। यो हाम्रो चलन नै हो।”
नेपालले ओमनलाई ३९ रनले पराजित गरेको हो। नेपालले दिएको ११८ रनको पछ्याउने क्रममा ओमन ७८ रनमै समेटियो।
‘रातो र चन्द्रसूर्जे जंगी निशान हाम्रो’ गीत होइन, कविता हो। यो कविता गोपालप्रसाद रिमालले रचना गरेका थिए।
यसलाई अम्बर गुरुङले सङ्गीत दिएर राष्ट्रिय गीतका रूपमा तयार पारेका हुन्। यो गीतमा शुरूआतमा फत्तेमान र अम्बर गुरुङले स्वर दिएका थिए।
त्यसपछि यो गीत विभिन्न गायक-गायिकाले गाएका छन्। पछिल्लो पटक नेपथ्यका अमृत गुरुङले नयाँ शैलीमा गाएपछि युवामाझ चर्चित बनेको हो।
टी-२० विश्वकप छनोटको पहिलो खेलमा जित हासिल गरेपछि ओमनको क्रिकेट मैदानमा गाउँदा नेपाली टोलीसँगै मुख्य प्रशिक्षक पुबुदु दासानायके पनि सहभागी थिए। “नेपाली टोलीले जितपछि यो गीत गाउने शुरुआत गराएको पनि पुबुदुले नै हो,” पूर्व कप्तान दासले हिमालखबरसँग भने।
पुबुदु पहिलो पटक नेपाली पुरुष क्रिकेट टोलीको प्रशिक्षक भएर आउँदा यो गीत गाउन शुरू गरेका थिए। अहिले उनी दोस्रो पटक नेपाली टोलीको प्रशिक्षकको जिम्मेवारी सम्हालिरहेका छन्।
यस पटक टी-२० विश्वकप छनोटको सुखद शुरूआत गर्दा पनि नेपाली टोलीले ‘रातो र चन्द्र सूर्जे’ गीत गाएर खुशी मनाएको छ।