नेपालमा अमेरिकाले ‘जबर्जस्ती कूटनीति’ शुरू गरेको चीनको टिप्पणी
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वनपिनले नेपालमा अमेरिकाले ‘जबर्जस्ती कूटनीति’ शुरू गरेको टिप्पणी गरेका छन्।
अमेरिकाले नेपाललाई मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) लाई अनुमोदन गर्न गरेको अनुरोधबारेको समाचारमा टिप्पणी गर्दै प्रवक्ता वाङले चीनले ‘जबर्जस्ती कूटनीति’ को विरोध गर्ने बताएका छन्। शुक्रबार पत्रकार सम्मेलनमा प्रवक्ता वाङले नेपाली जनताको इच्छामा मात्रै अन्तर्राष्ट्रिय सहयोग परिचालित हुनुपर्ने बताएको चिनियाँ सरकारी सञ्चार माध्यम ग्लोबल टाइम्सको समाचारमा उल्लेख छ ।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङले भने, “नेपाललाई सहयोग गर्ने, नेपालको आर्थिक विकास र जीविकोपार्जनमा योगदान दिने अन्तर्राष्ट्रिय समुदायलाई चीनले स्वागत गर्छ, तर यो नेपाली जनताको इच्छामा आधारित हुनुपर्छ।”
नेपालको एक मित्रवत् छिमेकी र विकास साझेदारका रूपमा चीनले नेपाली जनतालाई आफ्नै विकासको बाटो रोज्न र आफ्नो देशको हित तथा जनताको इच्छा देखाउने निर्णय गर्न चीनले नेपाललाई समर्थन जारी राख्ने प्रवक्ता वाङले बताए।
अमेरिकी सहायक मन्त्री डोनाल्ड लुले हालै नेपालका नेताहरूलाई टेलिफोन गरेर २८ फेब्रुअरीसम्म एमसीसी सम्झौता अनुमोदन गर्न आग्रह गरेका थिए। साढे चार वर्षअघि एमसीसीसँग नेपालले गरेको सम्झौता संसद्बाट अनुमोदन नहुँदा अझैसम्म कार्यान्वयनमा जान अड्किएको छ।
चीनले एमसीसी सहायताबारे निरन्तर चासो राख्दै आएको छ। एमसीसी विवाद चर्किंदै जाँदा चिनियाँ अधिकारीले नेपालका राजनीतिक दलका नेतृत्वसँग छलफल गर्दै आएका छन्।