नेपालले ओमानलाई दियो ११८ रनको लक्ष्य
आईसीसी टी-२० विश्वकप छनोट अन्तर्गत पहिलो खेलमा नेपालले ओमानलाई ११८ रनको लक्ष्य दिएको छ।
ओमानको अल अमेरत क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले आठ विकेटको क्षतिमा ११७ रन मात्रै बनायो। ओमानको बलिङअघि नेपाली ब्याट्सम्यान टिक्न सकेनन्।
नेपालका लागि आरिफ शेखले ३८, सन्दीप लामिछाने र लोकेश बमले १६-१६ रन बनाए। त्यस्तै, ज्ञानेन्द्र मल्लले १५, दीपेन्द्रसिंह ऐरीले ११, विवेक यादवले सात, कुशल भुर्तेलले पाँच, आशिफ शेखले चार र कमलसिंह ऐरीले एक रन बनाए।
ओमानका बलरले शुरूआतदेखि नै नेपाललाई दबाबमा राखे। ओमानका लागि खवर अलीले तीन, विलाल खानले दुई, फयाज बट र जिसन मक्सुदले एक-एक विकेट लिए।