विप्लवलाई मूल प्रवाहमा आउन दाहालको आग्रह
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले नेत्रविक्रम चन्दलाई आफ्नो पार्टीमा समावेश भएर मूल प्रवाहमा सामेल हुन आग्रह गगरेका छन् ।
चन्द नेतृत्वको नेकपाका पोलिटब्युरो सदस्य पदम राईलाई आज पार्टीको केन्द्रीय कार्यालय धूम्रबाराहीमा प्रवेश गराउँदै अध्यक्ष प्रचण्डले कुनै दिन मुलुकको समृद्धि र समाजवादका लागि विप्लव पनि आफ्नाे पार्टीमा जोडिनुपर्ने बताए ।
“म अन्य साथीहरुलाई कुनै आग्रहबिना मूल राजनीतिक पार्टीमा समाहित हुन आग्रह गर्छु । आउनुस् बसेर छलफल र संवाद गरौँ” दाहालले भने, “इतिहास, वर्तमान, राष्ट्र र अन्तर्राष्ट्रिय स्थितिको समीक्षा गरौँ । देश र जनताका आकाङ्क्षा पूरा गरौँ ।”
उनले विश्वलाई समाजवादी आन्दोलनको नयाँ ढाँचा र सन्देश दिनु अहिलेको ऐतिहासिक आवश्यकता रहेको बताए ।
सबै कम्युनिष्ट पार्टीलाई एकीकृत गर्नुपर्ने भएकोले पार्टी प्रवेशको शृङ्खला नरोकिने बताए ।
अध्यक्ष दाहालले राईले विगतमा गरेको त्याग, बलिदानका आधारमा आवश्यक भूमिका दिइने बताए ।
पूर्वभौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्रीसमेत रहनुभएका राई पहिलो संविधानसभा निर्वाचनमा भोजपुर क्षेत्र नं १ बाट निर्वाचित भएका थिए ।