टी-२० विश्वकपमा छनोट हुने पुबुदु र सन्दीपको विश्वास
नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक पुबुदु दासानायके र कप्तान सन्दीप लामिछानेले टी-२० विश्वकपमा छनोट हुने विश्वास व्यक्त गरेका छन्।
आईसीसी टी-२० विश्वकपको शुक्रबारदेखि ग्लोबल छनोट शुरू हुँदै छ। नेपालले पहिलो खेल शुक्रबार ओमानसँग खेल्नेछ।
विश्वकप ग्लोबल क्वालिफायर खेल्नुअघि मुख्य प्रशिक्षक दासानायकेले नेपाली टोलीको प्रदर्शनबाट सन्तुष्ट रहेको बताए। ओमानमा भएको चार देशीय श्रृङ्खलाले विश्वकप छनोटको तयारीमा राम्रो भएको उनको भनाइ थियो।
खेलाडीले ओमानको ग्राउन्डमा भिज्ने मौका पाएको मुख्य प्रशिक्षक पुबुदुले बताए। नेपाली टोलीले ओमानमा खेलेर ‘सेप’ लिइसकेकाले विश्वकप छनोटमा आशावादी रहेको उनले बताए।
नेपाली टोलीका कप्तान लामिछानेले पनि ओमानमा भएका तीन खेलले खेलाडी र टीमलाई नै फाइदा पुगेको बताए। व्यक्तिगत पर्फमेन्स राम्रो रहेको र ग्राउन्डको अवस्था बुझ्ने मौका पनि मिलेकाले तयारी राम्रो भएको उनको भनाइ छ।
टी-२० विश्वकपमा छनोट हुने विश्वास रहेको उनले बताए। “खेलाडीको व्यक्तिगत पर्फमेन्स र तीन वटै खेलका आधारमा हामी सक्छौं जस्तो लाग्छ,” लामिछानेले भने, “हामी सबैको लक्ष्य पनि नेपाललाई विश्वकपमा पुर्याउने नै हो।”
टी-२० विश्वकपको ग्लोबल क्वालिफायरमा नेपाल सहित ओमान, फिलिपिन्स, क्यानाडा, यूएई, बहराइन, आयरल्यान्ड र जर्मनी छन्। समूह ‘ए’ मा रहेको नेपालले क्यानाडा, फिलिपिन्स र ओमानसँग प्रतिस्पर्धा गर्नेछ।
प्रतियोगिताका शीर्ष दुई टोली १६ अक्टोबरदेखि १३ नोभेम्बरसम्म अस्ट्रेलियामा हुने टी-२० विश्वकपका लागि छनोट हुनेछन्। नेपालले पहिलो खेल ६ फागुनमा ओमानसँग, दोस्रो खेल ७ फागुनमा फिलिपिन्ससँग र तेस्रो खेल ९ फागुनमा क्यानाडासँग खेल्नेछ।