निर्वाचन अधिकृतका लागि आयोगले माग्यो नाम
स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृत र जिल्ला निर्वाचन अधिकृतको नाम मागेको छ।
आयोगले कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयसँग नाम मागेको प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए। बिहीबार आयोगले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै शर्माले १५ फागुनसम्म नाम मागेको बताए।
आयोगले जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृतमा नियुक्त गर्छ। त्यस्तै, अन्य सेवाका राजपत्राङ्कित अधिकृतलाई निर्वाचन अधिकृत नियुक्त गर्ने व्यवस्था छ।
त्यसका लागि न्याय सेवा आयोगसँग परामर्श गरेर नाम सिफारिश गर्न आयोगले न्याय मन्त्रालयसँग आग्रह गरेको छ।
सरकारले आगामी ३० वैशाखमा स्थानीय तहको निर्वाचन घोषणा गरेको छ। त्यसका लागि आयोगले तयारी थालेको छ।