वायु प्रदूषणको प्रकोप !
सामान्य ठानिएको शीतलहरले पछिल्ला वर्षमा पुर्याउन थालेको अनपेक्षित क्षतिले निकट भविष्यमा यो प्रकोप नै बन्ने सक्ने जोखिम देखिन्छ।
‘पहाडको ठन्डी, तराईको न्यानो’, पुर्खाको यो भनाइ निकै सुनिन्थ्यो। तर, ५० वर्ष पहिले र अहिलेको हावापानीमा ठूलो फेरबदल भएकाले उक्त भनाइसँग वास्तविकता मेल खाँदैन। पछिल्ला दशकमा तराईका जिल्लाहरूमा ठन्डी र कुहिरो सामान्य कुरा बनिसकेको छ। शीतलहरको कहरले तराईको जनजीवन कठिन बनाउने गरेको छ।
हिउँद लागेपछि मौसमी अनुकूलता अनुसार मानिसहरू हिमालबाट पहाडतिर, पहाडबाट तराई–मधेशतिर अस्थायी बसाइका लागि झर्ने र घुमफिर गर्ने फिरन्ते संस्कृति थियो। हालैका दशकहरूमा तराईमा अत्यासलाग्दो शीतलहर चल्न थालेपछि त्यस्तो संस्कृति लोप हुन थालिसकेको छ। हिउँदमा औसत तीन दिनदेखि १४ दिनसम्म लगातार मौसम धुम्मिनु र चिसो हावा चल्नुलाई बोलीचालीमा शीतलहर भन्ने गरिएको छ। विशेष गरी तराई र भित्री मधेशमा बादल लागेर धुम्मिएको आकाशमा कुहिरो वा हुस्सु थपिएपछि दूरदृष्टि (भिजिबिलिटी) केही मिटरमा सीमित हुन्छ।
प्रायः हरेक हिउँदमा निम्तिने गरेको शीतलहरको प्रकोपले देशको आधाभन्दा बढी जनसङ्ख्या बसोबास गर्ने र दुई तिहाइ अन्न उत्पादन गर्ने क्षेत्रलाई आर्थिक, सामाजिक र मनोवैज्ञानिक रूपमा धेरै क्षति गर्न थालेको छ। तर, यो मौन प्रकोपलाई उचित व्यवस्थापन गर्न चाहिने खोज र प्रभावकारी योजना निर्माणतिर समाजको ध्यान गएको छैन।
यस आलेखमा हावापानी विज्ञानको दृष्टिबाट शीतलहरको उत्पत्ति, बनोट, फैलावट एवं सम्भावित कारण र प्रभावबारे चर्चा गरिएको छ।
उत्पत्ति र फैलावट
कात्तिकबाट तापक्रम घट्न शुरू भएसँगै विशाल हिमालय पर्वत क्षेत्र र दक्षिणको गङ्गा मैदानको आकाश धुवाँधूलोले क्रमशः धमिलिन थाल्छ। सामान्य मौसममा बिहान सूर्योदय भएको केही घण्टा नबित्दै हराउने हुस्सु वा कुहिरो दिउँसोसम्म धुम्मिएर बस्छ। पश्चिम–उत्तर दिशाबाट (अफगानिस्तान, कश्मीर हुँदै) आउने तीव्र वायु नचलेसम्म यो मौसमी अवस्था रहिरहन्छ। हावा चलेमा भने यस्तो अवस्था बन्नै पाउँदैन, बनेको पनि सोहोरेर लैजान्छ। बिहान लाग्ने कुहिरो पनि घाम लागेको केही घण्टापछि हावासँगै हराउँछ। तर, पश्चिमी वायु सुस्त हुँदा जमीनको ओस बाफिएर धुवाँधूलोसँग मिसिँदै सघन कुहिरो उत्पन्न हुन्छ, जसले मध्याह्नसम्मको घाम छेक्न थाल्छ।
त्यस्तो कुहिरो कुनै हिउँदमा निकै घना र विशाल क्षेत्र ओगटेर फैलिने गरेको छ। यसको बनौट जमीन नजिक घना र उचाइतिर पातलो हुँदै गएको हुन्छ। दिउँसो अलि तापक्रम बढेको वेला कुहिरो करीब एक हजार मिटरको उचाइसम्म पुगे पनि यो अक्सर पाँच सय मिटरसम्म सीमित हुन्छ। यसले हप्तौंसम्म घाम छेकेर बसिदिंदा शीतलहरको प्रभाव व्यापक बन्न पुग्छ। अधिकांश वर्षमा भने स्थानीय भूगोल, उचाइ र तापक्रम अनुसार केही दिन वा सातासम्म रहेर बिलाउँछ।
शीतलहरको कारक घना कुहिरो वा बादल ओसिलो हावा र प्रदूषणको मिश्रणबाट बनेको हुन्छ। वायुमण्डलको मध्यम उचाइ (करीब पाँच हजारदेखि सात हजार मिटर) बाट बहने पश्चिमी वायु सुस्त रहेसम्म शीतलहर पैदा गर्ने घना कुहिरो वा बादल झन् सघन र विस्तारित हुँदै जान्छ। उक्त वायु तीव्र हुनासाथ सघन कुहिरोको तह पातलिन, फाट्न र एक क्षेत्रबाट अर्कोमा सर्न थाल्छ। अन्ततः सूर्यको किरणले जमीन तात्न थालेपछि यो छिन्नभिन्न भएर हराउँछ।
शीतलहर पैदा गर्ने प्रमुख क्षेत्रमध्ये भारतको पञ्जाब, हरियाणा, उत्तर प्रदेशको नाम अगाडि आउँछ। दीपावलीको वेला पटाका पड्काएर निस्कने धुवाँ, धान खेतमा जलाइने सोत्तरबाट निस्किने धुवाँधूलो र अन्यत्रबाट उडेर आउने प्रदूषण समेतले गर्दा शीतलहर निकै लामो समयको र घातक बन्दै जाँदा आपत्कालीन अवस्थाको घोषणा समेत हुन थालेको छ। नेपालको पूर्वीभन्दा पश्चिमी तराईमा शीतलहरको असर बढी पर्नुको एक कारण प्रदूषणको प्रमुख स्रोत नजिक पर्नाले पनि हो।
प्रदूषणयुक्त शीतलहर गराउने कुहिरो फागुन लागेपछि फाटेर तुवाँलोको रूपमा अझ उचाइतिर सर्छ। त्यसैले दक्षिणएशिया विशेष गरी हिमालयको आकाशमा वायु प्रदूषण सघन हुँदै विभिन्न स्वरूपमा यहाँको मौसमी चक्रलाई अप्रत्याशित ढङ्गले बदल्न थालेको छ। यो यहाँको कृषि, स्वास्थ्य र पर्यावरणका लागि राम्रो सङ्केत होइन।
कति ठूलो प्रकोप ?
हिउँदे खेतीको सिंचाइले जमीन ओसिलो भएमा वायुमण्डलको भुइँ तहको हावाको पत्र ओसिलो, गह्रौं र धुवाँधूलो सोस्ने प्रकृतिको बन्न पुग्छ। हिउँदमा सघन सिंचाइका कारण खेतको ओस तथा जमीनमा चिसोपन बढ्नु र धुवाँधूलो उत्सर्जनले वायुमण्डलको तल्लो तह थप प्रदूषित हुनु स्वाभाविक हो। प्रदूषित हावाको पत्र कम पारदर्शी हुने भएकाले घामको ताप भूसतहमा आंशिक मात्र पुग्न सक्छ। शीतलहर पैदा गर्न यो प्रक्रियाको कति भूमिका छ भन्ने पत्ता लगाउन अध्ययन हुनै बाँकी छ।
सामान्य कुहिरो वा बादलले हुने शीतलहर केही घण्टा वा दिनमा सीमित हुन्छ भने ओसिलो र प्रदूषित हावाले यसलाई लामो र विपद् निम्त्याउने स्तरको बनाइदिन्छ। हाल शीतलहरको प्रभाव पाँच सय मिटरभन्दा होचो भूभागमा धेरै परे पनि वेलावेलामा एक हजार मिटर उचाइसम्म प्रभाव विस्तार हुन थालिसकेको छ।
प्रष्ट हुनुपर्ने कुरा के हो भने, प्रदूषण ओसिलो जमीनको हावासँग नमिसिँदासम्म कुहिरो बनिहाल्दैन। प्रविधिको उपलब्धताले तराई सहितको समथर भूमिमा लगभग बाह्रै महीना सिंचाइ गरिन्छ, जसले गर्दा जमीन सधैं ओसिलो हुन्छ। तर, गर्मी याममा तापक्रम बढेसँगै जमीन तातेर उठ्ने हावाले प्रदूषणलाई उडाएर लैजान्छ। त्यसमध्ये केही टुक्रिएर त्यहीं खस्छ भने केही पहाड र उच्च हिमालतिर पुग्ने गरेको अध्ययनले देखाएको छ। फागुन–चैततिर पहाडी आकाशमा देखिने तुवाँलो स्थानीय र अन्तर्देशीय प्रदूषणकै कारण पैदा भएको हो।
५०/६० वर्षअघि भूमिगत पानी तानेर खेती गर्ने चलन थिएन। सतहका पानीका स्रोत सीमित क्षेत्र र महीनामा मात्र उपलब्ध थिए। सिंचाइ हुने निश्चित समय बाहेक कृषि भूमि ओभानो रहँदा हिउँदमा पातलो कुहिरो सूर्योदयपछिको केही घण्टामै उडेर हराउँथ्यो। प्रदूषण पनि धेरै कम थियो। हिउँदे झरीपछि लाग्ने बाक्लो कुहिरोले तराई क्षेत्र ठण्डा बनाउँथ्यो।
सामान्यतया पश्चिम–उत्तर वायुले गराउने हिउँदे वर्षा, त्यसपछि उदाउने घामले तताउने जमीन र भुइँतहको वायुमण्डल, त्यसले उत्पन्न गर्ने सिरसिरे बतासले बिहानी कुहिरो छिन्नभिन्न पारेर आकाशलाई खुला र घमाइलो बनाउने प्रणाली नै तराई–मधेश क्षेत्रको हिउँदे ऋतु चक्रका मुख्य चरण हुन्। हाल यो चक्र अनियमित र अनपेक्षित भएको कारणबारे पर्याप्त वैज्ञानिक अध्ययन भइनसकेकाले सामान्य ज्ञानका आधारमा तलका तथ्यलाई सम्भावित कारण मान्न सकिन्छः
- गङ्गा मैदानमा खेतीका लागि सिंचाइको व्यापक विस्तारका कारण जमीन सधैं ओसिलो रहनाले भूसतहको तापक्रममा गिरावट हुनु।
- कात्तिक र मंसीरमा बाली भित्र्याएपछि खेतबारीमा पराल र सोत्तर जलाइँदा निस्किने धुवाँको मुस्लोले छोड्ने काला फुस्रा कण वायुमण्डलमा तह तह बनेर तैरिनु।
- दीपावली लगायत उत्सवमा पड्काइने पटाका, कलकारखाना, यातायात र फोहोर जलाइने कामबाट अत्यधिक उत्सर्जन हुने धुवाँधूलोका कणको विस्तार।
- जलवायु परिवर्तनका कारण अनिश्चित हुन थालेको पश्चिमी वायुका कारण हुने हिउँदे वर्षाको चरित्र, ठाउँ र समय हेरफेर भए पनि त्यस अनुसारको पूर्वानुमानको ज्ञान र पूर्वतयारी क्षमता नभएर उत्पन्न अन्योल।
प्रभाव वा क्षति
नियमित रहेको ऋतुचक्रभित्र हिमालय पर्वतको अवस्थितिका कारण विभिन्न उतारचढाव देखिँदै छन्, जसमा शीतलहर हिउँदमा देखा पर्ने एउटा नियमित मौसमी अवस्थाबाट मौसमी विपद् बन्न पुगेको घटना पनि एक हो। जसरी मनसुनी वर्षाको लय परिवर्तन हुँदै छ, उसै गरी हिउँदको स्वरूप पनि बदलिंदै छ। करीब दुई दशकयता सामान्य शीतलहर केही वर्षको अन्तरालमा अति सघन, लामो र विनाशकारी बन्दै गएकाले भविष्यमा थप क्षति गर्ने प्रकोप बन्नेमा शङ्का छैन।
चुनौती व्यवस्थापन
हजारौं वर्षदेखि झण्डै उस्तै ऋतुचक्र र हावापानीको अनुभवबाट फाइदा लिँदै आएका पृथ्वीबासीले परिवर्तित ऋतुचक्र र हावापानी झेल्न धेरै चुनौतीपूर्ण हुने देखिँदै छ। यो अनपेक्षित दुष्परिणाम सबैभन्दा धेरै नेपाल सहित सम्पूर्ण हिमालय क्षेत्र र दक्षिणएशियाली देशहरूमा पर्दै छ।
यो चुनौती व्यवस्थापनका लागि प्रत्यक्ष रूपमा निम्न काम गर्नुपर्छः
- मौसम पूर्वानुमान प्रणालीलाई जोखिममा परेका समुदायमुखी हुने गरी पालिका तहको पहुँचमा पुनर्संरचना गर्ने।
- जोखिममा परेको समुदायका लागि स्थानीय तहमै विपद् प्रभावित क्षेत्र तोकेर सहायता परिचालनको व्यवस्था गर्ने।
अप्रत्यक्ष रूपमा निम्न काम गर्नुपर्छः
- खेतबारी तथा गोठको खेर जाने झारपात, डाँठ, पराल, पातपतिङ्गर, सोत्तर नजलाउने।
- यी पदार्थलाई मल वा बायोचार (कृषि अँगार) उत्पादनका लागि प्रयोग गर्ने।
- जमीनमा अनावश्यक पानी जम्मा भएर बस्ने सिंचाइलाई किफायती बनाउन डुबान पद्धतिलाई थोपा वा झारी पद्धतिमा बदल्ने।
- धुवाँधूलो उत्सर्जनलाई नियन्त्रण गर्न सबै उपाय प्रयोगमा ल्याउने।
- अन्तर्राष्ट्रिय मञ्चमा पैरवी गर्न आवश्यक वैज्ञानिक अनुसन्धान, तथ्याङ्क भण्डारण लगायतमा लगानी र सहकार्य बढाउने।
(दाहाल हावापानी र विपद् व्यवस्थापन सम्बन्धी अनुसन्धानकर्मी हुन्।)