एमसीसी छिटो संसद्मा लैजानुपर्छः भुसाल
नेपाली कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसालले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता सदनमा टेबल गर्ने विषयमा अलमल गर्न नहुने बताएकी छन्।
एमसीसीलाई कुनै पनि राजनीतिक दलले सत्तामा पुग्ने भर्याङ बनाउन नहुने बताउँदै भुसालले दुई देशबीचका वैदेशिक सम्बन्धदेखि आर्थिक सम्बन्धसँग जोडिएको विषय भएकाले छिटोभन्दा छिटो संसद्मा प्रवेश गराएर व्यापक छलफल गर्नुपर्ने धारणा राखिन्।
नेत्री भुसालले रासससँग भनिन्, “एमसीसी यथाशीघ्र सदनमा प्रवेश गराएर धेरै छलफल गरियो भने उठेका प्रश्नबारे आम जनता स्पष्ट हुन्छन्, सदनमा टेबल भएर छलफल भइसकेपछि चित्त नबुझ्नेले मतदान गर्न सक्दिनँ भन्न पाउँछ नि।”
कांग्रेसले एमसीसी सदनमा प्रवेश गराएर व्यापक छलफल गर्नुमा जोड दिंदै आएको उनले बताइन्।