उड्ने सिंह विवादले लम्बियो फसीं देग निर्माण कार्य
‘बो सिंह’ अर्थात् उड्ने सिंहको मूर्तिको विषयलाई लिएर भक्तपुरको फसीं देग मन्दिर निर्माणको काम पाँच वर्षदेखि अल्झिरहेको छ।
नेपाल भाषामा एउटा उखान छ- 'द्यो ग दानेफ, गजु ते मफ।' अर्थात्, जग खनेर देवताको घर बनाउन सकियो, तर गजुर राख्न सकिएन।
सो उखान भक्तपुरको फसीं देगको हकमा ठ्याक्कै लागू भएको छ। किनभने, मन्दिर बन्यो, गजुर पनि राखियो, तर मन्दिरको शिरोभागमा राखिने मूर्तिका कारण निर्माण पूरा हुन सकेको छैन।
मन्दिरमा राखिने ‘बो सिंह’ अर्थात् उड्ने सिंहको मूर्तिका कारण निर्माणमा समस्या देखिएको हो। जसले गर्दा मन्दिर निर्माणको काम पाँच वर्षदेखि अल्झिरहेको छ।
पुरातत्त्व विभाग अन्तर्गत स्मारक संरक्षण तथा दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख अरुणा नकर्मी गजुर राखिसक्दा पनि मन्दिरको निर्माण पूरा नभएकोमा दुःख व्यक्त गर्छिन्।
उनका अनुसार, भक्तपुर नगरपालिका- ७ गोल्मढीको गहिटीको दायाँ-बायाँ राखिएको बो सिंह स्थानीयले दिन नमानेका कारण समस्या भएको हो। स्थानीयले सिंहको मूर्ति दिएको भए निर्माण कार्य हालसम्म सकिने उनी बताउँछिन्।
“स्थानीयले सिंहको सो मूर्ति दिन नमानेपछि अहिले नयाँ सिंह बनाउन लगिएको छ,” उनी भन्छिन्, “विभागबाट अनुमति लिएर नयाँ सिंहको एक जोडी मूर्ति बनाउने काम भइरहेको छ।”
पाँच लाख लागतमा सिंहको मूर्ति बनाउने काम पाटन औद्योगिक क्षेत्रको अरनिको स्टोन कार्भिङले गरिरहेको छ।
“गोल्मढीमा भए पनि फसीं देगमा भए पनि आखिर भक्तपुरमै रहने हो,” उनी भन्छिन्, “गोल्मढीका स्थानीयले सिंहको मूर्ति नदिएपछि नयाँ बनाउने प्रक्रिया अघि बढाउँदा निर्माण कार्य ढिला हुन गयो।”
नयाँ बनाइएको सिंह गोल्मढीको गहिटीमा राख्ने र त्यहाँको सिंह फसीं देगमा राख्ने योजना रहेको उनी सुनाउँछिन्।
किन भयो विवाद?
काम शुरू भएदेखि विवाद खेप्नुपरेको फसीं देगको निर्माण करीब ६ वर्षमा आएर पूरा हुने अवस्थामा छ। यसका लागि असार २०७३ मै ठेक्काको सबै प्रक्रिया पूरा भएको थियो।
२०७२ सालको भूकम्पमा भत्किएको शैलीमा बनाउन टेन्डर आह्वान गरिसके पनि भक्तपुर नगरपालिकाले नयाँ शैलीमा नभई ९० सालअघिको शैलीमा मन्दिर संरचना बनाउने अडान राख्यो। त्यसपछि पुरानो शैली अनुसार निर्माण गर्न फोटोको खोजी र इन्जिनियरिङ परामर्शमा एक वर्ष लाग्यो।
“कलात्मक थाम बनाउने ढुङ्गा खोज्नै अर्को एक वर्ष लाग्यो। ढुङ्गाको कारण पनि केही समय काम रोकियो,” उनी बताउँछिन्, “त्यसपछि बुट्टा कोर्न एक वर्ष लाग्यो।”
मन्दिर बनाउन टेराकोटा बनाउने काम तथा विशेष इँटा चाहिने भएकाले पनि काम ढिलो भएको उनले सुनाउँछिन्।
“यसका लागि छुट्टै खालको इँटा बनाउनुपर्ने,” उनी भन्छिन्, “त्यो पनि मेसिनले नभई हातले नै बनाउनुपर्ने भएका कारणले पनि समय लाग्यो।”
अन्तिम समयमा आएर बो सिंह विवादका कारण निर्माण रोकियो। विवाद नटुङ्गिएपछि सिंह राख्ने पूर्व र पश्चिमको ठाउँ खाली राखेर काम अघि बढाइयो।
“मन्दिर पुरानो शैलीमा बनाउने भएपछि बो सिंह आवश्यक भयो,” उनी सुनाउँछिन्, “तर पुरानो मूर्ति गाेल्मढीका स्थानीयले दिन मानेनन्। अनि नयाँ बनाएर गाेल्मढीमा राख्ने र त्यहाँको पुरानो मूर्ति मन्दिरमा राख्ने सहमति भयो।”
मन्दिर ९० सालअघिको पुरानो शैलीमा बनाउने भएपछि बो सिंह पनि पुरानै राख्नुपर्ने कुरा भयो। अनि मात्र साटफेरको सहमति भयो।
“खासमा गाेल्मढीमा भएको बो सिंह यही मन्दिरकै हो,” उनी भन्छिन्, “९० सालको भूकम्पमा स्थान व्यवस्थापन गर्दा त्यहाँ राखिएको हुनुपर्छ। नत्र त बो सिंह हिटीमा राख्ने परम्परा होइन। बो सिंह मन्दिरको शिरोभागको चारतर्फ हुने गर्दछ।”
पुरातत्त्व विभागको स्मारक संरक्षण तथा दरबार हेरचाह अड्डाका इन्जिनियर कल्पना प्रजापतिले फसीं देगको निर्माण बो सिंहको कारण अहिलेसम्म नसकिएको बताउँछिन्। “बो सिंह दिएको भए अहिलेसम्म काम सकिसक्ने थियो,” उनी भन्छिन्।
साथै, गत आवसम्म मन्दिर निर्माणका लागि चार करोड ६७ लाख ४२ हजार ६ सय ४६ रुपैयाँ खर्च भइसकेको जानकारी उनी दिन्छिन्। उनका अनुसार, कुल लागत पाँच करोड ५२ लाख लाग्ने अनुमान गरिएको थियो।
जमीनदेखि मन्दिरको भुइँसम्मको उचाइ २५ फिटको रहेको छ भने त्यहाँबाट मन्दिर ६२ फिट अग्लो हुनेछ । “भूकम्पले भत्केको पुरानो मन्दिर भने जम्मा ४५ फिट मात्र थियो,” उनी भन्छिन्, “पहिलाको भन्दा याे संरचना १५ फिट अग्लो हुनेछ।”
भक्तपुर नगरपालिका- ७ का वडाध्यक्ष उकेश कवांले नयाँ बनाइएको सिंह गोल्मढीमा राखेर सो स्थानको मन्दिरमा लान सकिने जनाउँछन्। तर, स्थानीयले भने अहिले गोल्मढीको गहिटीमा रहेको बो सिंह मूर्ति पुरानो भएको कारण धेरै ठाउँमा चिरा परेको र टुक्रा भइसकेकाले फसीं देगमा नयाँ राख्दा हुने बताएका छन्। “तर पुरानो मूर्ति जहाँको हो त्यहाँ नै राख्दा राम्रो हुन्छ भन्ने हाम्रो विचार हो,” उनी भन्छन्, “स्थानीयसँग बसेर सरसल्लाह गर्नुपर्नेछ।”
फसीं देगको इतिहास
फसीं देग शिलु महादेवको मन्दिर १९९० सालको भूकम्पमा भत्किएको थियो। त्यसपछि यसलाई फर्सी जस्तो डल्लो शैलीमा बनाइएपछि नेवारी भाषामा ‘फसीं देग’ भन्न थालियो।
मन्दिरको शिरोभागको पाँचमध्ये तीन तहमा जोर जनावरका मूर्ति छन्। सबभन्दा तल्लोमा हात्ती, मध्यमा सिंह र माथ्लोमा साँढेका मूर्ति छन्।
यो ग्रन्थकूट शैलीको मन्दिर हो। शिखर शैलीको अग्लो मन्दिरलाई ग्रन्थकूट शैली भनिन्छ। यो मन्दिरको मौलिक स्वरूप १९९० सालअघि नै परिवर्तन भएको पाइन्छ। १९९० सालपछि पनि दुई स्वरूपमा मन्दिर बनेको छ।
१९९० सालमा भूकम्पले मन्दिर भत्काएपछि चारै भित्ताका उड्ने सिंहलाई त्यसै फालियो। तीमध्ये दुई वटा सिंहलाई भक्तपुर दरबार परिसरमा रहेको भक्तपुर नगरपालिकाको पुरानो भवनको मूल ढोकाको दायाँ-बायाँ राखियो।
बाँकी दुई वटालाई भने गोल्मढी टोलको गहिरो ढुङ्गेधारा पुनर्निर्माण हुँदा त्यसको दायाँ-बायाँ राखियो। ती मूर्ति अहिले पनि छन्।