जोन्सन खोप लगाएकालाई बुस्टर डोजमा कुन खोप?
कोभिड-१९ विरुद्ध सरकारले १८ वर्षभन्दा माथिका नागरिकलाई बुस्टर डोज दिन थालेको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पहिले जुन खोप लगाएको बुस्टर डोजमा पनि त्यहि खोप लगाउँदै आएको छ। तर, खोप अभाव भएमा पहिलो र दोस्रो डोजमा अस्ट्राजेनेका, कोभिशिल्ड, मोडर्ना र फाइजर खोप लगाएका व्यक्तिलाई बुस्टर डोजमा अन्य खोप पनि लगाउने सक्ने परिपत्र गरेको छ।
जोन्सन एन्ड जोन्सन खोप लगाएका व्यक्तिलाई बुस्टर डोजमा कुन खोप लगाउने भन्ने द्विविधा उत्पन्न भएको छ। यसमा स्वास्थ्य मन्त्रालयले सकभर जोन्सन एन्ड जोन्सन खोप नै बुस्टर डोजमा लगाउन भनेको छ।
जोन्सन एन्ड जोन्सन खोप नभएमा बुस्टर डोजका रूपमा अन्य खोप पनि लगाउन सकिने परिवार कल्याण महाशाखाकी वरिष्ठ नर्सिङ अधिकृत लक्ष्मी मरासिनीले जनाएकी छन्। उनले देशका ७७ वटै जिल्ला स्वास्थ्य कार्यालयलाई पठाएको परिपत्रमा भनिएको छ, ‘जोन्सन एन्ड जोन्सन खोप लगाएका व्यक्तिहरूलाई पनि ६ महीनापछि उपलब्ध भएमा सोही खोप, तर नभएमा कोभिशिल्ड, अस्ट्राजेनेका, मोडर्ना वा फाइजर खोप लगाउन मिल्ने व्यहोरा जानकारीका लागि अनुरोध छ।’
कोभिड-१९ विरुद्ध अन्य खोपका दुई डोज लगाउन गरिएको भए पनि जोन्सन एन्ड जोन्सनको भने एक डोज मात्रै लगाइँदै आएको छ। बुस्टर डोजमा भने अन्य खोप पनि लगाउन मन्त्रालयले सिफारिश गरेको हो।
अहिले सरकारले देशभर खोप अभियान चलाइरहेको छ। पूर्ण खोप लगाएको ६ महीना पुगेका व्यक्तिलाई बुस्टर डोज दिइरहेको छ।
बुधबारसम्म देशभर एक करोड ८३ लाख एक हजार २२८ जनाले पहिलो डोज र एक करोड ६७ लाख तीन हजार ३८६ जनाले पूर्ण खोप लगाइसकेका छन्। त्यस्तै, सात लाख ८५ हजार २०३ जनाले बुस्टर डोज पनि लगाइसकेका छन्।