घरछिमेकका चरा चिन्ने नयाँ काइदा
प्रविधिको प्रयोग मार्फत चरा गणना गर्ने विश्वव्यापी क्रम नेपालमा पनि शुरू हुने भएको छ। ७ फागुनदेखि देशभरका चरा अवलोकनकर्ताले नयाँ बनेको एप मार्फत घरछिमेकमा देखिने चराको विवरण मोबाइलमा भर्नेछन्।
चार दशकदेखि चरा संरक्षणको काम गर्दै आएको नेपाल पन्छी संरक्षण संघले शहरी चरा गणनाका लागि मोबाइल एप बनाएको छ।
‘छिमेकी चरा’ नाम दिइएको एप प्रयोग गरेर आउँदो ७ फागुनदेखि देशभरका स्वयंसेवकले चरा गणना गर्ने भएका छन्। “झण्डै ६४ जिल्लाका एक हजार स्वयंसेवक तथा पार्टनरले एप डाउनलोड गरेका छन्,” संघको छिमेकी चरा कार्यक्रम संयोजक आरती नेपालीले भनिन्, “उनीहरू मार्फत शनिबार आधा घण्टाको समयमा आफ्नो घरछिमेकको चरा चिन्ने काम हुनेछ।”
घर, कार्यालय वा विद्यालय परिसरमा आधा घन्टाको समयमा देखिएका चराको प्रजाति पहिचान गरी तिनको सङ्ख्या अभिलेख गर्न कार्यक्रम केन्द्रित हुने उनले बताइन् ।
संघ तथा अन्य संरक्षणमा संलग्न निकायले पेशेवर चरा अवलोकनकर्ताबाट मात्र चरा गणना गराउँदै आएको थियो। तर, यो कार्यक्रमले भने सर्वसाधारणलाई पनि समावेश गर्नेछ। कार्यक्रम गाउँठाउँका चरा गणनामा सीमित भएका कारण पनि जनसहभागिता गराउन खोजिएको हो।
“चरा अवलोकन यसै पनि सानो समुदायमा सीमित छ। यसलाई विस्तार गर्न पनि यो कार्यक्रम उपयोगी हुने अपेक्षा छ,” संघका सञ्चार अधिकृत निरज दाहालले भने, “अधिक सहभागिता भयो भने चरा संरक्षणको कार्यक्रम प्रभावकारी हुन्छ।”
एप मार्फत गरिने चरा गणना कार्यक्रमले सर्वसाधारणलाई चराको संसारमा प्रवेश गर्ने आधार दिने कार्यक्रम संयोजक नेपाली बताउँछिन्। “एपमा नेपालको हिमालदेखि तराई क्षेत्रमा पाइने चल्तीका चरा प्रजातिको सूची समेटिएको छ,” उनले भनिन्, “आफूले देखेका चरा गणना गर्न यो एप सजिलो छ। प्राप्त तथ्याङ्कलाई संघले एकत्रित गर्छ र चरा पाइएको क्षेत्रको नक्शा सहित प्रकाशित गर्छ।”
यदि एपको सूचीमा नभएको चरा देखिएमा आफूले नयाँ प्रजाति थप गर्न पनि सकिन्छ। देखिएको चराको सूचना भर्न इन्टरनेट नै चाहिन्छ भन्ने छैन। इन्टरनेट विना पनि सूचना रेकर्ड गर्न सकिनेछ।
मोबाइलमा रेकर्ड भएको सूचना पछि इन्टरनेट कनेक्ट गरेर प्रेषित गर्न सकिन्छ। अहिले एन्ड्रोइड भर्सनका लागि बनाइएको यो एप आईओएस भर्सनको लागि पनि बनाउने काम भइरहेको छ।
यस कार्यक्रमको उद्देश्य घर वरपर बस्ने वा आउने चराको अभिलेख राख्नु हो। नेपालमा यस्ता प्रजातिका चरामा भँगेरा, परेवा, मलेवा, गौंथली, ढुकुर, चखेवा, धोबी चरा, काग, लाटोकोसेरो लगायत हुन्।
पन्छी संघले पहिलो पटक यस्तो कार्यक्रम गर्न लागेको बताउँदै दाहालले भने, “अचेल धेरै समय स्क्रिनमा बितिरहेको छ। यसै मार्फत संरक्षण सचेतना जगाउने क्रियाकलाप अघि बढाउने सोच अनुसार यो कार्यक्रमको खाका बनेको हो।”
एप चलाउन सिकाउने विधि युट्युबमा पनि राखिएको छ। नागरिक वैज्ञानिक अवधारणालाई अभ्यासमा ल्याउन पनि यो सहयोगी हुने उनले बताए। गाउँठाउँका नागरिकलाई संरक्षण सहयोगीका रूपमा आबद्ध गराउने उद्देश्यले उदाएको ‘सिटिजन साइन्टिस’ को प्रभाव विश्वभर विस्तार हुँदै आएको उल्लेख गर्दै यो एपको प्रयोग गरी नागरिक वैज्ञानिक मार्फत चरा गणनामा सहयोग पुग्ने बताए।
“फेब्रुअरी महीनामा यो कार्यक्रम गर्नुको उद्देश्य हिउँदमा बसाइँसराइ गरी आएका चरा पनि देखिऊन् भन्ने हो,” उनले भने, “अब अर्को गणना ६ महीनापछि ग्रीष्म ऋतुमा बसाइँ आएका चरालाई पनि समावेश गरिनेछ ।”
शहरी गणनाको नयाँ रूप
संघले दश वर्षअघि सन् २०१२ र २०१३ मा ‘शहरी चरा गणना’ कार्यक्रम मार्फत शहरी क्षेत्रका चरा गणना गरेको थियो। त्यति वेला चरा जिज्ञासु सर्वसाधारणको पनि सहभागिता थियो। तर, त्यसपछिका चरा गणनामा पेशेवर चरा अवलोकनकर्ता सहभागी भए।
“विगतको त्यो प्रयास जस्तै आम मानिसलाई आफ्नो घरछिमेकमा देखिने चराको गणनामा सहभागी गराउने लक्ष्य हो,” छिमेकी चरा अभियानमा आबद्ध संघ सदस्य एन्रेड भ्यान रेसेनले भने, “सहजकर्ताका लागि मोबाइल एप पनि उपयोग गरिंदै छ।”
६ महीनाअघि बनाउन शुरू गरिएको एप अहिले तयार भएको उनले बताए। यसरी प्रविधि मार्फत चरा गणना गर्ने चलन अहिले विश्वव्यापी हुँदै गएको उनको भनाइ छ।
अमेरिकामा कोर्नेल ल्याब अफ ओर्निटोलोजीले विभिन्न साझेदार संस्थासँगको सहकार्यमा सन् १९९८ मा ‘ग्रेट ब्याकयार्ड बर्ड काउन्ट’ शुरू गरेको थियो। त्यो कार्यक्रम पहिलो पटक अनलाइन मार्फत भएको चरा गणना थियो। पछि त्यसलाई विश्वव्यापी बनाइएको थियो, जसले तत्कालमा कति चरा कहाँ देखिए भन्ने सूचना सङ्कलनलाई प्रभावकारी बनाएको थियो।
“नेदरल्यान्डमा त सडक अनुसार नै चरा गणना गरिन्छ,” रेसेनले भने, “हामी अहिलै नै त्यो तहमा त जान सक्दैनौं, तर आगामी दिनमा भने गणनाको यो काम विस्तार गर्दै लाने लक्ष्य छ।”
किन गनिन्छ चरा?
चराको गणना गर्नु जैविक विविधता र पर्यावरणीय अवस्थाबारे बुझ्नु हो। र, नयाँ प्रजातिको चराबारे जानकारी पनि सङ्कलन गर्नु हो।
जैविक विविधताका आधारमा नेपाल विश्वको २५औं र एशियाको ११औं स्थानमा छ। पन्छी विविधतामा पनि नेपाल धनी छ। नेपालमा ८८९ प्रजातिका चरा रहेका छन्। तिनमा मौसमी बसाइँसराइका लागि आउने घुमन्ते चराको सङ्ख्या झण्डै तीन सय छ।
त्यस्तै, ३८९ प्रजातिका जङ्गली चरा छन् भने ४५ प्रजातिका चरा गर्मी याममा घुम्न आउँछन्। विश्वमा पाइने कुल चरा प्रजातिमध्ये आठ प्रतिशत नेपालमा पाइन्छन्। अन्तर्राष्ट्रिय संस्था बर्डलाइफ इन्टरनेशनलले नेपालका विभिन्न ३७ स्थानलाई महत्त्वपूर्ण चरा क्षेत्रका रूपमा पहिचान गरेको छ। ती क्षेत्रले २७ प्रतिशत भूभाग ओगट्छन्। हालसम्म १७ वटा चरा संरक्षण क्षेत्रमा प्रभावकारी क्रियाकलाप भएका छन्।
नेपालमा पाइने चरामध्ये आठ प्रजाति लोप भइसकेका छन्। ती चरा नदेखिएको १५० वर्ष भइसकेको छ। सन् २०१६ को अध्ययनमा १६८ प्रजातिको चरा सङ्कटमा परेको देखिएको थियो।
मानवजन्य क्रियाकलापले विभिन्न प्राणी सङ्कटमा परेका छन्। त्यसको प्रभाव चरा जगत्मा पनि परेको छ। वातावरण विनाश र संरक्षणको सोच विनाको विकासले पनि चरा जोखिममा परेका हुन्।
सिमसार क्षेत्र मासिंदै जाँदा पनि चरा सङ्कटमा परेका छन्। नेपालमा भएको १० वटा सिमसार क्षेत्रमा सबैको प्रभावकारी संरक्षण हुन सकेको छैन।