नयाँ शैक्षिक सत्रको पढाइ १ जेठबाट हुने
आगामी नयाँ शैक्षिक सत्रको पढाइ जेठबाट मात्रै शुरू हुने भएको छ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी १ जेठबाट नयाँ शैक्षिक सत्रको पढाइ शुरू गर्ने निर्णय गरेको हो। स्थानीय तहको चुनावका कारण जेठबाट नयाँ शैक्षिक सत्रको पढाइ शुरू गर्ने निर्णय गरिएको मन्त्रालयले जनाएको छ।
चालू शैक्षिक सत्रको पढाइ चैतसम्म हुने शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले बताए। “चैत महीनाभरि पढाइ गर्ने निर्णय भएको छ,” शर्माले हिमालखबरसँग भने, “वैशाखमा परीक्षा र नयाँ भर्ना लिइनेछ।”
त्यसपछि १ जेठबाट मात्रै पढाइ शुरू हुने उनले बताए। वैशाखमा स्थानीय तहको निर्वाचन भएकाले जेठबाट मात्रै पढाइ गर्ने शिक्षा मन्त्रालयले निर्णय गरेको हो। यसअघि चैतमा परीक्षा र १ वैशाखदेखि पढाइ हुँदै आएको थियो।