एमसीसी सम्झौता संसद्को अर्को बैठकमा पेश हुन्छ: मन्त्री बडू
अमेरिकी सहायता परियोजना एमसीसी सम्झौता अर्को बैठकमा संसद्मा पेश हुने कानून, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूले बताएका छन्।
त्यसका लागि दलहरूबीच सहमति जुटाउन प्रतिनिधि सभाको बैठक दुई दिन सारिएको मन्त्री बडूको भनाइ थियो। प्रतिनिधि सभाको आजको बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग मन्त्री बडूले भने, “एमसीसीबारे सडकमा उठेका बहस र विवादलाई टुङ्गोमा लान पनि संसद्मा लानुपर्ने भएको छ।”
सत्तारूढ अन्य दलहरूले सहमतिका लागि समय मागेकाले आजको बैठकमा पेश नभएको उनको भनाइ थियो। “यो विषयलाई संसद्मा प्रवेश गराउने र छलफलमा लाने हाम्रो उद्देश्य हो,” मन्त्री बडूले भने, “छलफलका निमित्त दललाई अझै केही समय चाहिन्छ भन्ने आएकाले थप सहमति जुटाएर अबको बैठकमा टेबल गर्ने सहमति बनाउँदै छौं।”
सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभाको अर्को बैठक ६ फागुन दिउँसो १ बजे तोकेका छन्। यसअघि ५ फागुन दिउँसो ३ बजे सत्तारूढ गठबन्धनको बैठक बोलाइएको छ।
त्यस्तै, नेकपा (माओवादी केन्द्र) नेत्री ओनसरी घर्तीले एमसीसी राष्ट्रिय सरोकारको विषय भएको र यसमा सहमति जुटाउन समय मागिएको बताइन्। “सबै दल एकै ठाउँमा बसेर छलफल नगरी अघि नबढौं भन्ने हाम्रो आग्रह बमोजिम आजको बैठकमा एमसीसी प्रस्ताव पेश नभएको हो,” नेत्री घर्तीले भनिन्।
नेपाली कांग्रेस संसदीय दलले एमसीसी सम्झौतालाई संसद्मा लग्ने निर्णय गरिसकेको छ। त्यस्तै, नेकपा (माओवादी केन्द्र) संसदीय दलले यसको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ।
सत्तारूढ गठबन्धनका नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय जनमोर्चा यसको विरोधमा छन् भने जनता समाजवादी पार्टी (जसपा) समर्थनमा उभिएको छ। प्रमुख प्रतिपक्ष नेकपा (एमाले) ले भने यसमा विषयमा निर्णय गर्न सकेको छैन।