नेपालमै उत्पादन भएको क्यान्सरको औषधि बजारमा
नेपालमै उत्पादन भएको क्यान्सर रोग विरुद्धको औषधि ‘एन्टिक्यान्सर ड्रग’ बजारमा आएको छ।
उत्पादक कम्पनी टिजिग फर्मा प्रालिले क्यान्सर विरुद्धको औषधि बजारमा ल्याएको हो। योसँगै टिजिग फर्मा नेपालमा क्यान्सर रोग विरुद्धको औषधि उत्पादन गर्ने पहिलो कम्पनी बनेको छ।
टिजिग फर्माका कार्यकारी निर्देशक शैलेश वैद्यका अनुसार, अहिले नेपालभित्रै बिक्री वितरण गर्न विभागबाट तीनवटा ‘मोलिक्युल’ को अनुमति प्राप्त भइसकेको छ। विदेश निर्यात गर्न पनि थप एउटा ‘मोलिक्युल’ को स्वीकृतिपत्र प्राप्त भएको उनले बताए।
कार्यकारी निर्देशक वैद्यले क्यान्सर रोग विरुद्धको औषधि नेपालमै उत्पादन गरी स्वदेशी र विदेशी बजारमा पठाउन लागेको बताए। यो भारतको हैदरबादस्थित एसपी एक्युर ल्याब (एसपीएएल) सँग प्रविधि हस्तान्तरण सम्झौता गरेर स्थापना तथा सञ्चालन भएको कम्पनी हो।
टिजिगले अहिले औषधि व्यवस्था विभागबाट २७ वटा मोलिक्युलका लागि उत्पादन स्वीकृति पाइसकेको छ। “यस कम्पनीले क्यान्सर विरुद्ध प्रयोग हुने विभिन्न औषधि उत्पादन गर्दै छ र विभागबाट स्वीकृति प्राप्त भए अनुसार क्रमश: बजारमा उपलब्ध हुँदै जानेछ,” वैद्यले भने।
टिजिग फर्माबाट उत्पादन हुने क्यान्सर विरुद्धको औषधिको मूल्य आयातीत औषधिको तुलनामा केही सस्तो हुने पनि कार्यकारी निर्देशक वैद्यले जानकारी दिए। यसअघि क्यान्सरका बिरामीले विदेशबाटै ल्याएर औषधि खाने गरिरहेका थिए।