साहित्यकार एवम् भाषाविद् तारानाथ शर्माको निधन
साहित्यकार एवम् भाषाविद् डा. तारानाथ शर्माको निधन भएको छ। शर्माको ८७ वर्षको उमेरमा मंगलबार बिहान साढे ८ बजेतिर काठमाडौं चाबहिल, सरस्वतीनगरस्थित निवासमै निधन भएको हो।
शर्मा लामो समयदेखि विस्मृतिको रोग डिमेन्सियाबाट ग्रस्त थिए। उनलाई उच्च रक्तचाप, मुटुरोग र मधुमेहको समस्या पनि रहेको आफन्त कमल अधिकारीले जानकारी दिइन्।
झर्रोवादी अभियानका अभियन्तामध्येका एक शर्माले नेपाली साहित्यमा नियात्रा विधाको शुरूआत गरेर यसलाई लोकप्रिय बनाएका थिए। बनारसमा पढ्दा २०१३ सालमा उनले बालकृष्ण पोखरेल, कोषराज रेग्मी, बल्लभमणि दाहाल सहितका व्यक्तिहरूसँग मिलेर थालिएको झर्रोवादी आन्दोलन नेपाली भाषिक फाँटमा महत्त्वपूर्ण मानिन्छ। साहित्यमा उनी ताना सर्माको नामले पनि परिचित छन्।
९ असार १९९१ मा इलाममा जन्मिएका शर्माको नियात्राकार, निबन्धकार, कथाकार, उपन्यासकार, भाषाविद्, समालोचक सहितको विविध परिचय छन्।
उनका घोत्ल्याइँहरू, भानुभक्तदेखि तेस्रो आयामसम्म, नमस्ते, बेलाइततिर बरालिंदा, पाताल प्रवास, दुई पोका चुरा लगायत दर्जनौं कृति प्रकाशित छन्। बेलायततिर बरालिंदा कृतिका लागि उनले २०२६ सालको मदन पुरस्कार र सम र समका कृतिबाट २०२९ सालमा साझा पुरस्कार पाएका थिए।
गोपालप्रसाद रिमालको कविताकृति आमाको सपना (२०१९) र गुरुप्रसाद मैनालीको कथासङ्ग्रह नासो (२०२१) उनैले सम्पादन गरेका थिए।
शर्माको मंगलबार नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ। शर्माका श्रीमती र दुई छोरा छन्।