नेपाल आयरल्यान्डसँग १७ रनले पराजित
चार देशीय श्रृङ्खला अन्तर्गत आयरल्यान्डसँग भएको खेलमा नेपाल १७ रनले पराजित भएको छ।
ओमानको अल अमेरट रङ्गशालामा भएको खेलमा आयरल्यान्डले दिएको सामान्य लक्ष्य पनि नेपालले पूरा गर्न सकेन। आयरल्यान्डले दिएको १२८ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल नौ विकेट गुमाएर १११ रनमै समेटियो।
नेपालका लागि कुशल भुर्तेल र आरिफ शेखले राम्रो शुरूआत गरेका थिए। उनीहरूले पहिलो विकेटका लागि ४.१ ओभरमा २६ रन बनाएका थिए। त्यसपछि भने नेपालका लगातार विकेट झरे।
नेपालका लागि दीपेन्द्रसिंह ऐरीले २८, आरिफ शेखले २३, कुशल भुर्तेलले १५ र कमलसिंह ऐरीले १३ रन बनाए। अन्य खेलाडीले भने दोहोरो अङ्क पनि जोड्न सकेनन्।
आयरल्यान्डका लागि मार्क अडैर, सिमी सिंह, बेरी म्याककार्थी र एन्डी क्याकब्राइनले दुई-दुई विकेट लिए। त्यस्तै, कर्टिस क्याम्फरले एक विकेट लिए।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको आयरल्यान्डले सबै विकेट गुमाएर १२७ रन बनाएको थियो। आयरल्यान्डका लागि जर्ज डकरलले २८ र कर्टिस क्याम्फरले २० रन बनाए।
नेपालका लागि दीपेन्द्रसिंह ऐरीले चार, अविनाश बोहराले दुई तथा कमलसिंह ऐरी, जितेन्द्र मुखिया र सन्दीप लामिछानेले एक-एक विकेट लिए।
चार देशीय श्रृङ्खलाको अङ्कतालिकामा नेपाल पुछारमा रह्यो। नेपालले एक खेल मात्रै जितेको थियो भने दुई खेलमा पराजित भयो।