संसद् खुलाउन एमालेसँग संवाद गर्ने सर्वदलीय बैठकको निर्णय
सर्वदलीय बैठकले संसद् खुलाउन नेकपा (एमाले) सँग संवाद गर्ने निर्णय गरेको छ।
सभामुख अग्निप्रसाद सापकोटाले सोमबार सर्वदलीय बैठक बोलाएका थिए। बैठकमा सहभागी नेताहरूले संसद् खुलाउने एमालेसँग संवाद गर्ने निर्णय गरेको नेकपा (एकीकृत समाजवादी) का नेता जीवनराम श्रेष्ठले बताए।
सर्वदलीय बैठकमा संसद्मा प्रतिनिधित्व गर्ने सबै दललाई बोलाइएको थियो। तर, एमाले नेताहरू भने सहभागी भएका थिएनन्।
“आजको बैठकमा एमाले नेताहरू आउनुभएन। त्यसैले संसद् खुलाउने विषयमा एमालेसँग संवाद गर्ने निर्णय भएको छ,” श्रेष्ठले भने।
एमालेले जिम्मेवार भूमिका निर्वाह नगरेको श्रेष्ठको भनाइ छ। “एमालेले जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गरेको देखिएन,” उनले भने।
एमाले छोडेर एकीकृत समाजवादीमा गएका १४ सांसदलाई कारबाही गर्नुपर्ने एमालेको माग छ। यसमा सभामुखले पक्षपातपूर्ण व्यवहार गरेको भन्दै एमाले सांसदले संसद् अवरुद्ध गर्दै आएका छन्।