उपचारबाट निको हुन्छ छारे रोग
छारे रोग लागेका ७० प्रतिशत बिरामी औषधि सेवनबाटै निको हुन सक्छन्, त्यसैले बिरामीलाई अस्पताल ल्याउन जनचेतना जगाउन जरुरी छ।
मस्तिष्क लगायत स्नायु प्रणालीका अङ्ग विद्युतीय तरङ्ग जस्तो प्रतिक्रियाबाट चल्छन्। शरीरका विभिन्न अङ्ग चल्दा पनि फरक फरक विद्युतीय सङ्केतले काम गरेको हुन्छ। शरीर सञ्चालन गर्ने वा रोक्ने ती विद्युतीय तरङ्ग सन्तुलित रूपमा रहेका हुन्छन्।
कहिलेकाहीं विविध कारणले त्यो सन्तुलन गुम्छ। त्यति वेला मान्छे बेहोश भएर ढल्ने, शरीरमा झट्का लागे जस्तो हुने, शरीर कस्सिने, मूच्र्छा पर्ने, झस्कने, ऐंठन हुने लगायत समस्या देखिन्छन्। त्यसलाई नै छारे रोग वा मिर्गी भनिन्छ।
छारे रोग भन्ने बित्तिकै हात तथा जिउ काँप्ने, मूच्र्छा पर्ने, दिसापिसाब निस्कने, मुखबाट फिंज आउने, जिब्रो टोक्ने, आँखा झिम्क्याउने जस्ता समस्या देखिने गरेको आम बुझाइ छ। यसका अतिरिक्त मस्तिष्कमा आउने तरङ्गको प्रतिक्रियाले शारीरिक वा मानसिक रूपमा असमान्य बनाउँछ।
त्यस्तै, छारे रोग हुँदा व्यक्ति अनुसार फरक फरक लक्षण देखिन सक्छन्। कसैको हात मात्र काँप्छ, कोही हाँस्ने गर्छन्, कसैको टाउको झुम्म हुन्छ, कोही टोलाइरहन्छन्। बिर्सने समस्या बढ्दै जाने, मुडी तथा रिसाहा हुने लक्षणले मानिसलाई सताउँदै गएको छ भने छारे रोग हुन सक्छ।
नेपालमा चेतनाको अभाव तथा विज्ञ र उपकरणको कमीले छारे रोग पहिचान नै हुन सकेको छैन। विश्वव्यापी तथ्याङ्क हेर्दा २६ जनामध्ये एक जनालाई छारे रोग हुन्छ भनिएको छ। केही अघिसम्म प्रत्येक १० जनामध्ये १ जनालाई छारे रोग हुने तथ्याङ्क थियो।
उपचार गरियो भने छारे रोग लागेकामध्ये ७० प्रतिशत निको हुन सक्छन्। बाँकी ३० प्रतिशत बिरामीले औषधिको सेवनबाट रोगलाई नियन्त्रणमा राख्न सक्छन्।
विश्व स्वास्थ्य संगठनले कुल जनसङ्ख्याको एक प्रतिशतलाई छारे रोग हुन्छ भनेको छ। त्यस आधारमा नेपालमा साढे तीन लाखभन्दा बढी छारे रोगका बिरामी रहेको अनुमान गर्न सकिन्छ।
यससँगै द लानसेट जर्नलमा प्रकाशित एक अध्ययन अनुसार, नेपालमा एक हजार जनामध्ये सात जनाभन्दा बढीमा छारे रोग रहेको जनाइएको छ। नेपालमा भने अहिलेसम्म कुनै आधिकारिक अध्ययन भएको छैन।
द लानसेट जर्नलमा प्रकाशित अध्ययनबाट पनि नेपालमा छारे रोग ठूलो जनस्वास्थ्य समस्या रहेको प्रष्ट हुन्छ। तर, नेपालमा छारे रोग भएकामध्ये ७० प्रतिशत मानिसले उपचार पाएका छैनन्। जबकि, उपचार गरियो भने छारे रोग लागेकामध्ये ७० प्रतिशत निको हुन सक्छन्। बाँकी ३० प्रतिशत बिरामीले औषधिको सेवनबाट रोगलाई नियन्त्रणमा राख्न सक्छन्। तर, यसबारे जनचेतना, विज्ञ र उपचारको सहज पहुँच छैन।
स्वास्थ्य प्रणालीले गम्भीर रूपमा नलिएको छारे रोगले व्यक्ति मात्र होइन्, परिवार तथा देशलाई नै असर गरिरहेको छ। कुनै व्यक्तिलाई छारे रोग छ भने परिवारको गुणस्तरीय जीवनमा क्रमश: असर गर्दै जान्छ। किनकि, यस्ता रोगका बिरामीलाई कुनै पेशा व्यवसाय गर्न कठिनाइ हुन्छ। बिरामीका लागि एक जना सहयोगी बस्नुपर्दा झन् आर्थिक भार थपिन्छ।
अझै पनि कतिपय ठाउँमा छारे रोगका बिरामीलाई भूत चढेको, देवीदेउता रिसाएको भनेर धामी-झाँक्रीलाई देखाउने गरिएको छ। कतिपय ठाउँमा फोहोर लुगा सुँघाउने तथा कुचोले हिर्काउने गर्छन्।
भान्सामा काम गर्दागर्दै मूच्र्छा पर्दा तातो कराई या तेलमा अनुहार डढाएको घटना पनि आएका छन्। कतिपय छारे रोगमा मानिस टोलाउने भएकाले यात्रा गर्दा दुर्घटना पनि भएका छन्।
छारे रोगबारे चेतनाको कमीले यस्ता अवैज्ञानिक उपचार भइरहेका छन्। ग्रामीण क्षेत्रका प्राथमिक स्वास्थ्य केन्द्र तथा जिल्ला अस्पतालमा रोग पहिचान गर्ने उपकरण र चिकित्सक नभएकाले पनि यसलाई बल पुगेको छ।
नेपाल फर्केपछि छारे रोगका धेरै बिरामी हेरिरहेको छु। भान्सामा काम गर्दागर्दै मूच्र्छा पर्दा तातो कराई या तेलमा अनुहार डढाएको घटना पनि आएका छन्। कतिपय छारे रोगमा मानिस टोलाउने भएकाले यात्रा गर्दा दुर्घटना पनि भएका छन्।
गर्भवती महिलालाई छारे रोग हुँदा विभिन्न दुर्घटनामा परेर गर्भको बच्चा खेर गएका घटना पनि प्रशस्तै आएका छन्। छारे रोगकै कारण कतिपय बालबालिकाको पढाइ बिग्रिएको छ। किनकि, यो रोगले शारीरिक रूपमा मात्रै होइन, मानसिक रूपमा पनि सताइरहेको हुन्छ।
परीक्षण नगरी रोग पहिचान गर्न सकिन्न। यसबारे चेतना नभएकाले धेरै समस्या पनि निम्तिएका छन्। यसबारे जनचेतना जगाउन धामी-झाँक्रीदेखि स्वास्थ्यकर्मीसम्म समन्वय गर्न आवश्यक छ। धामी-झाँक्री र स्वास्थ्यकर्मीले यस्ता समस्या उपचारबाट निको हुन्छ भनेर बुझाउन सकेमा धेरै मान्छेको रोग पहिचान गरेर उपचार गराउन सकिन्छ।
किनकि, अहिले पनि छारे रोगका धेरै बिरामीलाई भूत तथा देउता चढेको भनेर धामी-झाँक्रीकहाँ लगिन्छ। यस्ता लक्षण देखिंदा चिकित्सकहाँ पठाउनुपर्छ भन्ने धामी-झाँक्रीलाई ज्ञान भयो भने मात्रै धेरै बिरामीलाई निको बनाउन सकिन्छ।
औषधिले ठीक पार्न सकिने यस्ता रोग पहिचान गर्न राज्यले चासो दिएको छैन। जसले गर्दा छारे रोग ठुलो टाउको दुःखाइ बनेको छ।
यो रोगको पहिचान र उपचारका लागि राज्यले पनि थुप्रै काम गर्नुपर्नेछ। पहिचान गर्ने उपकरण सहजै उपलब्ध छैनन्। यो रोगबारे राज्यले नीति समेत बनाएको छैन।
यस रोगका भारतमै पनि पाउने औषधि नेपालमा चाहिं दर्ता पनि भएका छैनन्। राज्यले सहुलियत दरमा त्यस्ता औषधि उपलब्ध गराउन सके मात्रै धेरै बिरामी लाभान्वित हुन्छन्।
यस्तै, औषधिबाट निको नहुने छारे रोगलाई सर्जरीबाट निको पार्न सकिन्छ। त्यसका लागि मस्तिष्कको कुन भागबाट नचाहिने तरङ्गहरू आइरहेका छन् भन्ने पहिचान गर्नुपर्छ। त्यसपछि त्यो भाग सर्जरी गर्न मिल्ने हो कि होइन भनेर निर्क्योल गर्नुपर्छ।
मस्तिष्कका कतिपय भाग सर्जरी गर्न नमिल्ने किसिमका हुन्छन्। त्यस्तो ठाउँमा सर्जरी गर्यो भने छारे रोग निको भए पनि मान्छेको बोली बन्द हुने, कान नसुन्ने, सोच्न नसक्ने जस्ता समस्या देखिन सक्छन्। त्यसैले यसको सर्जरी जटिल हुन्छ।
औषधिले ठीक पार्न सकिने यस्ता रोग पहिचान गर्न राज्यले चासो दिएको छैन। जसले गर्दा छारे रोग ठूलो टाउको दुःखाइ बनेको छ।
(डा. अधिकारी एपिलेस्पी, न्यूरोमस्कुलर एन्ड अटोनोमिक डिसअर्डर स्पेशलिस्ट हुन्।)