टी-२० श्रृङ्खला: आज आयरल्यान्डसँग भिड्दै नेपाल
चार देशीय टी-२० श्रृङ्खला अन्तर्गत आज नेपालले तेस्रो खेल आयरल्यान्डसँग खेल्न लागेको छ।
ओमनको अल अमेरट रङ्गशालामा अपराह्न ३ः४५ बजे नेपाल र आयरल्यान्डको खेल हुनेछ। यसअघि भएका दुई–खेलमा नेपाल र आयरल्यान्डको अवस्था उस्ताउस्तै रहेको छ।
नेपालले पहिलो खेलमा ओमनलाई ६ विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा यूएईसँग २५ रनले पराजित भएको थियो। आयरल्यान्डले पनि ओमानलाई हराएको थियो भने यूएईसँग पराजित भएको थियो।
अहिलेसम्म भएका दुई देशबीचका खेलमा भने आयरल्यान्डले नै जितेको छ। नेपाल र आयरल्यान्डबीच भएका दुई वटा टी-२० खेलमा दुवै खेल आइरल्यान्डले जितेको थियो।
ओमानमा हुन लागेको टी-२० विश्वकपको ग्लोबल क्वालिफायरअघि चार देशीय श्रृङ्खला चलिरहेको छ। यो श्रृङ्खला सकिए लगत्तै टी-२० विश्वकपको ग्लोबल क्वालिफायर शुरू हुनेछ। जसमा नेपाल सहित ओमान, फिलिपिन्स, क्यानाडा, यूएई, बहराइन, आयरल्यान्ड र जर्मनी छन्।
समूह ‘ए’ मा रहेको नेपालले क्यानाडा, फिलिपिन्स र ओमानसँग प्रतिस्पर्धा गर्नेछ। प्रतियोगिताका शीर्ष दुई टोली १६ अक्टोबरदेखि १३ नोभेम्बरसम्म अस्ट्रेलियामा हुने टी-२० विश्वकपका लागि छनोट हुनेछन्।
नेपालले पहिलो खेल ६ फागुनमा ओमानसँग खेल्नेछ। त्यसपछि ७ फागुनमा फिलिपिन्ससँग र ९ फागुनमा क्यानाडासँग खेल्नेछ।