महाअभियोग न्यायपालिका र लोकतन्त्र विरुद्धको षड्यन्त्र भएको ठहर गर्दै प्रतिवाद गर्ने एमालेको निर्णय
नेकपा (एमाले) ले सत्तारूढ गठबन्धनका सांसदहरूले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा विरुद्ध लगाएको महाअभियोग न्यायपालिका र लोकतन्त्र विरुद्धको षड्यन्त्रपूर्ण कदम भएको निष्कर्ष निकालेको छ।
नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) का सांसदहरूले आइतबार जबरा विरुद्ध महाअभियोग लगाएपछि बसेको एमाले केन्द्रीय सचिवालयको आकस्मिक बैठकले यस्तो निर्णय गरेको हो।
एमाले अध्यक्ष केपी शर्मा ओली निवास भक्तपुरमा बसेको बैठकले महाअभियोगको प्रतिवाद गर्ने र जनतालाई यसको विपक्षमा उभिन आग्रह गर्ने निर्णय गरेको एमाले महासचिव शंकर पोखरेलले जानकारी दिए।
बैठकपछि उनले भने, “यो न्यायपालिका र लोकतन्त्र विरुद्धको षड्यन्त्रपूर्ण कदम हो, महाअभियोगको प्रतिवाद गर्छौं र र जनतालाई यसको विपक्षमा उभिन आग्रह समेत गर्दछौं।”
महाअभियोगपछि विकसित घटनाक्रमका विषयमा छलफल गर्न एमालेले सोमबार बिहान ११ बजे संसदीय दलको बैठक बोलाएको छ।