न्याय प्रक्रियामा देखिएको अवरोध हटाउन महाअभियोग: कांग्रेस
नेपाली कांग्रेसले न्याय प्रक्रियामा देखिएको अवरोध हटाउन सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरामाथि महाअभियोग लगाएको जनाएको छ।
आइतबार जबरा विरुद्ध महाअभियोग दर्ता गरे लगत्तै बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकपछि कांग्रेस प्रवक्ता प्रकाशशरण महतले भने, “न्याय प्रक्रियामा देखिएको अवरोध र अड्चन हटाउन संघीय सांसदहरूले महाअभियोग प्रस्ताव ल्याएका हुन्।”
महाअभियोगको विषयमा पार्टीमा भने कुनै छलफल नभएको महतले जानकारी दिए। उनका अनुसार, सांसदहरूले आफूले पाएको कानूनी अधिकार प्रयोग गरेर महाअभियोग प्रस्ताव ल्याएका हुन्।
कानून, न्याय तथा संसदीय मामिला मन्त्री दिलेम्द्रप्रसाद बडूले कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठकमा महाअभियोग प्रस्तावबारे औपचारिक जानकारी दिएका थिए।
आजको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, सहमहामन्त्रीहरू फरमुल्लाह मन्सुर, उमाकान्त चौधरी, महालक्ष्मी उपाध्याय 'डिना', भीष्मराज आङ्दम्बे, महेन्द्र यादव, किशोरसिंह राठौर, बद्री पाण्डे, जीवन परियार र सदस्यहरू विमलेन्द्र निधि, प्रकाशशरण महत, ज्ञानेन्द्रबहादुर कार्की, उमा रेग्मी र एनपी साउँदले आ-आफ्नो धारणा राखेका थिए।
कार्य सम्पादन समितिको अर्को बैठक ३ फागुन दिउँसो ३ बजे बस्ने कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।