स्थानीय चुनावमा एक करोड ७९ लाख मतदाता
स्थानीय तहको निर्वाचनमा एक करोड ७९ लाख मतदाताले मतदान गर्न पाउने भएका छन्।
निर्वाचन आयोगले आइतबार पत्रकार सम्मेलन गरी स्थानीय तहको निर्वाचनमा एक करोड ७९ लाख मतदाता हुने बताएको हो। पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भने, “आगामी २९ वैशाखमा १८ वर्ष उमेर पुग्ने दिनलाई तोकिएको मिति मान्दा एक करोड ७९ लाख मतदाता कायम हुने अनुमान छ।”
आयोगका अनुसार, निर्वाचनमा १८ वर्ष उमेर पुग्ने दिन २९ वैशाख अर्थात् निर्वाचन हुने दिनभन्दा ठीक अघिल्लो दिनलाई आधार मान्ने गरी निर्दिष्ट मिति निर्धारण गरिएको छ। यो व्यवस्थाले करीब थप दुई लाख युवाले आफ्नो मताधिकार प्रयोग गर्न पाउने सुनिश्चित भएको आयोगले जनाएको छ।
निर्वाचनको व्यवस्थापकीय कार्य गर्न आयोगलाई १२० दिन आवश्यक भए पनि मिति घोषणा गर्दा ९५ दिनको अवधि प्राप्त थियो। आयोगको प्रत्यक्ष रेखदेख, नियन्त्रण, सुपरिवेक्षण र निर्देशनमा रही बालिग मताधिकारका आधारमा हुने निर्वाचनका लागि १८ वर्ष उमेर पूरा गरेको नेपाली नागरिकको नाम मतदाता नामावलीमा समावेश गरी मतदाता हुन पाउने अधिकारको सुनिश्चितता गरिएको जनाएको छ।
मतदाता नामावली सङ्कलन नियमित रूपमा हुँदै आएकामा निर्वाचन मिति घोषणा भइसकेपछि मतदाता नामावलीमा नाम दर्ता गर्ने कार्य गत २५ पुसमा नै स्थगन भएको छ। सरकारले आगामी ३० वैशाखमा निर्वाचन गर्ने घोषणा गरिसकेको छ।
अहिले आयोगले अन्तिम मतदाता नामावली तयारी गर्ने, सामग्रीको व्यवस्थापन गर्ने, राजनीतिक दल दर्ता गर्ने, मतदाता शिक्षा सामग्री तयारी तथा कार्यक्रम सञ्चालन गर्ने, निर्वाचन कार्यक्रम तयारी गरी प्रकाशन गर्ने, निर्वाचन अधिकृतको नियुक्ति र कार्यालय स्थापना गर्ने, निर्वाचन आचारसंहिता लागू गर्ने लगायत क्रियाकलाप भइरहेको जनाएको छ।
निर्वाचन व्यवस्थापनका लागि आवश्यक पर्ने बजेटको तयारी अन्तिम चरणमा पुगेको छ। निर्वाचनका लागि करीब १२ अर्ब बजेट आवश्यक हुने अनुमान गरिएको प्रवक्ता पौडेलले जानकारी दिए।
आयोगले आजदेखि दैनिक पत्रकार सम्मेलन गर्ने भएको छ। यससँगै दैनिक निर्वाचन इ-बुलेटिन प्रकाशन गर्ने भएको छ।