न्यायालयको विवाद अन्त्य गर्न महाअभियोग : दाहाल
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले न्यायालयमा देखिएको विकृति र विसङ्गति हटाउन प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा विरुद्ध महाअभियोगको प्रस्ताव दर्ता गरिएको बताएका छन्।
आइतबार जनकपुरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष दाहालले निकै लामो समयदेखि अदालतमा विवाद देखिएको उल्लेख गरे। गठबन्धनले विवादको समाधान गर्न पटक पटक प्रधानन्यायाधीश जबरालाई आग्रह गर्दा पनि चासो नदिएको उनको भनाइ थियो।
न्यायालयको विवाद समाधान नभएपछि बाध्य भएर महाअभियोग प्रस्ताव दर्ता गर्नुपरेको उनले बताए। “सर्वोच्च अदालतमा कानून व्यवसायीले आन्दोलन गरिरहेका छन्। प्रधानन्यायाधीशले आफैं अग्रसरता लिएर विवाद समाधान र मार्गप्रशस्त गर्नुपर्ने हो, तर त्यो नगरेपछि बाध्य भएर महाअभियोग प्रस्ताव ल्याइएको हो,” अध्यक्ष दाहालले भने।
महाअभियोग प्रस्तावलाई लिएर गठबन्धन दलमा कुनै पनि प्रकारको मतभिन्नता नरहेको दाहालको भनाइ थियो। सत्तारूढ गठबन्धन दलको बैठक बसेर महाअभियोग प्रस्ताव ल्याउने निष्कर्ष निकालेको दाहालले बताए। “न्यायालयको विवादलाई समाधान गर्ने एक मात्रै विकल्प महाअभियोग थियो,” दाहालले भने।
जनकपुरमा आयोजित ‘जनयुद्ध दिवस’ कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले अहिले पनि परिवर्तनलाई उल्ट्याउने षडयन्त्र भइरहेको बताए। अहिले प्राप्त भएका परिवर्तनलाई जोगाउन सबै एकजुट हुनुपर्ने उनको भनाइ थियो।