उड्डयन प्राधिकरणका महानिर्देशक क्षेत्रीलाई नहटाउन सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश
सर्वोच्च अदालतले राजकुमार क्षेत्रीलाई नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक पदबाट अवकाश दिने निर्णय तत्कालका लागि कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ।
न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले आइतबार अल्पकालीन अन्तरिम आदेश दिएको हो। क्षेत्रीलाई महानिर्देशकबाट अनिवार्य अवकाश दिने प्राधिकरणको निर्णय ९ फागुनसम्म कार्यान्वयन नगर्न भनिएको छ।
अदालतले ९ फागुनमा अन्तरिम आदेश जारी गर्ने वा नगर्ने छलफलका लागि दुवै पक्षलाई बोलाएको छ। आफूलाई सरकारले ४ वर्षका लागि प्राधिकरणको महानिर्देशक बनाएको जिकिर गर्दै क्षेत्री अवकाशको निर्णय विरुद्ध उत्प्रेषणको आदेश माग्दै सर्वोच्च पुगेका थिए।
सरकारले प्राधिकरणको महानिर्देशकमा प्रदीप अधिकारीलाई नियुक्त गरिसकेको छ।
क्षेत्रीले उमेर हदका कारण अवकाश पाएका थिए। तर, नागरिक उड्डयन प्राधिकरण ऐनमा महानिर्देशकको उमेर हदका विषयमा केही उल्लेख नभएको दाबी गर्दै उनले सर्वोच्चमा रिट दायर गरेका थिए।