किन मारिए लहानु थारूहरू?
१ फागुन २०५२ बाट शुरू भएको दशक लामो द्वन्द्वकालमा समाजको ठूलो हिस्साले वियोग, यातना र पीडा भोग्यो। तर, बृहत्तर समाजले यसलाई आफ्नो पनि पीडा किन ठानेन? समानुभूति किन राखेन?
१ माघ २०६३।
माघीको उल्लासमा छ पूरै थरुहट। बर्दियाको बाँसगढी नगरपालिका-६ मा पर्ने सानो थारू बस्ती दमौली पनि मानौं विगतका सारा दुःख र तनाव बिर्सेर पर्वको बहानामा खुशी हुने प्रयत्न गर्दै छ। कमैया मुक्तिपछि अधिकांश थारूका लागि माघीको अर्थ फेरिएको छ।
माघीको स्वागतमा घरआँगन र बाटो सफा गरिएका छन्। सबैजसो घरका प्रवेशद्वारमा राखिएका फूलपाती सहितका ससाना घडाले गाउँको रूप नै फेरिदिएको छ। मघौटा गीतका भाका गुन्जिएका छन्। कुहिरो लागेकाले बस्तीको टाढा टाढासम्म देखिंदैन, तर यस्तो लाग्छ, टोल उज्यालो र जीवन्त बनेको छ।
सबै थारू माघीमा मग्न भइरहँदा त्यही बस्तीको एक कुनामा बस्ने कालीप्रसाद र बुधानी थारूको भने न घरमा उज्यालो छ न त मनमै। सारा थारू देश हर्ष र उल्लासमा रमाइरहेको समयमा पनि कालीप्रसाद र बुधानी पीडामा छन्।
आज उनीहरूको छोरा लहानुको जन्मदिन। छोरा साथमै भइदिएको भए कति खुशी हुन्थे होलान् यो दम्पती। उनीहरूको पहिलेका बच्चा बाँचेनन्, माघीमा दाङको डहुवा तालमा नुहाएपछि जन्मेको हुनाले सबैले लहानु नाम राख भने। उसको नाम लहानु राखियो। माघीका दिन सबेरै स्नान गर्दा पुण्य हुन्छ भन्छन् थारूहरू। दाङको बाह्रकुने तालमा माघीका दिन निःसन्तानहरूले स्नान गरे सन्तान प्राप्ति हुने लोकविश्वास छ।
“आईसीआरसी गएँ, इन्सेक पनि गएँ। मानव अधिकारका मान्छेले खोज्दै छौं भन्थे, अरू केही बताउँदैनथे। अनेक कुरा सोध्थे, लेख्थे, तर आफ्नो छोराको न सासको पत्ता लागेको छ, न त लाशको।”
लहानुको आगमनले कालीप्रसादको परिवारमा अपार खुशी भित्र्याएको थियो। परिवारको भरोसा बनेका २४ वर्ष लाग्दै गरेका उनका छोरा द्वन्द्वको भुमरीमा बेपत्ता बनाइए। उनीहरूको खुशी लुटिन पुग्यो।
कुरा १६ भदौ २०५९ को हो। त्यो वर्ष सुक्खा लागेकाले खेती राम्रो भएन। जेजति छ खेतीको काम सकेर टोलका लगभग एकै उमेरका १५ युवा कमाउन भारत जाने भए। उनीहरू प्रायःजसो केही महीना मजदूरी गर्न भारतको उत्तराखण्ड जान्थे। खेती लगाएर भदौमा गएपछि माघी मान्न आउँछन्। माघी मानेर गएपछि वर्षा याममा खेती लगाउन फेरि फर्कन्छन्।
त्यो वर्ष पनि माघीमा फर्कने वाचा सहित केटाहरू घरबाट बिदा भएर हिंडे। लहानु चाहिं पहिलो पटक मजदूरी गर्न भारत जाँदै थिए। धान भित्र्याउने वेला फर्कने उनको योजना थियो।
भर्खरका युवाहरूलाई घरपरिवार छोडेर हिंड्नुपर्दाको पीडा त छँदै थियो, तर गाउँमा बस्ने वातावरण पनि थिएन। उनीहरूलाई आफ्नो ठाउँ छोड्नुपर्ने दोहोरो बाध्यता थियो- कमाउन र ज्यान जोगाउन। माओवादी सशस्त्र द्वन्द्व उत्कर्षमा रहेको त्यस वेला गाउँमा हुर्केबढेका केटाहरू सधैं त्रासमा हुन्थे। एकातिर माओवादीले तान्लान् भन्ने डर, अर्कातिर सेनाले हान्लान् भन्ने डर। तर, उनीहरू हिंडेको भोलिपल्ट गाउँमा खबर आयो- ‘दमौलीका केटाहरूलाई पक्रेर रम्भापुर ब्यारेकमा राखेको छ।’
बाँसगढीबाट सार्वजनिक बसमा जाँदा आधा घण्टामै पुगिन्छ रम्भापुर। कालीप्रसाद अन्य केहीको साथ लागेर भोलिपल्ट नै गए। वरपरका मानिसलाई सोध्दा ‘चिसापानी लगे’ भने। उनको मनमा चिसो पस्यो। उनी चिसापानीतिर हान्निए। त्यस ताका बाँकेको चिसापानी ब्यारेक आतङ्कको विम्ब बनेको थियो। उनलाई चिसापानी ब्यारेकभित्र जान दिएनन्। केही खबर पनि पाएनन्। मानिसहरूले ‘उल्टै तँलाई पनि पिट्लान्, पक्रेलान्’ भने। कालीप्रसाद डराए। सेनाले विना कारण सर्वसाधारणलाई पक्रने, बेपत्ता पार्ने समाचार बाक्लै सुनेका उनी डराउनु स्वाभाविक थियो।
बर्दिया त्यो जिल्ला थियो, जहाँबाट द्वन्द्वकालमा सबैभन्दा धेरै मानिस बेपत्ता पारिएका थिए। अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले सन् २०११ मा प्रकाशन गरेको विवरण अनुसार, दशक लामो द्वन्द्वकालमा बर्दियाबाट मात्र २१९ जना बेपत्ता भएका थिए जसमध्ये २०६ जना राज्य पक्षले बेपत्ता पारेको थियो।
तथ्याङ्कमा नअटाएका अरू पनि थुप्रै बेपत्ता थिए। आधाभन्दा बढी जनसङ्ख्या थारूको भएको बर्दियामा बेपत्ता पारिएकामध्ये ८५ प्रतिशत थारू नै थिए।
२०५८ सालमा शान्तिवार्ता भङ्ग भएपछि बेपत्ता पारिने क्रम ह्वात्तै बढेको थियो। २०५९ मा मात्र २८५ जना बेपत्ता पारिएका थिए, जुन १० वर्षे अवधिको सबैभन्दा धेरै हो।
छोरा बेपत्ता पारिएपछि कालीप्रसादका अन्तहीन दुःखका दिन शुरू भए। छोराको अवस्था पत्ता लगाउन उनी विभिन्न ठाउँमा भौंतारिन थाले। उनी नेपालगञ्ज पुगे। मानव अधिकारवादी संस्थाहरूमा धाए। हारगुहार गरे। तर, पत्ता लाग्ने छेकछन्द नदेखिएपछि उनी निराश हुँदै गए।
“आईसीआरसी गएँ, इन्सेक पनि गएँ। मानव अधिकारका मान्छेले खोज्दै छौं भन्थे, अरू केही बताउँदैनथे,” हामीसँग उनले भनेका थिए, “अनेक कुरा सोध्थे, लेख्थे, तर आफ्नो छोराको न सासको पत्ता लागेको छ, न त लाशको।”
“उसको उमेरका केटाहरू देख्दा छटपटिन्छु। दिनमा मान्छेहरूसँग गफगाफ गर्दा, काममा व्यस्त हुँदा त ठीकै हुन्छ, राति सुत्ने वेला चाहिं छोराकै सम्झना आइहाल्छ”
यता सेना घर खानतलासी गर्न आयो। घरभित्रका कुनाकानी चहारे, डेहरी, भौंका खोतलखातल पारे। सैनिकहरूले केही बोल्न र सोध्न दिएनन्, गाली मात्र गरे। “हतियार कहाँ लुकाएको छ भने। छोराले पढेका किताबहरूलाई लात्ताले भकुन्डो हाने। म बूढालाई तँ यता आइज, यसो गर उसो गर भनेर हैरान पारे,” छोरा हराएको चार वर्षपछि उनी सम्झिँदै थिए, “छोरालाई त मारिसक्नुभो, मलाई मार्न के गाह्रो छ र, भुट्दिनुस्। घर पूरै खनेर हतियार खोज्नुस्।”
सैनिकहरू बोलेनन्। त्यसपछि कहिल्यै आएनन्। त्यसपछि कालीप्रसादले छोराका जम्मै किताब जलाइदिए, ती किताब देख्दा सम्झनाले पोल्यो भनेर। यति कुरा हामीलाई बताउँदा उनका आँखा भरिइसकेका थिए।
छोरा जन्मिएको १ माघको समयले उनलाई विगतमा पुर्याउँथ्यो र यादले पीडा थप्थ्यो। “छोरा पाइस् नाच ल्याऊ भने, मैले नाच लाएँ, रातभरि नचाएँ। खुशीयाली ख्वाऊ भने, खुशीयाली पनि खुवाएँ,” उनले सम्झ्एि, “यो ठाउँमा आउँदा कलिलै थियो। बोकेर लगेर विद्यालयमा भर्ना गराएँ। कक्षा पाँचमा पढ्दापढ्दै विवाह गरिदिएँ। टेस्टसम्म पास गर्यो, एसएलसीमा दुई विषय कटाउन सकेन। ककौराको स्कूलमा एक्लै जान्थ्यो हिंडेरै। साइकल थिएन, केही थिएन। बूढी त एकदमै रोइरहन्छे। मैले भन्छु, रोएर पनि छोरा त आउनेछैन।”
आमाबाबुको मन न हो कहाँ मान्थ्यो र ! माघीमा अरूका छोराछोरी रमाइलो गरिरहेको देखेर आफ्नो छोरा भएको भए यस्तै गर्थ्यो होला भनेर कालीप्रसाद र बुधानी कल्पनामा हराउँछन्। “उसको उमेरका केटाहरू देख्दा छटपटिन्छु। दिनमा मान्छेहरूसँग गफगाफ गर्दा, काममा व्यस्त हुँदा त ठीकै हुन्छ, राति सुत्ने वेला चाहिं छोराकै सम्झना आइहाल्छ,” कालीप्रसादले भने, “नदेखे, नसुनेपछि के गरे, बाँचेको छ कि मारिसके थाहै छैन। मार्यो जस्तो पनि लाग्छ।”
यति सुनाउँदै गर्दा एकछिन कालीप्रसाद कता कता हराए जस्ता हुन्छन् र भन्छन्, “खाँदा भात भित्रै जाँदैन। एक अम्खोरा पानी लिएर र थोरै भात जेनतेन कलेजोलाई टेको लाउन मात्र खान्छु। हुन त सधैंभरि चिन्ता गरेर गुजारा चल्दैन क्यारे।”
एक दिन मानव अधिकारवादी कालीप्रसादको घरमा आए। उनीसँग एकान्तमा कुरा गर्न खोजे। उनले मानेनन्। छोरा बाँचेको वा मरेको जे कुरा भए पनि बताइदिन भने। त्यसपछि बल्ल ती व्यक्तिले सुनाए, ‘लहानुलाई ठाकुरद्वारा भिडन्तमा मारे रे।’
“पछि एक चोटि फलाना फलाना मारिए भनेर नामै किटेर रेडियोले फुक्यो। मेरो छोराको पनि नाम लिएर भिडन्तमा मारिए भन्यो। कहाँ गएको थियो होला भिडन्त गर्न ऊ। एउटा कलमसम्म लगेको थिएन मेरो छोराले,” कालीप्रसाद भन्दै थिए।
सत्यताको कुनै आधार नै नभएको खबर पत्याउने कुरै भएन। तर, कसलाई भनेर के हुन्थ्यो र !
वास्तविकता भने यस्तो थियो।
टेंगनु तिनै १५ जनामध्ये एक थिए, जो उक्त दिन रम्भापुरमा लहानुसँगै पक्राउ परेका थिए। उनले हामीलाई बताएको वृत्तान्त यस्तो थियो।
“जाजरकोटको ठेकेदारले यहाँ आएर मजुरीका लागि मान्छे खोजेको थियो। हामी बसमा जाँदै थियौं। रम्भापुर पुगेर इन्ट्री गर्न लाइन लागेको वेला सेनाहरूको दिमागमा खै के विचार आयो, बसमा बस्न भने। त्यसपछि गाडी साइड लगाए। एउटा जीप आयो। त्यसपछि हामीलाई बसबाट उत्रिन भने। लाइन लगाएर हामी ठूल्ठूलालाई छानेर त्यही ब्यारेकमा लगे। १५÷१६ जनामध्ये हामी अलि ठूला सात जनालाई छाने।”
समय यस्तो थियो, राज्य पक्ष होस् या माओवादीको ज्यादतीका कुनै सीमा र स्वरूप थिएन।
टेंगनुले त्यस त्रासदकालीन वृत्तान्त सुनाए, “त्यही गेटमा गाडी ल्याए। त्यसमा हामीलाई घोप्टो पारेर सुताए, माथिबाट कम्बलले छोपेर त्यसमाथि उनीहरू बसे। त्यहाँबाट सीधै चिसापानी (ब्यारेक) पुर्याए। त्यहाँ नाम टिपे। आँखामा पट्टी बाँधे, अनि एक एक जनालाई लगेर कुटपिट गरे। कबोल गराए- कहाँ जान लाग्यौ? कहाँका हौ? के गर्छौ? तिमीहरू माओवादी हौ, यो हौ त्यो हौ भनेर। थारूहरू जति सबै माओवादी हौ भने।”
थारूहरूलाई इतिहासले अन्याय गरेको त थियो नै, वर्तमानले पनि दुःख दिन र सताउन छोडेन। इतिहासमा भएको अन्याय र अत्याचारको क्षतिपूर्ति त बहसमै छैन।
त्यति वेलाको यातना बयान गर्दा टेंगनुको जिउ अहिले पनि सिरिङ्ग हुन्छ रे। “मोटो पाइपले पिट्थे। खुट्टा पसार्न लगाएर पैतालामा हिर्काउँथे। पहिला पिट्थे, त्यसपछि मात्रै सोधपुछ गर्थे। जहिले पनि सोधपुछ गर्दा पिट्थे। ‘तिमीहरूको बाँच्ने इच्छा भए माओवादी हौं भन, होइन भन्यौ भने मार्छौं’ भन्थे। भात खाने वेला बाहेक सधैं आँखामा पट्टी बाँधिएको हुन्थ्यो। हात पछाडि लगेर रातभरि हतकडी लगाइदिन्थे। सुत्नै मिल्दैनथ्यो। हात टनटनी दुख्थ्यो।”
टेंगनु चरम यातनाका ती त्रासद दिन गन्ती गर्छन्, “मलाई लगभग एक महीना ६ दिन राखे। त्यसपछि छोडिदिए। दशैं आउन १० दिन बाँकी हुँदा म छुटेको थिएँ। त्यहाँ आफ्नो मान्छे थिए। तारिखमा छोडेका थिए। पछि माघ २७ गते (२०५९) मात्र तारिख टुट्यो।”
द्वन्द्वकालको पछिल्लो अवधिमा सैनिक ब्यारेकहरू यातनागृह जस्ता थिए। ब्यारेकभित्रका दिन सम्झँदै टेंगनुले सुनाए, “ब्यारेकमा कहाँ कहाँका धेरै मान्छे ल्याइएका थिए। हाम्रो आँखामा पट्टी बाँधेको थियो। साथीहरूले बोलेको सुनिन्थ्यो। दोस्रो दिनको बिहान छुट्टाछुट्टै घरमा लगे। उनीहरूलाई कुन्नि कतातिर राखेको थियो, दिसापिसाब गराउँदा देखादेख हुन्थ्यो। बोल्न पाइँदैनथ्यो। त्यसपछि सात दिनसम्म सँगसँगै बस्यौं। सात दिनमा अरू ६ जना बेपत्ता भए। त्यहाँबाट निकालेर लगेका थिए। एकछिनपछि जङ्गलतिरबाट आवाज आयो। १९ फायर भयो, मैले कोठामा मनमनै गन्ती गरिरहेको थिएँ। साथीहरूलाई देख्न छाडेपछि त्यसैमा परे कि क्या हो भनेर शङ्का भयो। त्यो दिनदेखि उनीहरू देखिएनन् पनि।”
हामीलाई पीडितको आँसुको साक्षी बस्न मात्र पनि कति कठिन भइरहेको थियो। उनीहरूको भोगाइ कति असह्य थियो त्यो हाम्रो अनुमान बाहिरको कुरा थियो।
अबका दिनमा कालीप्रसाद र बुधानीको भरोसा भनेका बुहारी र हुर्किरहेका दुई नातिनी, एक नाति हुन्। “बुहारी र नातिनातिनाका मुख हेरेर बाँचेका छौं। उनीहरूलाई हाम्रो भर, हामीलाई उनीहरूको,” यति भनेर कालीप्रसाद शून्य भावमा आकाशतिर हेर्छन् र लामो सास फेर्छन्।
कालीप्रसादको परिवारलाई आफ्नो थोरै खेतको उब्जनीले मात्र खान पुग्दैन, त्यसैले अधियाँ गरेका छन्। “धान-चामल किन्नुपरेको छैन। म बूढाले बरबटैया गरेर भए पनि केटाकेटी पालेकै छु।”
तर, अब उनी धेरै खेती गर्न सक्ने अवस्थामा छैनन्। यसैले अबका समयमा अधियाँ गर्न पाइने हो कि होइन भन्ने चिन्ता छ। बुधानीलाई लाग्छ, यति वेला जवान छोरा भइदिएको भए खेती धेरै गर्न सकिन्थ्यो। बिक्री गर्दा अलि अलि पैसा आउँथ्यो।
उनीहरू वेलावेलामा अब छोरो छैन भन्ने नै बिर्सन्छन्। जवान छोरो कमाउन भनेर घरबाट निस्किएको थियो, अब ऊ छैन भनेर विश्वास पनि कसरी हुनु ! बुधानी भन्छिन्, “आउँछ जस्तो लाग्छ। मरेको भए त सपनामा नदेख्नुपर्ने। सास बाँकी छ कतै जस्तो लाग्छ।”
तर, नपत्याउनु पनि कसरी? कालीप्रसाद भन्छन्, “मारे होलान्। नत्र त कतै न कतैबाट केही खबर, चिठीसिठी आउनुपर्ने। २०५९ सालपछि यतिका वर्ष बितिसक्यो। पक्कै उसलाई मारे। नखाएको विष पनि लाग्यो, गरीब थारू भएकै कारण ऊ मर्यो।”
यति भनेर टोलाउँदै आकाशतिर हेरे। शायद आँसु नझरोस् भनेर माथि हेरे। “धेरै छोरा भए त एउटा गए पनि माटो दिने अरू छन् भनेर चित्त बुझाउन हुन्थ्यो। मेरो त माटो दिने पनि कोही छैन। त्यसैले एकदमै दुःख लाग्छ,” यति भनिसकेपछि भने उनले आँसु लुकाउन सकेनन्।
हामीले यी कथा उनीहरूको छोरा बेपत्ता भएको चार वर्षपछि अर्थात् २०६३ सालको माघमा सुनिरहेका थियौं। त्यस वेला उनीहरूका मनको चोट ताजै थियो।
माघ २०७८।
बर्दिया बाँसगढी जाने तयारी गर्दै थिएँ, कोभिड-१९ को सङ्क्रमण फैलिन थालेकाले यात्रा सम्भव भएन। थुप्रै पटक पुगेको र घुमेको त्यस क्षेत्रमा ममा एक खालको लगाव छ। त्यसैले होला, विगतका स्मृतिहरूले एकतमासले सताइरहे। कालीप्रसाद र बुधानी थारूको शोकमग्न ती दिन र व्यथा बारम्बार याद आइरहे। पहिले जाँदाका टिपोटहरू हेरें, यादहरू झन् गाढा बने। आफैं बाँचेको समयमा के के नमिलेको जस्तो लागिरह्यो। त्यति वेला माओवादी युद्धरत थियो, नेपाली कांगे्रस सरकारमा। र, लहानुहरू थिए दुवैले थापेका धरापमा। आज संयोगवश कांग्रेस र माओवादी दुवै सरकारमा छन्।
लहानुहरू विना कसूर बेपत्ता पारिए, मारिए, कोही जवाफदेही हुनुपरेन। राष्ट्रिय, अन्तर्राष्ट्रिय मानव अधिकारवादी सङ्घसंस्थाहरूले थुप्रै प्रतिवेदन तयार गरे, सरकारले आयोग बनायो। मानौं ती सबै केवल समय अनुसारका कर्मकाण्ड थिए।
यो त एक प्रतिनिधि घटना मात्र थियो। सिङ्गो थरुहट यस्ता अनेकौं घटनाले थिलथिलो भएको छ, भित्रभित्रै भक्कानिएको छ।
कालीप्रसाद केही वर्षअघि बिते। उनलाई माटो दिने छोरा उनीसँग थिएनन्। लहानुका दुई छोरीको बिहे भइसक्यो। बाबु बेपत्ता पारिंदाका काखे बालक लहानुका छोरा जवान भइसके। परिवारमा अहिले बुधानी, बुहारी कमला र नाति ईश्वर छन्।
उनीहरूले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले दिएको एक-एक थान परिचयपत्र जतनले राखेका छन्। लहानु बाँसगढी नगरपालिकाको अभिलेखमा शहीदहरूको सूचीमा सूचीकृत छन्।
हाम्रा राज्य, दल र समाज इतिहास बिर्सिन अभ्यस्त छन्, तसर्थ यी भविष्यमुखी पनि छैनन्। इतिहासबाट पाठ सिक्नेले मात्र भविष्यको बाटो कोर्न सक्छ। इतिहास नै बिर्सनेले न त्यसबाट पाठ सिक्छन्, न त भविष्यको तयारी वा आकलन गर्ने सामथ्र्य नै राख्छन्। उनीहरू गतिहीन वर्तमान बाँच्छन्। विगत बिर्सनेसँग भविष्यका लागि पनि आशावादी बन्न सकिँदैन।
आज थुप्रै द्वन्द्वपीडित इतिहास बिर्सने नियतको परिणाम भोग्दै छन्। त्यो पीडा उनीहरूको मात्र नहुनुपर्ने थियो। पीडाका कारण उनीहरू थिएनन्। त्यो पीडा हाम्रो इतिहासको उपज थियो या वर्तमान संरचनाको? नेपाली मानवशास्त्र वा सिङ्गो समाज विज्ञान क्रूरता, यातना, घात, शोक र पीडाको बारेमा बुझ्न असफल रहे झैं लाग्छ। यसले समाजको भित्री गर्तमा के भइरहेको छ भनेर के बुझोस् ! यो हाम्रो सामूहिक असफलता हो।
द्वन्द्वकालमै एक वा अर्को सन्दर्भमा द्वन्द्वका घात, जटिल र बहुआयामिक परिणाम देखेको, सुनेको छु। तिनका सामाजिक, सांस्कृतिक क्षतिबारे अध्ययन गर्न पश्चिम कैलालीदेखि पूर्व संखुवासभासम्म पुगेको पनि छु। द्वन्द्वकालका अनगन्ती पीडा, पराक्रम र पश्चात्तापका कथाहरू सुनियो, पढियो। चाहे माओवादीका नाममा वा विरोधीका नाममा जसले जति यातना र पीडा भोगे, तिनमा कतै न कतै समानुभूति थियो।
द्वन्द्वकालको घातका कारण समाजको ठूलो हिस्सा पीडामा थियो, अझै पनि छ। तर, बृहत्तर समाजले यसलाई आफ्नो पनि पीडा किन ठानेन? समानुभूति किन राख्न सकेन? यदि थियो भने त्यस्तो समानुभूति कसरी अभिव्यक्त भइरहेको थियो र छ? यी प्रश्नले हामीलाई बिथोल्नुपर्ने होइन र?
(ढकाल मानवशास्त्री हुन्। हिमालको २०७८ फागुन अंकबाट।)