सभामुख र राष्ट्रिय सभा अध्यक्षमध्ये एक जना महिला हुनै पर्ने व्यवस्था गर्न माग
राष्ट्रिय सभाकी उपाध्यक्ष तथा सातै प्रदेश सभाका उपसभामुखहरूले प्रतिनिधि सभाका सभामुख र राष्ट्रिय सभा अध्यक्षमध्ये एक जना महिला बनाउनै पर्ने संवैधानिक व्यवस्था गर्न माग गरेका छन्।
राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर उनीहरूले यस्तो माग राखेका हुन्। धुलिखेलमा माघको अन्तिम साता सम्पन्न ‘राष्ट्रिय सभाका उपाध्यक्ष र प्रदेश सभाका उपसभामुखहरू बीचको अन्तरक्रिया एवं अनुभव आदानप्रदान कार्यक्रम’ पछि उनीहरूलाई राष्ट्रपति र प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाएका छन्।
ध्यानाकर्षण पत्रमा भनिएको छ, “राज्यका हरेक निकायमा लैङ्गिक समावेशीकरणलाई लागू गर्न एक तिहाइ महिलालाई सहभागी गराई संवैधानिक व्यवस्थाको पूर्ण कार्यान्वयन गरियोस्। जस्तै, संघीय संसद्मा सभामुख र राष्ट्रिय सभा अध्यक्षमा एक जना महिला हुनुपर्ने।”
यस्तै, प्रदेश सभातर्फ प्रदेश प्रमुख, मुख्यमन्त्री र प्रदेश सभाका सभामुखमध्ये एक तिहाइ महिला हुनुपर्ने र स्थानीय तहतर्फ प्रमुख र अध्यक्षमा एक तिहाइ महिला हुनुपर्ने गरी व्यवस्था गर्न माग गरिएको छ।
उनीहरूले संविधानको धारा २८४ मा रहेको संवैधानिक परिषद् सम्बन्धी व्यवस्थामा राष्ट्रिय सभा उपाध्यक्षलाई पनि समावेश गरी संविधान संशोधन गर्न समेत माग गरेका छन्।
ध्यानाकर्षण पत्र बुझाउनेहरूमा राष्ट्रिय सभाकी उपाध्यक्ष शशिकला दाहाल, प्रदेश उपसभामुखहरू प्रदेश १ की सरस्वती पोखरेल, मधेश प्रदेशकी उपमाकुमारी देव, बागमतीकी राधिका तामाङ, गण्डकीकी सिर्जना शर्मा, कर्णालीकी पुष्पा घर्ती विष्ट र सुदूरपश्चिमकी निर्मला बडाल जोशी छन्।