सभामुख सापकोटाले बोलाए सर्वदलीय बैठक
प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा विरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएपछि सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक बोलाएका छन्।
उनले सोमबार दिउँसो २ बजेका लागि सर्वदलीय बैठक बोलाएको संसद् सचिवालयले जनाएको छ। पछिल्ला राजनीतिक घटनाक्रमको विषयमा छलफलका लागि सभामुख सापकोटाले सर्वदलीय बैठक बोलाएको उनका प्रेस विज्ञ श्रीधर न्यौपानेले जानकारी दिए।
प्रधानन्यायाधीश जबरा विरुद्ध सत्तारूढ दलका सांसदले आज बिहान सिंहदरबारस्थित संसद् सचिवालयमा महाभियोगको प्रस्ताव दर्ता गराएका थिए।
नेकपा (माओवादी केन्द्र) का सांसद देवप्रसाद गुरुङ, नेपाली कांग्रेसकी पुष्पा भुसाल र नेकपा (एकीकृत समाजवादी) का जीवनराम श्रेष्ठ प्रस्तावक रहेको महाअभियोग प्रस्तावमा प्रधानन्यायाधीश जबरालाई कार्यक्षमता नभएको अभियोग लगाइएको छ। महाअभियोग प्रस्तावमा ९५ सांसदको हस्ताक्षर छ।
यससँगै सभामुख सापकोटाले प्रतिनिधि सभाको बैठक ४ फागुनका लागि सारेका छन्। यसअघि २ फागुनका लागि बैठक बोलाइएको थियो।