बेपत्ता बुबाको खोजी गर्न पत्रकार बनेकी नगमाको १७ वर्षदेखिको प्रश्न- ‘खै मेरो बाबा?’
द्वन्द्वकालमा बेपत्ता भएका बुबाको खोजीमा १७ वर्षदेखि भौंतारिइरहेकी नगमा माली थाकेकी छैनन्, बुबा फर्कने आशले खोजीमा ऊर्जा भरिरहेको छ।
दुई-चार दिनमा फर्कन्छु भनेर गएको मानिस नफर्किए कहिलेसम्म पर्खने? एक महीना, एक वर्ष कि कति समय?
ललितपुर, ठेचोकी २४ वर्षीया नगमा मालीको जवाफ छ, “जबसम्म पर्खने मान्छे बाँच्छ, तबसम्म। आफू बाँचेसम्म फर्कने आश हुँदो रहेछ।”
८ असार २०६१ राति। नगमाका बुबा नन्दगोपाल माली मूर्ति बनाउन भनेर घरबाट निस्किएका थिए। त्यही दिन नन्दगोपाल सुरक्षाकर्मीबाट बेपत्ता पारिए।
बुबा बेपत्ता हुँदा नगमा आठ वर्षकी थिइन्। उनले बुबाको प्रतीक्षा गरेकै १७ वर्ष भयो।
राज्यले बुबालाई बेपत्ता पार्नुभन्दा तीन वर्षअघि नै उनले आमा गुमाइसकेकी थिइन्। बुबासँग अलि पछिसम्म बस्न पाएकाले होला, उनलाई आमाको भन्दा बुबाकै बढी झझल्को आउँछ। “आमा बित्नुभयो, बुबा पनि बेपत्ता भएपछि मन बुझाउने ठाउँ नै रहेन,” उनी भन्छिन्।
बुबाकाे अवस्था कस्तो छ भन्ने थाहा नपाउँदा उनी छटपटीमा छिन्। अहिलेसम्म बुबा जीवित छन् भने आश रहेको बताउँदै नगमा भन्छिन्, “बुबा हुनुहुन्न भन्ने आधिकारिक प्रमाण कसैले दिएको छैन।”
‘खै मेरो बाबा?’ भन्ने प्रश्न गरेर कहिल्यै नथाक्ने उनी बताउँछिन्। नगमा विद्यालय अध्ययन गर्दासम्म उनका हजुरबुबा सानु मालीले आफ्नो छोराको खोजी गरे। हजुरबुबा बितेपछि हजुरआमा एक्लै सेनाका ब्यारेकदेखि माइतीघर मण्डल धाइरहिन्। छोरा खोज्न हारगुहार गर्दागर्दै २०७५ सालमा ६८ वर्षको उमेरमा हजुरआमा मिश्री मालीको पनि मृत्यु भयो।
हजुरबुबा, हजुरआमा र आमाको मृत्यु तथा बुबा बेपत्ता भएपछि घरमा नगमा र उनकी बहिनी स्वस्तिका मात्रै भए। अर्थात्, उनले आफूभन्दा पाँच वर्ष कान्छी स्वस्तिकाको पनि अभिभावकत्व लिनुपर्यो।
यतिका विघ्नबाधाले पनि नगमालाई बुबाको खोजीमा निरन्तर लाग्नबाट कसैले रोक्न सकेन। उनी सरोकारवाला निकायमा पुगेर निरन्तर प्रश्न गरिरहिन्, ‘खै मेरो बाबा?’
बाल्यकालमा नगमा एक-दुई जना नयाँ मान्छे घरमा आउँदा कोठाभित्र लुक्ने गर्थिन्। कसैको अघि बोल्नुपर्दा सजाय दिए जस्तै लाग्थ्यो।
एकदिन उनको मौनता र डर एकैसाथ तोडिने घटना भयो। हरेक दिन जस्तै हजुरआमा आफ्नो बेपत्ता छोराको अवस्था पत्ता लगाउन दिनभर धर्नामा बसेर, नारा लगाएर माइतीघर मण्डलबाट राति अबेर घर फर्किइन्। नगमालाई बोलाएर हजुरआमाले भनिन्, “तिमीहरू जस्तै दुई जना छोरी पनि माइतीघर मण्डलमा नारा लगाउन आउँछन्।”
त्यस दिन नगमालाई लाग्यो, 'मैले हजुरआमाको स्वरमा स्वर मिलाउनुपर्छ।'
शुरू शुरूमा हजुरआमाको पछि लागेर बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगदेखि विभिन्न संस्थाका कार्यक्रमहरूमा हिंड्न थालिन्। त्यसरी हिंड्न थालेपछि उनलाई महसूस भयो, 'मेरो जस्तै अरूका पनि बाबा हराएका रहेछन्। अरूको पनि पीडा रहेछ।'
आफ्नो समस्या राख्न र न्यायका लागि लड्न अघि सार्ने हजुरआमाले नगमालाई बिस्तारै घरको व्यवहार पनि सिकाउँदै गइन्। “जग्गा बेच्न वा केही निर्णय गर्नुपरे मलाई सोध्नुहुन्थ्यो,” उनी भन्छिन्, “हजुरआमाले बिस्तारै मेरो बाल मस्तिष्कमा आत्मविश्वास भरिदिनुभयो।”
हजुरआमासँग मिलेर बुबाको खोजी जारी राख्दै उनले माध्यमिक शिक्षा पूरा गरिसकेकी थिइन्। कुन विषय लिएर उच्च शिक्षा पढ्ने भन्ने निधो गर्दा नगर्दै उनको जीवनमा अर्को घटना भयो।
एक दिन बुबाको खोजीमा निस्किएकी हजुरआमालाई छाउनीको आर्मी ब्यारेकमा रोक्यो। अनेक अनुनय र प्रयास गर्दा पनि भित्र पस्नै दिएन। त्यस वेला उनलाई लाग्यो, हरेक ठाउँमा प्रवेश पाउने पहुँच त पत्रकारलाई मात्र होला।
अन्तत: उनले पत्रकारिता अध्ययन गर्ने निधो गरिन्। पत्रकारिताको अध्ययनका लागि प्रदर्शनीमार्गस्थित रत्नराज्य (आरआर) क्याम्पसमा भर्ना भइन्।
“पत्रकार भएपछि बुबाको खोजी गरेर भेटिइहाल्ने भन्ने नभए पनि मैले आवाज उठाउने प्रशस्त माध्यम पाउन थालें,” नगमा आफूले खोजिरहेको बाटो पत्ता लागेको अनुभव सुनाउँछिन्।
पत्रकारिता अध्ययनले उनलाई समाज बुझ्न र पैरवी गर्न सिकायो।
उनलाई आफ्नो बुबा बेपत्ता भएको जति धेरै मान्छेले थाहा पाउँछन्, त्यति चाँडै भेट्न सकिन्छ भन्ने आशा थियो। त्यसैले उनी ‘मार्टर्स एन्ड डिसएपियर्ड वारियर चिल्ड्रेन फाउन्डेशन’ संस्थामा आबद्ध भइन्। त्यहाँबाट उनीहरू बेपत्ता पारिएका व्यक्तिको अवस्था पत्ता लगाइदिन ज्ञापनपत्र लिएर सरकार समक्ष पुग्न थाले।
उनी बिस्तारै बुबाको खोजीका लागि एउटा आवाज बन्न थालेकी थिइन्। तर, त्यति गर्दा पनि सरकारले छानबिन र त्यसको परिणाम नदिएपछि उनलाई बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग अर्थहीन लाग्यो। उनलाई खोज-अनुसन्धानमा केन्द्रित नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) पो प्रभावकारी हुने रहेछ भन्ने लाग्यो।
प्रहरी सेवामा प्रवेश गरी सीआईबीमा काम गर्ने उद्देश्यले उनी लोक सेवा आयोगको तयारी गर्न थालिन्।परीक्षाको फारम भरिन्। किताब ल्याएर दिनरात पढिन्। तर, अन्य व्यवहार र व्यस्तताका कारण परीक्षा दिन भने सकिनन्।
यसबीचमा उनी केही समय निराश पनि भइन्। त्यति वेला उनी आफैंलाई प्रश्न गर्थिन्, ‘हराएको १५ वर्ष भयो, बाबा जीवित त हुनुहुन्छ?’
मन बलियो पार्दै यस्ता प्रश्नको आफैं उत्तर दिन्थिन्, ‘बेपत्ता भएका मानिस जीवित वा मृतक जेजस्तो भए पनि सरकारले अवस्था सार्वजनिक गर्नुुपर्छ।'
माओवादी शान्ति प्रक्रियामा आएपछि पटक पटक सरकारमा पुग्यो। तर, बेपत्ता पारिएकाहरूको अवस्था पत्ता लगाउन ठोस काम नगरेकोमा द्वन्द्वपीडितहरूले गुनासो गर्दै आएका छन्। नगमाको गुनासो पनि यसैमा मिसिएको छ। उनलाई सरकारमा पुगेका हरेक नेताले गर्ने वाचा कर्कश लाग्न थालेका छन्।
दल र नेताबाट आशा नरहे पनि बुबालाई पत्ता लगाउने आफ्नो आशा भने मर्न दिएकी छैनन्। “यति पनि लडेन भने यहाँ बेपत्ताको विषयमा सबैले बिर्सन्छन्। आशा भइन्जेल खोजी गरिरहने हो,” उनी भन्छिन्।
‘भोइसेस् अफ वुमन मिडिया’ नामक संस्थामा काम गरिरहेकी उनले त्यहींबाट आउने पारिश्रमिकले बहिनी र आफ्नो पढाइ खर्च जुटाएकी छन्।
नगमा आफ्नो जस्तै बेपत्ता बाबुहरूको खोजी गर्न द्वन्द्वपीडित महिला राष्ट्रिय सञ्जाल नेपालमा पनि आबद्ध छिन्। उनी द्वन्द्वपीडित बालबालिकाको भविष्यबारे चिन्तित छिन्। यही कुराले आफूलाई सबैभन्दा बढी पीडा दिने गरेको उनी बताउँछिन्।
दशक लामो सशस्त्र द्वन्द्वले नगमा जस्ता धेरैलाई टुहुरा बनायो। शान्ति सम्झौता भएको डेढ दशक भइसक्दा पनि बेपत्ता व्यक्तिहरूबारे कुनै खबर छैन। निरन्तरको प्रयासका बावजूद आफ्ना गुनासो सम्बोधन नहुँदा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई उनको प्रश्न छ, “ठाउँमा पुगेपछि आफ्ना मान्छेलाई त हेर्नुभयो, बेपत्ता पारिएका सन्तानका लागि चाहिं के गर्नुभयो?”
माओवादी सहभागी सरकारले नै बेपत्ता र शहीदको परिवारका सन्तानलाई विभेद गरेको उनको बुझाइ छ। भन्छिन्, “शहीदका सन्तानले पढ्न चाहे जति नि:शुल्क पाउने तर बेपत्ता पारिएका सन्तानले त्यस्तो सुविधा १८ वर्षसम्म मात्र पाउने व्यवस्था विभेदकारी लाग्छ।”