पिताजी भुवनलालको राजीनामाः भित्री कुरा यस्तो हो
हिमाल (१२–१८ जेठ) मा प्रकाशित स्तम्भ भोगेको देखेको सुनेको मा भैरव रिसालले मेरा पिता स्व. भुवनलाल प्रधानका बारेका केही रोचक किस्सा प्रस्तुत गर्नुभयो, ‘सुनेको’ भनेर ।
हल्ला–किस्सा रोचक हुन्छन्, फैलन्छन् र कतिपय अवस्थामा रमाइलोकै लागि अतिशयोक्ति पनि हुँदै जान्छन् । त्यसमा उठेका प्रसंगका यथार्थ केही बुँदामा प्रस्तुत गरेको छु ।
१. मेरो पिताजीले मन्त्री पदबाट नदिएको राजीनामा स्वीकृत भयो भन्ने हल्लाबारे रिसालजीले मेरो भनाइलाई उद्धृत पनि गरेका छन् । मैले उनलाई कारण बताइनँ, यहाँ खुलाउँदैछु ।
पिताजीको राजीनामा २०१६ सालमा भएको नेपाल–भारत गण्डक सम्झौताको कार्यान्वयनको विस्तारित सहमतिपत्रसित सम्बन्धित छ । यसका लागि दुवै देशबीच कुराकानी चलिरहँदा उहाँ नहर तथा विद्युत् मन्त्री हुनुहुन्थ्यो ।
तर यस सम्बन्धी द्विपक्षीय बैठकमा भने सरकारका तर्फबाट तत्कालीन मन्त्रिपरिषद्का उपाध्यक्ष कीर्तिनिधि विष्ट उपस्थित हुन्थे। यस्ता केही बैठकपछि विस्तृत दस्तावेज तयार हुन थाल्यो र सहमतिपत्र पनि ।
पिताजीले कोशी सम्झौता जस्तै गण्डक सम्झौता पनि रुचाउनुभएको थिएन र त्यसका सहमतिका बुँदाहरू पनि मन परेको थिएन। सहमतिपत्रमा विभागीय मन्त्रीका हैसियतले उहाँले नै हस्ताक्षर गर्नुपर्ने अवस्था सृजित हुन्थ्यो ।
त्यो अवस्थामा पिताजीले समय–परिस्थिति विचारेर मन्त्रिपरिषद्बाट शान्तपूर्वक बाहिरिन चाहनुभयो । उहाँले स्वास्थ्य समस्या देखाएर राजीनामा दिनुभयो ।
उहाँको राजीनामा स्वीकृतिको साता दिनपछि मन्त्रिपरिषद् विघटन भयो । नयाँ मन्त्रिमण्डलमा केदारमान व्यथित नहर तथा विद्युत् मन्त्री भए । सम्भवतः उनकै समयमा विस्तारित सहमतिपत्रले औपचारिकता पायो ।
मन्त्री पदबाट हटेपछि व्यथितलाई राजा महेन्द्रले तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको कुलपतिको जिम्मेवारी दिए । नेपाली साहित्य जगतमा ‘कवि राजा’ को यो महानताको वाहवाही भयो । तर पिताजी भन्नुहुन्थ्यो, सो पद राजा महेन्द्रबाट कवि व्यथितलाई बक्स भएको इनाम थियो ।
नदिएको राजीनामा स्वीकृत भयो भन्ने हल्लाको पछाडि के पृष्ठभूमि थियो भने, पिताजीले राजीनामा दिने मनस्थिति बनाएपछि हरेक क्याबिनेट बैठकमा जाँदा राजासित एकान्तको अनुकूलतामा राजीनामा बुझाउने मनसायले खल्तीमा राखेर जाने गर्नुहुन्थ्यो।
त्यतिबेला क्याबिनेट राजाको अध्यक्षतामा राजदरबारमा बस्थ्यो । नभन्दै राजीनामा दिइसक्दा पनि त्यसबारे तेस्रो व्यक्तिलाई सुइँको भएन । भोलिपल्ट उहाँ अड्डा जानुभएन, तर राजीनामाबारे कुनै कुरा चलेन ।
त्यसपछि पिताजीले अनर्गल हल्ला नहोस् भनेर राजीनामा स्वीकृत नहुन्जेल अड्डामा नियमित गएर काम गरिरहनुभयो । एक सातापछिको एक बिहान सरदार हंसमानसिं राजीनामा फिर्ता लिन राजाबाट आज्ञा भएको भन्दै हाम्रो घर आए । पिताजीले मान्नुभएन ।
एकदिन उहाँ मन्त्रालयमै रहेको बेला करीब १२ बजेतिर राजदरबारबाट राजीनामा स्वीकृतिको पत्र आयो । उहाँ मन्त्रालयबाट बाहिरिनुभयो । रेडियो नेपालले दिउँसोको समाचारमा स्वास्थ्यका कारण दिइएको राजीनामा स्वीकृतिको समाचार भन्यो ।
सहानुभूति प्रकट गर्न आउनेहरूलाई उहाँ स्वस्थै रहेको बताउनुहुन्थ्यो । यस्तो पृष्ठभूमिका कारण ‘नदिएको राजीनामा स्वीकृत भयो’ भन्ने हल्ला चल्नु अस्वाभाविक थिएन ।
यससँगै अर्को हल्ला पनि चलेको थियो— उहाँको राजीनामा स्वीकृतिको साता दिनमै मन्त्रिपरिषद् विघटन भएकोले राजाले भुवनलाललाई त इज्जतसाथ झिकेछन् भन्ने ।
२. मन्त्री बनाउन खोज्दा बुइँगलको घ्याम्पोभित्र लुके भन्ने प्रसङ्गमा यथार्थ के थियो भने, २०१७ पुसमा राजाले शासन लिएपछि राजनीतिक व्यक्तिहरू धमाधम पक्राउ परिरहँदा काठमाडौंको तँलाछीमा रहेको हाम्रो घरमुनि एउटा जीप रोकियो र घरको खोजी भयो ।
सडक छेउकै मतानकोठामा ट्युसन पढाइरहनुभएको उहाँले आफूलाई समात्न आएको सुइँको पाउनुभएछ । हाम्रो घरकै चोकमा नेपाली कांग्रेसका कार्यकर्ता त्रिरत्नमान तुलाधरको घर थियो ।
२००५ सालमा बीपी कोइराला पक्राउ पर्दा मेरो पिताजी लगायत राजनीतिक कार्यकर्ताहरूको सहयोगमा बीपी त्रिरत्नको सोही घरमा भूमिगत थिए । त्यहाँबाट बीपी समातिएको केही दिनपछि मेरा पिताजी पनि जेल पर्नुभयो ।
पिताजीलाई २०१७ सालमा पनि फेरि विगतकै जस्तो घटना दोहोरिने भो भन्ने लाग्यो, त्यसैले उहाँ दुई घरको फरकमा उनै त्रिरत्नमानलाई भेट्न जानुभयो । दुईबीच केही राजनीतिक कुरा भए, अन्ततः पिताजी आफ्नो परिवार उनको जिम्मा लगाई गिरफ्तारी दिन सडकमा निस्किनुभयो ।
जीपमा आएका व्यक्तिले पिताजीलाई राजदरबारको पत्र थमाए । जसमा भोलिपल्ट दरबारमा उपस्थित हुन भनिएको थियो ।
३. राजाले दिएको पैसाले घर किनेर उब्रेको पैसा सरकारलाई फिर्ता गर्न टेबलमा राखिदिए भन्ने सन्दर्भमा रकम नै टेबलमा राखिएको होइन । आफूले पाएको रु.८० हजारको हिसाब सरकारमा जाहेर गरिएको हो र राजाले बाँकी रकम आफैंले राख्नू भनेका हुन् ।
४. पुछारमा एउटा थप कुरा जोड्छु । मन्त्री पदबाट राजीनामा गरिसकेपछि पिताजीले राजनीति चटक्कै त्याग्नुभयो । उहाँलाई लाग्यो, सत्ता सम्हाल्नेहरू नै देश बनाउन गम्भीर नभई एकाध निस्वार्थ कार्यकर्ताले केही गर्न सक्दैनन् ।
लिंक
मन्त्री प्रस्ताव आउँदा लुकेछन् भुवनलाल