सुत्केरी संवाद: 'देउता'को डरले गोठको बास
बाजुरा, हुम्ला र मुगुबाट फर्केर मीना शर्मा र प्रकाश सिंह, खोज पत्रकारिता केन्द्र
बाजुरा, हुम्ला र मुगुका आमाहरूको अवस्थाले ‘नियमित गर्भ परीक्षण’, ‘सुरक्षित मातृत्व’, ‘पोषण’ जस्ता सरकारी नारालाई मिथ्या प्रचारवाजी साबित गरिरहेको छ ।
नन्दसरा सार्की (२३) बाँधु, बाजुरा
११ कात्तिक, २०७३ ।
आज मैले बच्चा जन्माएको १२ दिन भयो । सुत्केरी भएपछि म यो गोठमा बस्दै आएकी छु । बच्चा जन्मिसकेपछि सुत्केरी र बच्चालाई घरमा छुन हुँदैन । छुई (महीनावारी) र सुत्केरी भएको समयमा म मात्र होइन हाम्रो घरका सबै महिला यसैगरी गाईगोठमा बस्ने गर्छौं । मेरो माईत हुम्लामा पनि सबै गोठमै बस्छन् । सुत्केरी भएको बेला १० दिन मात्र घरकाले पकाएर दिन्छन्, ११औं दिनदेखि आफैं पकाएर खानुपर्छ ।
अहिलेसम्म मैले पाँचवटा बच्चा जन्माएँ । प्रत्येक पटक एक महीना गोठमा बस्दै आएकी छु । यो बच्चालाई चिसोले खोकी लागेको छ, दिसा पनि पातलो भएकोले घाममा लिएकी हुँ । आगो नबाल्दा गोठ धेरै चिसो हुन्छ । पहिलेका मेरा दुई बच्चा चिसो कै कारण भगवानका नजिक भए । जन्माएका सबै कहाँ बाँच्छन् र ? सबैका बच्चा मरेका हुन्छन्, मेरा पनि मरे ।
स्वास्थ्य चौकीमा बच्चा जन्माउँदा डाक्टरले गोठमा बस्न हुन्न भन्छन्, तर हामी बस्ने गोठमै हो । घरमा बस्दा देउता रिसाउनुहुन्छ । देउता लागेपछि परिवारमा समस्या हुन्छ, बालीनाली राम्रो हुँदैन । बाँचेका बच्चालाई पनि राम्रो हुँदैन । म पनि गोठमा जन्मिएँ, अहिलेसम्म केही भएको छैन । त्यसैले आफ्नो राम्रोको लागि देउताको मन दुखाउनुहुन्न । संस्थाका सर, म्याडमहरू पनि आएर गोठमा बस्नुहुन्न भन्नुहुन्छ तर हामीलाई गोठमै राम्रो भइरहेको छ । खान पाएकै छौं, परिवारसँगै छौं । परिवारलाई नराम्रो हुने काम गर्नुहुँदैन ।
पहिलाका सबै जना गोठमा बस्दा केही भएको छैन भने हामी बस्दा के समस्या हुन्छ र ? चल्दै आएको चलन किन नमान्ने ? गोठमा बस्दा बच्चा म¥यो भने आमा मात्र चाहिं धेरै दिन गोठमा बस्नुपर्दैन । मेरा छोरी मात्र छन्, अंश खाने छोरो जन्माउनु छ । पाप ग¥यो भने छोरो जन्मिंदैन । छोरो जन्मँदा पनि गोठमै बस्ने हो ।
सरस्वती बुढथापा (२१), रुगिन, बाजुरा
१२ कात्तिक ।
बच्चा जन्मिएको आज १२ दिन भयो । बच्चा जन्मिसकेपछि २४ घण्टा स्वास्थ्य चौकीमै बसें । डाक्टरले बच्चा र आमाको स्वास्थ्य राम्रो छ भनेपछि घर आयौं । घर आएदेखि म यही गोठमा छु । बच्चा जन्माउँदा हाम्रो गाउँमा सबैजना गोठमा बस्छौं । भान्सा र घरको अन्य ठाउँमा जाँदा देउता रिसाउने हुँदा हामी गोठमा बस्ने गरेका हौं ।
स्वास्थ्य चौकी जाँदा सफा बस्नुपर्छ, गोठमा बस्नुहुन्न भन्नुहुन्छ तर यस्तो बेला र छुई हुँदा बस्ने गोठमै हो । आमा, हजुरआमाले पनि गोठमै बच्चा जन्माउनुभयो, गोठमै बस्नुभयो । उहाँहरूलाई केही भएको छैन, हामीलाई पनि केही हुँदैन । देउता रिसाए भने अन्न फल्दैन, बच्चाहरू अपाङ्ग हुन्छन्, खडेरी पर्छ, पहिरो जान्छ । यस्तो थाहा हुँदाहुँदै कसरी घरमा बस्ने ?
सुत्केरी बस्ने गाईगोठमा एक महीनासम्म आमा र बच्चा मात्र बस्ने हो । गोठमा बस्दा भूतप्रेत नआओस् भनेर ढोकामा बन्चरो झुण्ड्याउछौं, कम्मरमा हँसिया भिर्छाैं । देउता खुशी बनायो भने भूत डराउँछ । कहिलेकाहीं गल्ती हुँदा भूत लाग्न सक्छ भनेर हँसिया र बन्चरोसँगै राखेका हौं । आफ्नो संस्कार सबैले मानेका छौं । अरूले भनेको सबै कुरा घरमा गर्न मिल्दैन ।
दुधारी धामी (२४) मैला, हुम्ला
१३ कात्तिक ।
पोहोर माघमा सुत्केरी बेथा लागेपछि छिमेकी महिलाले मलाई गोठमा लगेका थिए । अरूको जस्तै हँसियाले बच्चाको नाल काटेको हो । पहिलो बच्चा हुँदा पनि म गोठमै बसेकी हुँ, अहिलेसम्म केही भएको छैन । मलाई पनि आमाले गोठमै जन्माउनुभएको हो, अहिलेसम्म केही भएको छैन । हाम्रो यहाँको चलन यस्तै छ । घरभित्र बसे देउता रिसाएर समस्या हुन्छ ।
सुत्केरी भएको समयमा दूध खाँदा गाईभैसाले दूध नदिने हुँदा दूध खान मिल्दैन । गोठमा बस्दा आधा ज्यान घटे पनि आफ्नो चलन मान्नु परिहाल्यो । पानी पर्दा बर्खाको समयमा गोठमा कीरा आउँछन्, अलि समस्या हुन्छ । तर जे जसरी भए पनि बस्नुपर्छ ।
भावना बुढा (२२) मैला, हुम्ला
१३ कात्तिक ।
मैले तीन बच्चा गोठमै जन्माएँ । हरेक पटक एक महीना गोठमै बसें । बच्चा जन्माउन नसके मात्र स्वास्थ्य (केन्द्र) जाने हो । तर, स्वास्थ्य टाढा भएकोले घरको काम छोडेर जान सकिंदैन ।
सुत्केरी भएर गोठमा बस्दा हरियो तरकारी र झेल खानेकुरा खाँनुहुँदैन । खाए बच्चालाई कुवत (पखाला) लाग्छ । आफैं खाना बनाउनुपर्ने हुनाले यसमा होस पु¥याउनुपर्छ । छुई नबार्नेलाई देउताले धेरै दुःख दिएको आमाले सुनाउनुहुन्छ । परिवार, बालीनाली र आफ्ना सन्तानलाई राम्रो होला भनेर हामी गोठमा बस्छौं ।
मागी चदारा (१७) ह्याङ्गलु, मुगु
१४ कात्तिक ।
छोरी जन्मिएको १३ दिन भयो । छोरीलाई गोठमा सुताएर धान काट्न पनि गएँ, आज । अब (११ बजेको छ) यो घाँस भैसा (भैंसी) लाई हालिदिएर खाना खाने अनि छोरीलाई दूध खुवाएर फेरि घाँस काट्न जान्या हो ।
स्वास्थ्य (चौकी) नजिकै छ, पाँच मिनेटमा पुगिन्छ । त्यहाँ गयो भने नियमित जँचाउनु पर्छ, गोठमा बस्नुहुन्न भन्नुहुन्छ । त्यसैले, गोठमै बच्चा जन्माएँ ।
सर म्याडमहरू आएर गोठमा बस्नुहुन्न, सफा ठाउँमा बस्नुपर्छ भन्नुहुन्छ, तर भनेजस्तो सबै कुरा कहाँ पुग्छ र ? फेरि गाउँका मान्यजनहरूले गोठमा बस्नुपर्छ भनेपछि घरमा बस्नु पनि भएन । बच्चा जन्माउन आमा, सासू, जेठानी, भाउजू र छिमेकी सबै गोठमा बस्नुहुन्छ, कसैलाई केही भएको छैन, मलाई के हुन्छ र ?
१५ वर्षमा भागेर विवाह गरेकी हुँ । लभ परेर बिहे गरे पनि सधैं कहाँ माया गर्छन् र ? त्यसैले धान काट्न गएकी हुँ । धान काट्ने ठाउँमा केटीहरू मात्र हुन्छन् ।
हामी जस्ता छुई भएकाले पुरुषलाई छुन हुँदैन । देउता रिसाउँछन् भन्ने थाहा भएपछि पढे पनि संस्कार मान्नुपर्छ । तपाईं आफ्नो संस्कार मान्नुहुन्न ? छुई हुँदा छुनुहुन्छ देउता ? किन गोठमा बसेको भन्नुहुन्छ ? तर, सबैले मानेको कुरा हामीले मान्नुपर्दैन त ?
चिनकला चदारा (२२) ह्याङ्गलु, मुगु
१४ कात्तिक ।
आज बच्चा जन्मिएको ६ दिन भयो । बच्चा यही गोठमा जन्मिएको हो । गर्भवती भएको समयमा स्वास्थ्य (केन्द्र) मा जँचाउन जाँदा डाक्टरले बच्चा जन्माउन आउनुपर्छ भने पनि गइनँ । सबैजना गोठमा बस्छन् त्यसैले म पनि बसें । सबै जना बसेको गोठमा हामी बस्न किन समस्या हुन्छ ? छिमेकमा अर्की सुत्केरी पनि गोठमा छिन् ।
सुत्केरीमा आफैं खाना बनाएर खानुपर्छ । छुई हुने भएकाले कोहीलाई छुन हुँदैन । घाँस काट्ने, कोदो काट्ने, कपडा धुने जस्तो घर बाहिरको काम गर्न हुन्छ । सुत्केरी हुँदा आमा र बच्चा दुवै फोहोर हुन्छन्, त्यसैले गोठमा बस्नुपर्छ । दुवैलाई देउताले बचाउनुहुन्छ । घरमा बसे देउता रिसाएर बचाउनुहुन्न ।
देउता रिसाए घरका लोग्नेमान्छेलाई समस्या हुन्छ, बालोबैंसमा मर्नुपर्छ । सन्तान अपाङ्ग हुन्छन् । यस्तो थाहा पाएपछि घरमा को बस्ने ? एक महीना गोठमा बस्दा परिवारका सबैलाई राम्रो हुन्छ । ३० दिन मैले दुःख काट्दा के हुन्छ र ?
‘बुझाउन नसक्दा दुःख लाग्छ’
रामुदेवी मल्ल, स्वास्थ्य स्वयमसेविका
बाँधु, बाजुरा
म १० वर्षदेखि गोठमा बस्नुहुन्न भनेर बुझाउन खोजिरहेकी छु, तर सकिरहेकी छैन । मेरो बच्चा जन्मँदा घरभित्र बसें, तर अरूलाई बुझउन सकिनँ । भान्सा र देउता भएको कोठामा नराखी अर्को सफा कोठामा राख्नुपर्छ भन्दा पनि मान्दैनन् । घरका मान्छे र बस्तुभाउ बिरामी हुँदा पनि छुई भएर हो भन्छन् । रुढी हटाउन गाह्रो काम रहेछ ।
‘सासूहरू गोठमा बस्दा केही भएन, अहिले हामीलाई पनि केही हुँदैन’ भनेर बुहारीहरू नै भन्छन् । सासूहरू ‘हाम्रा पालामा १० बच्चा गोठमा जन्माइयो, बसियो, अहिलेकाहरू स्वास्थ्य जानुुपर्छ’ भन्छन्, के जमाना आयो भन्दै कराउँछन् । यस्तोमा कसैले पनि परम्परा तोड्ने हिम्मत गर्दैन । गर्भ परीक्षण गर्नुपर्छ, भिटामिन, जुकाको औषधि, आइरन चक्की खानुपर्छ भन्ने चेतना फैलाउन सकिएको छ, तर गोठमा बस्नुहुन्न भनेर बुझउन सकिएन । घरका सबैलाई राखेर सम्झउँदा ‘हुन्छ’ भने पनि बेथा लाग्यो कि गोठमा लगिहाल्छन् ।
पहिला त गाईको गोठमा पोस्रो (मल, गोबर) पनि सफा नगरी राख्थे । अहिले चाहिं पोस्रोसम्म फाल्छन् । कसैले पराल ओछ्याउँछन्, र पनि फोहोरै हुन्छ । गोठमै राखे पनि लिपपोत गरेर सफा बनाऊ भन्दा ‘छाउ बस्ने गोठ पनि दुनियाँमा कहीं सफा हुन्छ’ भन्छन् । पोहोर एउटी सुत्केरीको धेरै रगत बगेर मृत्यु भयो । फोहोरले गर्दा उनको पाठेघरमा संक्रमण भएको रहेछ । बच्चालाई निमोनिया हुने, आमालाई तल्लो पेट दुख्ने, सेतो पानी बग्ने, पाठेघरमा संक्रमण हुने कारण गोठको बसाइ हो भन्दा ‘देउता खुशी भए केही हुँदैन’ भन्छन् । आफ्नै गाउँकालाई बुझउन नसक्दा दुःख लाग्छ ।
‘बीए पासले पनि सुत्केरी श्रीमतीलाई गोठमै राख्छन्’
धनबहादुर फडेरा
निमित्त प्रमुख, रुगिन स्वास्थ्य चौकी
म दुई वर्षदेखि यहाँ छु । गोठमा राखेको सुत्केरीको अवस्था निकै जटिल भएपछि मात्र स्वास्थ्य चौकीमा ल्याउँछन्, बचाउनै गाह्रो हुन्छ । कोल्टी लैजाउ भन्दा बिरामीको अवस्था त्यहाँसम्म पुग्ने पनि हुँदैन । गाईगोठमा पानी छैन, फोहोर मात्र छ ।
चिसो गोठमा कपडा पनि राम्रो हुँदैन । चेतनाको कार्यक्रम छ, तर गाउँलेहरू आफ्नो संस्कार छोड्न चाहँदैनन् । सुत्केरीलाई एक महीनासम्म मासु दिंदैनन्, दूध, दही, घ्यू पनि दिन्नन् । मेरो घर कालीकोट हो, कर्णालीका पाँचै जिल्ला घुमेको छु । यस क्षेत्रका ८० प्रतिशतले सुत्केरी राख्ने गोठमै हो । बीए पास गरेका श्रीमान्ले पनि श्रीमती सुत्केरी हुँदा गोठमै राख्छन् ।
यो पनि गोठमा हुर्कंदैछ एउटा पुस्ता