संसारभरका मिडियामा छाएका यी नेपाली युवा, जसले अमेरिकी विश्वविद्यालयमा जातीय विभेद विरुद्धको नीति बनाउन बाध्य पारे
जातीय विभेदको रापले नेपालदेखि अमेरिकासम्म आहत भएपछि प्रेम परियारले अमेरिकी विश्वविद्यालयमा गरेको पहलकदमीले नीतिगत परिवर्तन गराउँदै जातीय असमानताको मुद्दालाई अन्तर्राष्ट्रियकरण गरिदिएको छ।
जातको आधारमा भेदभाव, छुवाछूत र हिंसाको अमानवीय व्यवहार नेपाल सहित दक्षिण एशियाली देशहरूको साझा समस्या हो। यस्तो जातीय विभेद अमेरिकाको क्यालिफोर्निया स्टेट युनिभर्सिटीमा पुगेर विस्फोट भएको छ। जसले अमेरिकी विश्वविद्यालयहरूमा जात-प्रथाबारे बहस हुने गरी तरङ्ग ल्याइदिएको छ। यसको अर्थ हो, अमेरिकामा छालाको रङको आधारमा मात्र हैन, जातको आधारमा पनि विभेद भइरहेको छ, त्यो पनि पठित जमात रहेको विश्वविद्यालयमै भइरहेको छ।
जातीय विभेद दक्षिणएशियाबाट अमेरिकासम्म कसरी पुग्यो? नेपाल जस्ता अल्पविकसित देशमा गहिरिएर बसेको यस्तो विभेदले अमेरिका जस्तो विकसित देशमा कसरी शिर उठाउन पुग्यो? विभेदको चोटले रनथनिएर आत्मसम्मानका साथ बाँच्ने कल्पना सहित पृथ्वीको दक्षिणी गोलार्द्धमा पुगेका प्रेम परियारहरूलाई किन उस्तै कुसंस्कारले किच्न आइपुग्यो? यसमा धेरैलाई आश्चर्य लाग्न सक्छ।
सुखद शुरूआत चाहिं, क्यालिफोर्निया स्टेट युनिभर्सिटीले प्रणालीगत भेदभाव विरोधी नीतिमा जातलाई संरक्षित श्रेणीका रूपमा थपेको छ। कठिन सङ्घर्षबाट बनाइएको जुन व्यवस्थाले दक्षिणएशियाका दलित विद्यार्थीका लागि निकै महत्त्वपूर्ण अर्थ राख्छ। उक्त विश्वविद्यालयसँग अनुबन्धित २३ वटा विश्वविद्यालयका विद्यार्थीले अब जातीय उत्पीडनको उजुरी दिन सक्छन् र कुनै पनि किसिमका जातीय भेदभाव गर्ने जोकोही कारबाहीको दायरामा आउँछन्। उक्त विश्वविद्यालयमा चार लाख ८५ हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन्।
यो नीतिलाई युनिभर्सिटी अफ क्यालिफोर्निया, डेभिसले स्विकारिसकेको छ भने अमेरिकाका थुप्रै विश्वविद्यालयमा जात-प्रथा र सामाजिक न्यायबारे नयाँ कोणबाट बहस हुन थालेका छन्।
यता संसारभरका लोकप्रिय सञ्चारमाध्यममा ३७ वर्षीय प्रेम परियार ‘हेडलाइन’ बनेका छन्। भारतको टाइम्स अफ इन्डिया , एजेन्सी एसोसिएट प्रेस (एपी) सम्म, सीएनएन, अलजजिरादेखि युएस टुडेसम्म, फोर्ब्सदेखि फक्स न्यूजसम्म प्रेमका प्रतिरोधका कथा छापिएका छन्। किनकि विश्वविद्यालयबाट जातीय विभेद विरुद्धको अभियान थाल्ने अग्रमोर्चाका योद्धा उनै हुन्।
यो नीतिगत उपलब्धिले निकै खुशी लागेको उनले सुनाए। सन् फ्रान्सिस्कोबाट भर्चुअल कुराकानीमा प्रेमले भने, “यसले संसारभरका दलित समुदायमा नयाँ आशा पलाएको छ। मानव अधिकार, सामाजिक न्याय र व्यक्तिगत स्वतन्त्रताका लागि आशा जगाएको छ। बोल्यो भने त हुँदो रहेछ नि!”
०००
सन् २०१४ सम्म प्रेम नेपालमै थिए। उनको सात जनाको परिवार चितवनको खैरेनीबाट बसाइँ सरेर काठमाडौं बुढानीलकण्ठको गाम्चा भन्ने ठाउँमा आइपुगेको थियो। बुबा डम्बर परियारले कपडा सिलाउने पुर्ख्यौली पेशा गरेर पारिवारिक जिम्मेवारी उठाइरहेका थिए। प्रेम मनोसामाजिक हेरचाहको क्षेत्रमा सक्रिय थिए।
गाम्चामा पनि उनको परिवार जातीय छुवाछूतले लगातार पिल्सिरह्यो। प्रेम ती दिन सम्झन्छन्, “मानिसहरू काठमाडौंमा विभेद छैन भन्छन्, तर मेरो परिवारले सबैभन्दा ठूलो हिंसा त्यहीं भोग्नुपर्यो।”
विभेदको कथा धाराबाट शुरू हुन्छ।
टोलको बीच भागमा थियो ढुङ्गेधारा। पानी लिन ढुङ्गेधारा पुग्ने उनको परिवारजनको दैनिकी थियो। तर, उनीहरूले सजिलै पानी थाप्न कहाँ पाउँथे र! सबै गाउँलेले पानी भरेर गइसकेपछि मात्रै पानी भर्न र भरिइसकेको गाग्री बोक्न पाउँथे। “कहिलेकाहीं झुक्किएर अर्काको गाग्रीमा छिटा पर्यो भने आँखा तर्दै पानी खन्याउँथे, कपडा धुँदा छोइयो भन्दै हप्काउँथे,” प्रेम भन्छन्, “हाम्रो परिवार त्यस्तो भेदभावको प्रतिवाद गर्ने भएका कारण हामी सिङ्गो समाजका लागि कसिङ्गर बनेका थियौं।”
सन् २०१४ को एक दिन प्रेम कहिल्यै भुल्न सक्दैनन्। दिउँसो १ बजेको हुँदो हो, बहिनीले रुँदै उनलाई फोन गरिन्। घर बाहिर रहेका उनी हतासिंदै पुगे।
घरको ढोका फुटेको थियो। बुबा, आमा, बहिनी रगतपच्छे भएर भुइँमा लडेका थिए। भान्सा वरिपरि खाना असरल्ल छरिएका थिए। घर बाहिर रमिते बनेर ठूलो भीड उभिएको थियो। अकल्पनीय दृश्यले प्रेमलाई आतङ्कित पार्यो। उनी चिच्याए- 'यो सब कसरी भयो?'
टोलकै एक व्यक्तिको ट्रकमा डम्बरले घरमै बसेर कपडा सिलाउन पसलबाट मेशिन ल्याएका रहेछन्। तर, भाडा तिर्ने वेला करीब डेढ सय रुपैयाँ अपुग भएपछि उनले भनेछन्, ‘बाटो पर्दा छिर्नु, त्यति वेला दिइहाल्छु।’
तब चालक जङ्गिए, ‘ए दमाईं, तँ निकै ठूलो भ’को छस्। तेरो घरमा म फेरि पैसा लिन आउँछु? पख् !’
एक छिनमै ती व्यक्ति हुल बाँधेर प्रेमको घर आइपुगे। ढोका फोडे, आग्लोले डम्बरलाई टाउकोमा हिर्काएपछि उनी बेहोश भए। डम्बरलाई कुल्चिँदै घर छिरेको भीडले पस्किएको खाना हुत्याइदिए। भीड प्रेमकी आमा र बहिनीमाथि खनियो।
जब प्रेमले घटनाबारे थाहा पाए, उनको आक्रोश थामिएन। प्रेमले पटक पटक फोन गरेपछि बल्लतल्ल प्रहरी आइपुग्यो। र, भन्यो, ‘ल अस्पताल लैजाऔं।’
प्रेमले प्रहरीलाई भने, ‘अस्पताल होइन, अपराधी यहीं छन्। पहिला गिरफ्तार गर्नुस्।’
तर, प्रहरीले गिरफ्तार गरेन।
एउटा परिवारमाथि टोल नै त्यसरी धुइरिन आइपुग्नुको कारण डम्बरले भुक्तानी नगरेको डेढ सय रुपैयाँ नै थियो त? होइन, राजधानीमै कसूर विना यसरी जाइलाग्ने आँट उच्च जातीय अहङ्कारको परिणाम थियो, दलितलाई मान्छे नदेख्ने मानसिकताको उपज थियो।
यता वीर अस्पतालमा परिवारको उपचार चल्दै थियो। उता प्रेमहरू निवेदन दिन प्रहरीकहाँ पुगे। तर, प्रहरीले निवेदन समेत लिन मानेन। नेतादेखि गृहमन्त्रीसम्ममा डेलिगेसन गएपछि बल्लतल्ल निवेदन दर्ता त भयो, तर घटनामा संलग्न दोषीहरू पक्रिन प्रहरीको तदारुकता देखिएन।
“ठूलो दबाबपछि एक जनालाई पक्रियो, तर उसलाई छुटाउन ठूलो राजनीतिक दबाब शुरू भयो। मुद्दा अदालतसम्म पुगे पनि आरोपित राजनीतिक कार्यकर्ता भएकाले मेलमिलाप गर्न ठूलो खेल भयो,” प्रेम नमीठो मान्दै भन्छन्, “हामीले हार खायौं, न्याय पाएनौं।”
डम्बर एक महीनापछि अस्पतालबाट डिस्चार्ज भए। त्यसपछि बुबा-आमाले प्रेमलाई भने- ‘यिनीहरूले अब हामीलाई जुनसुकै वेला जे गर्न पनि सक्छन्। हामी त जसोतसो बसौंला, सक्छस् भने त कतै सुरक्षित ठाउँमा गइहाल्।’
सन् २०१५ मा प्रेम देशै छोडेर हिंडे। शिक्षित र सभ्य मानिस बस्ने भनिएको अमेरिकाको वासिङ्टन डिसी हुँदै क्यालिफोर्नियाको सान् फ्रान्सिस्को पुगे। तर, त्यहाँ पनि उनले आत्मसम्मानका साथ बाँच्ने ठाउँ भेटेनन्। उनी भन्छन्, “यो दक्षिणएशियालीको ‘जात-भ्रमण’ हो। दक्षिणएशियाबाट मानिसहरू जहाँ जहाँ पुगेका छन्, जातीय विभेद पनि सँगै पुगेको छ।
अमेरिकासम्म विभेदको जलन
अमेरिकामा अनेक परिस्थितिसँग जुध्दै प्रेम सामाजिक काममा पनि सक्रिय थिए। सन् २०१९ मा सोसल वर्कमा स्नातक गर्न क्यालिफोर्निया स्टेट युनिभर्सिटी, इस्ट बेमा प्रवेश गरे।
विश्वबाट अमेरिका प्रवेश गरेकाहरू उनका सहपाठी थिए। कक्षामा उनका साथीहरू लिङ्गभेद र रङ्गभेदका तीता अनुभव सुनाउँथे। अमेरिकामा भएका सीमान्तीकृतहरूका आफ्नै पीडा थिए। अफ्रिकन अमेरिकीहरूले आफूहरूलाई थुप्रै ठाउँमा रङका आधारमा फरक व्यवहार गरिएको, निषेध गरिएको, कालो छाला देखेर कम आँक्ने गरेको र प्रहरी प्रशासनले समेत दमन गरेको सुनाउँथे।
“यसरी अनुभव सुनाउँदा सबै भावुक हुन्थे, कोठामा सन्नाटा छाउँथ्यो,” प्रेम भन्छन्, ‘धेरै दिनसम्म पनि त्यहाँ जातबारे कसैले कुरा गरेनन्। यो संसारमा जातकै कारण करोडौं मानिसले अमानवीय जीवन बिताइरहेकोबारे प्राध्यापकहरू अनभिज्ञ थिए। सामाजिक न्यायको क्षेत्रमा भोलि एड्भोकेसी गर्ने, पलिसी एड्भोकेसी गर्ने विद्यार्थी अञ्जान थिए।”
प्रेमलाई लाग्यो, ‘यसबारे त बोल्नैपर्छ। आफूले नेपालदेखि अमेरिकासम्म भोग्दै आएको विभेदबारे चूप बस्यो भने भोलिका आफ्ना सन्ततिलाई पनि जात लुकाएर हिंड्नुपर्ने बाध्यता आइपर्नेछ।’
एक दिन उनले आँट जुटाएर कक्षामा भने- ‘के तपाईंहरूलाई जातीय विभेदबारे थाहा छ?’
कतैबाट आवाज आएन, मानौं प्रेमले यो संसारमा हुँदै नभएको विषयबारे कुरा निकाले।
प्रेमले कक्षामा नेपालदेखि अमेरिकासम्म खेप्नुपरेका भोगाइका पोयो खोल्न थालेः
म जुन परिवारमा जन्मिएँ, त्यसकै कारण अछूत भएँ। विद्यालयमा शिक्षकहरूलाई छोयो भने मलाई सजाय हुन्थ्यो। कुनै गल्ती गर्दा मैले १० लठ्ठी खान्थें भने अन्य समुदायका साथीले सोही गल्ती गर्दा छूट दिइन्थ्यो वा कम लट्ठी मात्र खान्थे। त्यसैले मलाई विद्यालय जानै मन लाग्दैनथ्यो। दलित समुदायका थुप्रै साथीले विद्यालय छोड्थे। दलित विद्यार्थीले ठूलो सङ्ख्यामा विद्यालय छाड्नुको कारण गरीबीसँगै विभेद पनि थियो।
साक्षरता दर कम भएकाले मेरो समुदायका मानिसहरू राम्रो जागीर पाउँदैनन्। उनीहरूको जिन्दगी नै मानसिक आघातसँग जोडिएको छ, यस्तो आघात पुस्तान्तरण भइरहेको छ। जसलाई निर्मुल पार्ने कुनै थेरापिस्ट छैनन्। जातकै कारण मेरो समुदायले चुनौतीमाथि चुनौतीको चाङ लगाएर बस्नुपरेको छ।
प्रेम अतीतमा फर्किंदा कहिले भावुक त कहिले आक्रोशित सुनिए। उनी आफूभित्र गुम्सिएर बसेको अनेकौं उत्पीडन, अपमान र तिरस्कारको पीडा छताछुल्ल पार्न चाहन्थे। त्यसपछि उनले अमेरिकाको भोगाइ सुनाएः
अमेरिका आएर पनि मैले नेपाली र दक्षिणएशियाली परिवेशमा सोच्दै नसोचेको विभेदको शिकार हुनुपर्यो। यहाँ नेपाली दलित विद्यार्थी आफ्नो जात लुकाएर बसेका छन्। हामी रङ, लिङ्ग र यौन अभिमुखीकरणको कुरा गर्छौं, तर जातबारे कोही बोल्न चाहँदैनौं। जबकि, रङ्गभेदभन्दा जातिभेदको इतिहास लामो छ।
म अमेरिका आएको केही दिनमै सँगै बस्ने साथीले डिनरका लागि मलाई एक शिक्षित ब्राह्मणको परिवारमा पुर्याएको थियो। जब मैले त्यहाँ आफ्नो परिचय दिएँ, उहाँहरू झस्किनुभयो। गफगाफपछि खाना खाने समय आयो। डाइनिङ टेबलबाट सबैले खाना आफ्नो प्लेटमा राखिसकेपछि अन्तिममा मैले हाल्न खोजें। म खानाछेउ के पुगेको थिएँ, घरबेटीले भन्नुभयो- ‘पख्नुस् तपाईंले नझिक्नुस्, हामी नै दिन्छौं।’
मलाई यति नमज्जा लाग्यो, त्यहाँ पुगेकोमा पश्चात्तापको रापले हनहनी पोल्यो। के गर्ने भन्ने सोच्नै सकिनँ। रात निकै छिप्पिसकेको थियो, छुट्टै बसेर त्यहीं खाएको नाटक गर्नुको मसँग विकल्प थिएन।
मैले काम गर्ने ठाउँसम्म पनि विभेद पिछा गर्दै आइपुग्यो। ब्लु एप्रोन कम्पनीमा ४० जनाभन्दा बढी नेपाली काम गर्थ्यौं। लन्च ब्रेकमा आआफ्नै ढङ्गले बस्थ्यौं। तर, एक जनाले आफ्नो खुशी साट्न घरबाटै खाना बनाएर ल्याउने जानकारी दिनुभयो। त्यस दिन हामी एउटा टेन्टमा भेला भयौं। सबैले चम्चाले आफ्नै ढङ्गले खाना झिकिरहेका थिए, लाइनमा बसेको मैले पनि सोही विधि अपनाउन थालें। तर, उहाँले रोक्दै भन्नुभयो, ‘पख। त्यहाँ खाना छुने होइन, म आफैं हालिदिन्छु। यहाँ अरू पनि खाने मान्छे छन्।’ त्यति वेला सबैका आँखा मेरो अनुहारमा केन्द्रित थिए। म खाना छोडेर हिंडें।
पार्कदेखि नेपाली समुदायले स्थापना गरेको संस्थासम्म मैले भोगेका विभेदका घटना यहाँ सुनाउँदा लामो हुन सक्छ। त्यसैले आफ्नै विश्वविद्यालयका शिक्षित वर्गको मानसिकताबारे केही भन्छु।
कलेज छुट्टी भएपछि ग्राजुएशनका दुई नेपाली विद्यार्थी ट्रेन पर्खिरहेका थिए। जब मैले उहाँहरूलाई आफ्नो परिचय दिएँ, छक्क पर्दै शिरदेखि पाउसम्म हेर्नुभयो। असजिलो महसूस गर्नुभयो। म नमीठो मान्दै आफ्नो बाटो लागें।
म पदाधिकारी रहेको नेपाली एसोसिएशन अफ नर्दन क्यालिफोर्नियामा समेत पटक पटक विभेदकारी व्यवहार भयो। नियतवश कुनै न कुनै बहानामा छेउ लगाउने प्रयास गरियो। तर, जब जब मैले यसबारे प्रश्न उठाउँथे, उनीहरू मलाई समाज भँडुवाको तक्मा भिराउँथे। विश्वकर्मा थरका मेरा एक साथीले पिकनिक जाने रहर गर्दा पूर्व निर्धारित पिकनिक रद्द गरिएका उदाहरण पनि छन्।
अर्को जातको युवतीसँग प्रेम गरेका कारण जात ढाँटेर हिंडेका भाइहरू छन् यहाँ। सँगै बसेको साथीले निकालिदिन्छ कि भनेर जात लुकाएका थुप्रै नेपाली छन्। नेपाली मात्र होइन, मेरो जात थाहा पाएपछि थुप्रै भारतीयले पनि दूरी कायम गरेका छन्।
प्रेमले यति सुनाएपछि कक्षामा सन्नाटा छायो। प्राध्यापकले सोधे, ‘यस्तै भोगाइ भएका दक्षिणएशियामा अरू पनि कोही हुनुहुन्छ कि?’
तर, सबैले आफूहरूलाई थाहा नभएको बताए। प्रेम निराश भावमा बोल्छन्, “उनीहरूले सत्य बताउन चाहेनन्। मेरो भावनाप्रति ऐक्यबद्धता जनाएनन्। मानौं मैले बनावटी कुरा गरेको छु।”
नीतिनिर्माणको पृष्ठभूमि
प्रेम जातीय विभेदबारे यत्तिकै छोड्ने विचारमा थिएनन्। विश्वविद्यालयको ‘डिपार्टमेन्ट अफ सोसल वर्क’ मा गएर आफ्नो प्राध्यापकसँग कुरा गरे। उनले भने, ‘जात संरक्षित हुन आवश्यक छ, जसले गर्दा मानिसहरूलाई जातीय विभेद अपराध हो भन्ने लागोस्। फ्याकल्टी तहमा सचेतना फैलाउनुपर्छ।’
प्राध्यापकको माध्यमबाट उनी इक्वलिटी ल्याब संस्थाको डाइरेक्टरकहाँ पुगे।
विश्वविद्यालयको फ्याकल्टी बैठकमा पहिलो पटक प्रेमलाई बोलाइयो। जब प्रेमले आफ्नो अनुभव सुनाए, त्यस्तो अमानवीय भोगाइ सुनेर सबै फ्याकल्टी प्रोफेसर चकित परे। र, त्यही बैठकबाट सामाजिक न्यायको यति ठूलो विषयलाई कोर्समा समेट्नुपर्छ, र जातलाई संरक्षित श्रेणीमा राख्नुपर्छ भनेर सर्वसम्मत पारित भयो।
जात र यसका आधारमा हुने विभेदबारे थाहा नभएको धेरैले बताएपछि प्रेमले यसबारे कसरी जानकारी दिने भन्नेतिर सोचे। अन्ततः उनले यसका लागि भर्चुअल सम्मेलन आयोजना गर्ने तयारी गरे।
१० अक्टोबर २०२०, विश्व मानसिक दिवसको दिन भर्चुअल सम्मेलन आयोजना गरियो, जुन जातीय भेदभाव र असमानता उन्मूलन अभियानलाई अन्तर्राष्ट्रियकरण गर्न एउटा पुल बन्न पुग्यो। कार्यक्रममा नेपालबाट जीवन परियार, डीबी सागर, डा. विष्णुमाया परियार वक्ता थिए भने नेपालमै बसेर जातबारे अनुसन्धान गरेका अमेरिकी प्रोफेसर प्रमुख वक्ता थिए।
लामो कुराकानीपछि विभागकी प्रमुख प्रा.सराह टेलरले भनिन्, ‘जातीय विभेदबारे हामीलाई थाहा थिएन, तपाईंहरूले आँखा खोलिदिनुभयो। आजको मितिबाट हाम्रो विभागले जातलाई संरक्षित सूचीका रूपमा स्वीकार गरेको छ।’
“यो एउटा उपलब्धि त थियो, तर सोसल वर्कको मात्र विषय थिएन,” प्रेम भन्छन्, “सबै विभागलाई धमाधम इमेल गर्न थालें, कतिलाई जूम मिटिङ गरेर बुझाउने काम गरें। विश्वविद्यालयको ‘डाइभरसिटी इक्विटी एन्ड इन्क्लुजन कमिटी’ मा कुरा राखें।”
पहल गर्दै जाँदा पछि यसलाई ठूलो विषयका रूपमा लिइयो। जातीय भेदभाव अन्त्य गर्ने गरी जातलाई संरक्षित श्रेणीमा राख्नेबारे ‘कास्ट प्रोटेक्टेड रिजोलुसन’ को मस्यौदा बनाएर छलफलका लागि क्यालिफोर्निया स्टेट युनिभर्सिटी (सीएसयू) को एकेडेमिक सिनेटमा पुर्यायो।
छलफलका क्रममा सिनेटका सदस्य समेत रहेका भारतीय मूलका प्राध्यापकले भने, ‘यो त भारतको समस्या हो, तर हामी इस्ट बेमा छलफल गरिरहेका छौं। यो छलफल समयको बर्बादी बाहेक केही होइन।’
केहीबेर हल चकमन्न भयो ।
त्यसपछि प्रेमलाई सोधियो, ‘तिमीसँग यसको जवाफ छ?’
उनले त्यहाँ भने, ‘प्रोफेसरले जे कुरा गर्नुभयो, यो पूर्णतया गलत छ। भारतमा मात्र होइन, मेरो नेपाली समाजभित्र पनि जातका आधारमा विभेद हुन्छ र त्यस्तो विभेद यहाँ पनि भोगिरहेको छु। यहाँ अरू विद्यार्थीले पनि मैले जस्तै भोगेका छन्, तर बोल्दैनन्। हामी ग्लोबल पलिसीको कुरा गर्छौं, तर हामीभित्रैको यस्तो विभेदमा कसरी चूप लाग्न सक्छौं? चूप बसेर कसरी राम्रो समाजको कल्पना गर्न सक्छौं र सामाजिक न्यायको पक्षमा काम गर्छौं?’
त्यसपछि भारतीय मूलका प्राध्यापक चूप भए। सिनेटले ‘कास्ट प्रोटेक्टेड रिजोलुसन’ सर्वसम्मत रूपमा पारित गर्यो। युनिभर्सिटी अफ क्यालिफोर्निया डेभिसले पनि यसलाई स्वीकार गर्यो।
"अन्य क्याम्पसमा पनि भइरहेको छ, मैले अरू विद्यार्थी नेताहरूसँग पनि सहकार्य गरेको छु," प्रेम भन्छन्, "विद्यार्थी संगठनले पनि यसलाई स्वीकार गरेको छ। र, यसको पक्षमा अहिले निकै ठूलो लहर देखिइसकेको छ।"
हिन्दू संगठनबाट विरोध
जातलाई संरक्षित श्रेणीमा राख्ने, जातीय विभेद गर्नेलाई कारबाहीको दायरामा ल्याउने नीति पश्चिमाहरूका लागि नौलो कुरा थियो। जब नीति पारित भयो, स्थानीय सञ्चार माध्यमदेखि विश्वका लोकप्रिय सञ्चार माध्यमहरूले पनि महत्त्वका साथ समाचार प्रकाशन/प्रसारण गर्न थाले।
तर, केही प्राध्यापकले अहिले पनि जात-प्रथा भारतको मात्र समस्या भनिरहेका छन्। उनीहरूले ‘इथ्नीसिटी’ (जातीयता) को परिभाषाभित्र जात नपर्ने र हिन्दू धर्मलाई प्रहार गर्न ल्याइएको नीतिको रूपमा अर्थ्याएका छन्। विश्वविद्यालयका करीब ८० जना फ्याकल्टी मेम्बरले दक्षिणएशियाको हिन्दू धर्मलाई प्रहार गर्न यस्तो भ्रामक नीति ल्याएकाले यसलाई हटाउनुपर्ने भन्दै बोर्ड अफ ट्रस्टीलाई चिठी लेखेका छन्। त्यस्तै, हिन्दू अमेरिकन फाउन्डेशनले पनि यो मनोमानी र अनावश्यक रहेको भन्दै चिठी लेखेको छ।
प्रेम भन्छन्, “पाँच सय जनाभन्दा बढी प्रोफेसर यो नीतिको पक्षमा छन्, तर कतिपय यसलाई तुहाउने मानसिकतामा छन्।”
केही प्राध्यापकले यस विरुद्ध अदालत जाने समेत भनिरहेका छन्। “मैले एउटा जोखिम मोलेको हुँ। थुप्रैले ज्यानै जोखिममा पर्न सक्ने भनेर सचेत पनि गराएका छन्,” उनी भन्छन्, “आउने पुस्ताले आत्मसम्मानका साथ जिउने सुरक्षित ठाउँ बनेको हेर्ने मात्र मेरो चाहना हो।”
‘राज्यकै नीति आवश्यक’
प्रेमले यो नीति आउनुलाई मात्र पर्याप्त मानेका भने छैनन्। नीति कार्यान्वयन गर्न विश्वविद्यालयले केही योजना बनाउनुपर्ने उनको तर्क छ। उनी भन्छन्, “यसका लागि जातीय समानताको कार्ययोजना बनाउनुपर्छ भनिरहेको छु। विभिन्न फ्याकल्टीलाई तालीम दिनुपर्छ। अनुसन्धानका लागि नियमित बजेट विनियोजन गर्नुपर्छ।”
विश्वव्यापी संगठन नेशनल एसोसिएसन अफ सोसल वर्कर क्यालिफोर्निया च्याप्टरको डेलिगेट एसेम्ब्ली समेत रहेका प्रेमले त्यहाँ पनि कास्ट इक्विटी (जातीय समानता) बारे पढाउनुपर्ने परामर्श गरिरहेका छन्। प्रेमले राजनीतिक दल र राज्यसँग पनि समन्वय बढाएका छन्। “मैले राज्यकै नीतिमा परिवर्तन ल्याउन खोजिरहेको छु,” उनी भन्छन्, “यहाँको डेमोक्रेटिक पार्टीले यसलाई स्विकारिसकेको छ। अब क्यालिफोर्निया राज्यले पनि जातलाई संरक्षित श्रेणीमा राख्नुपर्छ।”
पछिल्लो समय अमेरिकाका विभिन्न विश्वविद्यालयले प्रेमसँग सम्पर्क गरिरहेका छन्। विश्वभरका मञ्चमा वक्ताका रूपमा समय दिन उनलाई भ्याइनभ्याइ छ। “अहिले जातीय भेदभावबारे मानिसको एउटा तहमा चेतना आएको छ। यो परिवर्तन पक्कै हो र म चाहन्छु, परिवर्तन मेरै जीवनकालमा हुनुपर्छ। मेरा भावी पुस्ताले गर्वका साथ पढ्ने र बाँच्ने वातावरण होस्,” उनी भन्छन्।
जातीय भेदभावबारे जागरुकता बढाएको र यसलाई मुद्दा बनाउन निरन्तर गरेको सङ्घर्षलाई सम्मान गर्दै क्यालिफोर्निया स्टेट युनिभर्सिटीले प्रेमलाई आउटस्टान्डिङ अवार्डले सम्मानित गरिसकेको छ।