‘एमसीसीको विरोध गर्नेहरू बीआरआईबारे किन बोल्दैनन्?’
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुर अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) विशुद्ध विकासमुखी कार्यक्रम भएको बताउँछन्।
अमेरिकाले यो कुनै सैन्य रणनीति अन्तर्गत नभएको जवाफ दिइसकेकाले यसमा शङ्का गर्नुनपर्ने उनको धारणा छ। एमसीसी अन्तर्गत ५० करोड डलर अनुदान आउँदा विरोध गर्नेहरूले चीनले बीआरआई अन्तर्गत दिन लागेको ऋणबारे भने एक शब्द नबोल्नु अनौठो भएको बताउँछन्। लोसपा अध्यक्ष ठाकुरसँग हिमालखबरका लागि वीरेन्द्र रमणले गरेको सङ्क्षिप्त कुराकानीः
एमसीसीको यत्रो विरोध र समर्थन भइरहँदा यहाँहरू मौन किन?
ऋण वा कर्जा नै नआइरहेको अवस्थामा एमसीसीको अनुदान आउनु राम्रो कुरा हो। हामी एमसीसीको विरोधमा छैनौं।
गरीबी न्यूनीकरणका लागि सडक सञ्जाल विस्तार र विद्युतीकरणको आवश्यकता रहेको विज्ञहरूले औंल्याउँदै आएका छन्। एमसीसी अनुदानको रकम प्रसारण लाइन निर्माण र सडकको अवस्था सुधार गर्नमा लगानी हुन्छ।
विद्युतीकरणमा सबल बन्दै नेपाल बिक्री गर्ने अवस्थामा पुगेको छ। भारत हाम्रो विद्युत् बिक्रीको केन्द्र समेत रहेको छ। भारतसँग विद्युत् आदनप्रदान समेत भइरहेको छ। विद्युत् धेरै उत्पादन गरेर बेच्न सक्यौं भने नेपालको समृद्धिमा नै बल पुग्ने हो।
एमसीसीको विरोधी गर्नेहरूले त नेपालले यो अनुदान लियो भने अमेरिकी सेना आउँछ भनेका छन् नि?
एमसीसी विशुद्ध विकासमुखी कार्यक्रम हो। एमसीसी कुनै सैन्य रणनीति अन्तर्गत छैन र सेना पनि आउने होइन भनेर प्रष्ट गरिसकेको पनि छ। कुनै सैनिक संगठनसँग यसको सम्बन्ध छैन।
यसबाट आउने रकम केमा लगानी गर्ने हो, त्यसमा पनि नेपालका विज्ञहरूले प्रतिवेदन दिइसकेका छन्। अनुदान रकम सडक र विद्युत्मा मात्रै खर्च हुने हो, अर्को ठाउँमा खर्च हुँदैन।
बीआरआई (बेल्ट एन्ड रोड इनिसियटिभ) बाट कसरी ऋण आउन लागेको छ? ब्याज कति प्रतिशत लाग्छ? त्यो पनि कसैलाई थाहा छैन। तर, बीआरआईबारे कोही बोल्दैन। एमसीसी मार्फत अनुदान आउँदा त्यसमा केको विरोध? केको हस्तक्षेप?
एमसीसीको विषयमा सत्तारूढ दलभित्रै विवाद किन भएको होला?
हाम्रो पार्टीको दृष्टिकोण यहाँलाई बताइसकें। सत्ता गठबन्धनमा रहेका वामपन्थीहरू एमसीसीको कार्यान्वयन पक्षको केही बुँदामा विवाद देखिएको छ। तर, जहाँ जहाँ आशंका थियो, त्यसमा पनि एमसीसीले जवाफ दिइसकेको छ।
एमसीसीको अनुदानबाट हुने कामको अनुगमन मात्रै उनीहरूले गर्ने हो। प्रशासनिक तथा प्राविधिक पक्ष सबै नेपालले नै हेर्ने हो। यसमा आपत्ति जनाउनुपर्ने केही छैन।
प्रसङ्ग बदलौं, स्थानीय तहको निर्वाचनमा यहाँको पार्टीले अरूसँग गठबन्धन गर्छ कि गर्दैन?
त्यो कुरा अहिले नै भन्न सकिंदैन। चुनावका वेलासम्म परिस्थिति कस्तो निर्माण हुन्छ, त्यसमा भर पर्छ।
२७ माघमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले मधेशवादी दलहरूलाई विदेशीशक्तिद्वारा गठन गरिएको दल भनेका थिए। तपाईको पार्टी विदेशीले स्थापना गरेको हो?
यो बिल्कुल गलत कुरा हो। दाहालजीको आफ्नो दृष्टिकोण होला, तर यसमा कुनै सत्यता छैन।
नेपालको उत्पीडित समुदायले आफ्नो हक अधिकारका लागि यो पार्टीको स्थापना गरेको हो। मधेशी समुदायले आफ्नो पहिचान र अधिकारका लागि आफ्नो पार्टी निर्माण गरेका हुन्।