एक हजार जनाभन्दा कममा कोरोना सङ्क्रमण
कोभिड-१९ को तेस्रो लहर शुरू भएको एक महीनापछि दैनिक पुष्टि हुने सङ्क्रमितको सङ्ख्या एक हजारभन्दा कम देखिएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार, आज ६ हजार ६६४ जनाको स्वाब परीक्षण गर्दा ८३६ जनामा कोरोना पुष्टि भएको छ। शुक्रबार २० हजार ९८९ जनाको स्वाब परीक्षण गर्दा एक हजार १२८ जनामा कोरोना देखिएको हो।
एक महीनापछि दैनिक थपिने सङ्क्रमितको सङ्ख्या एक हजारभन्दा कम देखिएको हो। तेस्रो लहर शुरू भएपछि २५ पुसमा एक हजार १६७ जनामा सङ्क्रमण देखिएको थियो।
त्यस्तै, आज कोरोनाबाट चार जनाको मृत्यु भएको छ। शुक्रबार १४ जनाको मृत्यु भएको थियो। योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ८८२ पुगेको छ।
पछिल्लो २४ घण्टामा एक हजार ८२६ जना निको भएका छन्। शुक्रबार दुई हजार २३८ जना निको भएका थिए।