बाघको घाउका दाग देखेर बदलिएको मन
पश्चिम नेपालसँग जोडिएको भारतीय क्षेत्रमा १९ नरभक्षी बाघ र १४ चितुवाको शिकार गरेका जिम कर्बेटकाे नामबाट ‘जिम कर्बेट नेशनल पार्क’ नामकरण गरिएको छ।
भारतको उत्तराखण्ड राज्यमा एउटा पुरानो संरक्षण क्षेत्र छ, जिम कर्बेट राष्ट्रिय निकुञ्ज। ८६ वर्षअघि स्थापना भएको यो राष्ट्रिय निकुञ्जमा १६४ बाघ र ६०० हात्ती छन्। यो बाघको बाक्लो बसोबास भएको संरक्षित क्षेत्रमा रूपमा परिचित छ।
स्थापना हुँदा यसको नाम हेली राष्ट्रिय निकुञ्ज थियो। जुन ब्रिटिश गभर्नर विलियम म्याकोल्म हेलीको नामबाट राखिएको थियो।
भारत स्वतन्त्र भएको एक दशकपछि भने सो निकुञ्जको नाम परिवर्तन गरेर जिम कर्बेट राष्ट्रिय निकुञ्ज बनाइएको हो।
जुन प्रख्यात संरक्षणकर्मी एडवार्ड जेम्स कर्बेटका नामले नामकरण गरिएको हो।
कर्बेट त्यही व्यक्ति हुन् जाे कुनै वेला नेपाल र भारतको सीमा क्षेत्रमा शिकारीका रूपमा चर्चित थिए। अहिले बाघको आतङ्क मच्चिँदा बूढापाकाले उनको नाम लिने गर्छन्। त्यति वेला उनले सीमा क्षेत्रका गाउँमा थुप्रै नरभक्षी बाघ मारेका थिए।
कर्बेट को हुन्?
आइरिस मूलका कर्बेट ब्रिटिश शासनकालमा भारत आएका थिए। उनी ब्रिटिश सेनामा कर्णेल थिए। २५ जुलाई १८७५ मा जन्मिएका कर्बेटको ८० वर्षको उमेरमा १९ अप्रिल १९५५ मा मृत्यु भयो।
कर्बेटको जीवनशैली साधारण थियो। उनी गाउँबस्ती घुमिरहन्थे, शिकार गर्न। उनले थुप्रै बाघको शिकार गरे। तर, एकाएक उनी संरक्षणकर्मीमा बदलिए। जसले उनलाई पश्चिम नेपाल र त्यससँग जोडिएका भारतीय क्षेत्रमा पौराणिक कथाका पात्र जस्तै अलौकिक शक्ति भएको व्यक्तिका रूपमा चर्चित बनायो।
उनी कसरी शिकारीबाट संरक्षणकर्मी भए भन्ने प्रसङ्ग निकाल्नुभन्दा पहिले उनले मारेका केही बाघका बारेमा चर्चा गर्न उपयुक्त हुन्छ। त्यति वेला नरभक्षी बाघले भारतको चम्पावत र पश्चिम नेपालमा आतङ्क मच्चाउँदा उनी झुल्किएका थिए। उनले सीमा क्षेत्रका बासिन्दालाई नरभक्षी बाघबाट मुक्ति दिलाएका थिए।
चम्पावत टाइगर
सन् १९०७ मा उनलाई नैनीतालमा बेलायती अधिकारीले मान्छे खाने बाघलाई गोली हानेर शिकार गर्ने हो कि भनेर सोधे। जसले त्यस वेलासम्म नेपालको सुदूरपश्चिममा दुई सय र भारतको चम्पावत क्षेत्रमा त्यही हाराहारीमा मान्छेलाई मारिसकेको थियो।
कर्बेट कुनै हिचकिचाहट विना शिकार गर्न तयार भए। अन्य कसैको मद्दत नलिएरै उनले छोटो शिकार यात्रामै हिंस्रक बाघलाई आफ्नो गोलीको शिकार बनाए। त्यसपछि उनको नामको पछाडि ‘मान्छे मार्ने बाघको शिकारी’ को उपमा झुन्डिन पुग्यो।
उनले सन् १९४४ मा लेखेको म्यान-इटर्स अफ कुमाउ पुस्तकमा यो बाघबारे पनि लेखेका छन्। चम्पावत बाघ ‘द चम्पावत टाइगर’ बारे उनले विस्तृत रूपमा वर्णन गरेका छन्।
उनका अनुसार, यो पाँटे बघिनी थिई। यसले १९औं शताब्दीको अन्तदेखि २०औं शताब्दीको शुरूआती दशकसम्म नेपाल र भारतको कुमाउ क्षेत्रमा ४३६ वटा मान्छे मारेको थियो। महाकाली किनारको नेपालतर्फको डडेल्धुराको गाउँ रूपाल क्षेत्रमा यसको आतङ्क थियो।
यसको आतङ्क कति थियो भने यो क्षेत्रका मानिस मेलापात गर्न, बस्तुभाउ चराउन वनजङ्गल जान छाडेका थिए। यो बाघको आक्रमणबाट मरेका मान्छेको सूची सबैभन्दा धेरै भएको रेकर्ड छ।
यो बाघ मार्न थुप्रै शिकारी आएका थिए। तत्कालीन स्थानीय प्रशासनले चर्चित शिकारीलाई बोलाएको थियो। कसैले मार्न नसकेपछि नेपाली सेना पनि खटिएको थियो। बाघलाई पक्रन वा मार्न नसकेपछि नेपाली सेनाले नेपालबाट धपाएको थियो। त्यसपछि यो बाघ महाकाली तरेर भारततर्फ गएको थियो।
त्यसपछि भारतको कुमाउ क्षेत्रमा यसको आतङ्क शुरू भयो। विशेष गरेर घाँस, दाउराका लागि तथा बस्तुभाउ चराउन वनजङ्गल जाने महिला र बालबालिका यसको शिकार भए। त्यसपछि चर्चित शिकारी जिम कर्बेट कुमाउ पुगे।
सन् १९०७ मा चम्पावत बजार नजिकैको फुङ्गर गाउँमा एक १६ वर्षीया किशोरीलाई बाघले मारेको थियो। बाघले रगतको निशान छोड्दै गएको थियो। उनी त्यसलाई पछ्याउँदै गए। अन्ततः कर्बेट त्यो बाघ मार्न सफल भए।
पवालगढ़को बाघको न्वारन
एक पटक कर्बेट घुम्न भारतको पवालगढ पुगेका थिए। उनी पहाडको सुन्दरताको मजा लिन एउटा चुचुरोमा गएर बसेका थिए। त्यही समयमा जङ्गलमा चराचुरुङ्गी कराउन थाले। उनले बाघ नजिक आएको सङ्केत पाइहाले।
त्यति वेला शिकार गर्न पनि अनुमति दिने गरिएको थियो। चारैतिर शिकारीले पछ्याइरहेको थाहा पाएपछि एक बाघ यताउता लुक्न खोजिरहेको थियो। एक्लै भड्किरहेको त्यसको नाम कर्बेटले ‘ब्याचुलर अफ पवालगढ’ राखे।
मुक्तेश्वरको नरभक्षी बाघ
कर्बेट मुक्तेश्वरको यात्रामा थिए। बाटोमा एक बालिकालाई कलुवा नामको गोरु घरतर्फ लग्दै गरेको देखे। एउटै गोरु कता लग्दै छौ भनेर सोध्दा अर्को गोरुलाई एक दिनअघि बाघले खाएको सुनाइन्।
त्यति सुनेका भरमा कर्बेट बाघको खोजीमा लागे। एउटा गोरुलाई मारेको र फेरि त्यही ठाउँमा आउने आशमा उनी त्यहीं नजिकै रूखमा मचान बनाएर बसे। नभन्दै रातको पहिलो प्रहरमा बाघ आयो। मरेको गोरुलाई खान थाल्यो।
उनले गोली चलाए, तर अँध्यारोमा बाघलाई निशाना लगाउन सकेनन्। र बाघ भाग्यो।
फेरि भोलिपल्ट गाउँलेसँग सरसल्लाह गरेर वनतिर लागे। केही परको डाँडाको सेरोफेरोमा बाघ देखियो। जनावरको हड्डीलाई चपाउँदै विपरीत दिशातर्फ पहाडमा उक्लिंदै थियो। पहिलो फायर के गरेका थिए, त्यो बाघ दुई गजको दूरीमै आइपुग्यो। सतर्क हुँदै दोस्रो फायर खोले, बाघ त्यहीं ढल्यो।
पछि हेर्दा त्यसको एउटा आँखामा चोट लागेको थियो। त्यो आँखाले देख्न नसक्ने हुँदा नरभक्षी भएको अनुमान गरियो।
तल्ला देशको नरभक्षी
कर्बेट वनजङ्गलबारे पनि राम्रो जानकारी राख्थे। दिन मात्रै होइन, रातमा पनि उनी वनजङ्गल हिँडडुल गर्न मन पराउँथे।
अल्मोडा नजिक अहिलेको चम्पावत क्षेत्रमा फेरि नरभक्षी बाघको आतङ्क मच्चियो। उनी नैनीतालमा बस्थे। त्यहाँबाट टनकपुर हुँदै पैदल मार्गबाट लामो समय लगाएर चम्पावत पुग्नुपर्थ्यो। त्यही क्रममा उनी हिंड्दै तामली गाउँ पुगे। त्यहाँ उनलाई अत्यन्त सरल रूपमा गाउँलेले स्वागत गरे। शिकारीका रूपमा स्वागत गर्दा उनी प्रफुल्ल भए।
रातदिन हिंडेर उनी चम्पावत पुगे। त्यहाँ अन्तिम पटक महिलालाई बाघले मारेको थियो। त्यो सङ्केत हेर्दै उनी गाउँलेको सहयोगमा बाघलाई पछ्याउँछन्। पछ्याउँदै जाँदा एउटा पहाडी खेतमा दुई वटा बाघ सुतेको देख्छन्। त्यहीं दुवै बाघलाई मारेर गाउँ फर्किन्छन्। तल्ला देशमा यसरी केही घण्टामै बाघ मारेको उनले पुस्तकमा उल्लेख गरेका छन्।
कर्बेटको अन्तिम शिकार
महाकाली नदीमा मिसिने भारतको लध्या नदी छ। त्यसको किनारमा कोट केन्द्री, थाक, चुक भन्ने गाउँ छन्। बाघले कोट केन्द्री गाउँमा एक वयस्कलाई मारेपछि कर्बेटलाई बोलाइन्छ। उनी त्यसको अध्ययनमा जुट्छन्।
त्यसलाई पछ्याउँदै जान्छन्। अर्को गाउँ थाक पुगेपछि बाघ भेटिन्छ। ढुङ्गामा बसेको वेला गोली चलाउँछन् र बाघ मर्छ। यो बाघ मार्ने क्रममा उनको मुखमा चोट पनि लागेको थियो। जसले गर्दा कयौं दिनसम्म उनले तरल पदार्थ मात्रै खाएका थिए।
बाघको घाउका दाग देखेर बदलिएको मन
कर्बेटले यो क्षेत्रमा १९ नरभक्षी बाघ र १४ चितुवाको शिकार गरे। उनलाई यस क्षेत्रको वनजङ्गल र वन्यजन्तुका विषयमा राम्रो ज्ञान थियो। जसले गर्दा बाघको पन्जाको छापका आधारमा भेट्टाउन सक्थे। यससँगै वन्यजन्तुको कराइले पनि यो क्षेत्रमा बाघ छ भन्ने अनुमान गर्न सक्थे।
उनले आफूले शिकार गरेका बाघका अङ्ग राख्ने गरेका थिए। तिनै अङ्ग अध्ययनका क्रममा उनले कतिपय जनावरलाई पहिले पनि चोट लागेको थाहा पाए। कतिलाई भाला लागेको, कतिलाई गोली लागेको दाग देखे।
घाउका दाग देखेपछि उनको मन बदलियो। बाघको संरक्षण गर्नुपर्छ भन्ने भावना जागृत भयो। त्यसपछि संरक्षणमा लागे। उनले तत्कालीन ब्रिटिश सरकारलाई अनुरोध गरे। र, एशियाकै पहिलो संरक्षित क्षेत्र बन्यो, ‘हेली नेशनल पार्क’। उनी त्यस क्षेत्रमा बाघको संरक्षणमा जुटे। त्यही ‘हेली नेशलन पार्क’ को नाम परिवर्तन गरेर भारत सरकारले ‘जिम कर्बेट नेशनल पार्क’ बनायो। जुन अहिले बाघको सबैभन्दा बाक्लो उपस्थिति भएको संरक्षित क्षेत्रका रूपमा प्रख्यात छ।
कर्बेट जीवनको अन्तिम समयमा भने भारत छोडेर केन्या पुगे। त्यहाँ रूखमै घर बनाएर बसे। उनले त्यहीं बसेर पुस्तक लेखे, द ट्री टप। उनी संरक्षणका क्षेत्रमा यति चर्चित थिए कि बेलायतकी महारानी कर्बेटलाई भेट्न त्यहीं पुगेकी थिइन्।