नेपाल यूएईसँग २५ रनले पराजित
चार देश सम्मिलित टी-२० श्रृङ्खलाको दोस्रो खेलमा नेपाल यूएईसँग २५ रनले पराजित भएको छ।
यूएईले दिएको १९३ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले पाँच विकेट गुमाएर १६७ रन मात्रै बनाउन सक्यो। नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ४१, आशिफ शेखले ३४, लोकेश बमले ३३, ज्ञानेन्द्र मल्लले २२, आरिफ शेखले ११ र शरद भेषवाकरले १० रन बनाए।
यूएईका लागि कसिफ दाउदले दुई र रोहन मुस्ताफाले दुई–दुई तथा जुनैद सिद्दिकीले एक विकेट लिए।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको यूएईले तीन विकेटको क्षतिमा १९२ रन बनाएको थियो। यूएईका लागि चिराग सुरीले ५३ बलमा ८४ रन बनाए।
त्यस्तै, रोहन मुस्ताफाले ४९, मोहम्मद वासिमले २२, बसिल हमिदले १७ र मोहम्मद बुटले १४ रन बनाए।
नेपालका लागि सहाब आलम, सन्दीप लामिछाने र आरिफ शेखले एक-एक विकेट लिए। कप्तान लामिछाने बाहेक सबै बलर महँगा सावित भए।
चार देशीय श्रृङ्खला अन्तर्गत नेपालले तेस्रो खेल सोमबार अपराह्न ३:४५ बजे आयरल्यान्डसँग खेल्नेछ।