निर्माण नसकिंदै भत्कियो अस्पतालको पर्खाल
जिल्ला अस्पताल, खोटाङको स्तरोन्नतिका क्रममा निर्माण शुरू गरिएको पर्खाल तयार नहुँदै भत्किएको छ।
जिल्ला अस्पताललाई स्तरोन्नति गर्न भवन निर्माण हुँदै छ। यसलाई १५ शय्याबाट बढाएर ५० शय्या बनाइँदै छ। त्यसका लागि आवश्यक भवन निर्माणका क्रममा शुरू गरिएको टेवा पर्खाल तयार नहुँदै भत्किएको हो।
निर्माण कम्पनीको लापरवाहीका कारण पर्खाल तयार नहुँदै भत्किएको स्थानीय बासिन्दाले बताएका छन्। यसलाई श्यामसुन्दर/रामसागर नेपाल/फूलवारी जेभीले निर्माण गरिरहेको छ।
अस्पताल स्तरोन्नतिका लागि ४० मिटर लम्बाइ र २०.५ मिटर चौडाइको भवन बनाउन लागिएको हो। त्यही क्रममा बिरामी भर्ना गर्ने कक्ष, डेलिभरी कक्ष, शल्यक्रिया कक्ष, इमर्जेन्सी कक्ष लगायत रहेको पुरानो भवनलाई भत्काएर नयाँ बनाउने तयारी गरिएको छ।
भवन बन्ने जग्गाको भित्तामा निर्माण शुरू गरिएको पर्खाल सामान्य वर्षाकै कारण २१ माघमा भत्किएको हो। २७ मिटर लम्बाइ र सात मिटर उचाइ हुने पर्खालको जगभन्दा तल भत्किएको हो। झण्डै सात मिटर भत्किएको छ।
गुणस्तरीय नभएकाले नयाँ पर्खालको बीच भागमै भत्किएको सघन शहरी विकास तथा भवन निर्माण आयोजना ओखलढुंगाका इन्जिनियर रामहृदय पटेलले बताए।
पर्खाल भत्किएपछि बिरामी राख्ने कक्ष पनि जोखिममा परेको छ। नयाँ भवन निर्माण नहुँदासम्म अस्पतालका सेवालाई निरन्तरता दिन अस्थायी भवन बनाइएको छ। जहाँ बिरामी कक्ष राखिएको छ। बिरामी कक्ष मुनिको पर्खाल भत्किएपछि जोखिममा परेको हो।
निर्माण व्यवसायीले भत्किएको पर्खाललाई त्रिपालले ढाकेर पुनर्निर्माण शुरू गरेको जिल्ला अस्पतालका प्रमुख डा. वैभव मल्लिकले बताए।
नयाँ भवन निर्माणका लागि २१ करोडमा ठेक्का सम्झौता भएको थियो। गत असारमा भएको सम्झौता अनुसार साढे दुई वर्षभित्र निर्माण सम्पन्न गर्नुपर्छ।