नेपाली गाउँबस्तीका डोबहरू
पुस्तकको भाषा सहज र सरल छ। कृतिमा एक किसिमको सहज लालित्य पनि छ। पुस्तकमा ठाउँ ठाउँमा उखान-टुक्का प्रयोग भएका छन्, जसले लेखाइलाई स्वादिलो बनाएका छन्।
भ्रमणबारे एउटा कथन छ- कुनै ठाउँबारे हजारपटक सुन्नुभन्दा एक पटक देख्नु उत्तम।
ईसवीको पाँचौं शताब्दीतिर धर्मशास्त्री सेन्ट अगस्टिनले यही कथनलाई बल पुग्ने गरी एउटा अभिव्यक्ति दिए। उनले भने- विश्व एउटा पुस्तक हो, भ्रमण नगर्नेले दुनियाँरूपी पुस्तकको एउटा पाना मात्र पढ्छ।
यी भनाइले भ्रमण कति महत्त्वपूर्ण छ भन्ने प्रष्ट्याउँछ।
हाम्रो यस भूखण्ड प्राचीन कालदेखि नै महत्त्वपूर्ण आध्यात्मिक गन्तव्य रहँदै आएको थियो। हालका दिनमा भने यहाँ आन्तरिक पर्यटन फस्टाएको छ र भ्रमण संस्कृतिको विकास भइरहेको छ। नेपालको पर्यटन उद्योगमा हुने आम्दानीको कुल अंशमध्ये ५६ प्रतिशत अंश आन्तरिक पर्यटनले ओगेटेको छ।
नयाँ ठाउँ घुम्ने र ती ठाउँका यात्रानुभूतिलाई शब्दचित्र, तस्वीर र भिडिओ मार्फत पस्कने प्रवृत्ति पनि मौलाउँदो छ। यसलाई यात्रावृत्तान्तकै एक हिस्सा मान्न सकिएला। यसै पनि नेपाली साहित्यमा नियात्रा विधा समृद्ध नै देखिन्छ।
यायावर अनुभूति उतार्ने शब्दशिल्पीहरू नेपालमा बाक्लै छन्। आधुनिक समयमा घनश्याम राजकर्णिकार, डा. हर्क गुरुङ, डा. तारानाथ शर्मा, तेजप्रकाश श्रेष्ठ, गोविन्द वर्तमान जस्ता प्रतिभाहरूले यात्रावृत्तान्तलाई उर्वर बनाए। तिनलाई पछ्याउँदै प्रतीक ढकाल, दामोदर पुडासैनी ‘किशोर’, जय छाङ्छा, युवराज नयाँघरे लगायत थुप्रै शब्दशिल्पी यात्रावृत्तान्त उर्वर बनाउन प्रयत्नशील छन्। यही लहरमा मिसिएका छन्, तिलकप्रसाद पुन ‘पुर्जा’।
आधुनिक समयमा घनश्याम राजकर्णिकार, डा. हर्क गुरुङ, डा. तारानाथ शर्मा, तेजप्रकाश श्रेष्ठ, गोविन्द वर्तमान जस्ता प्रतिभाहरूले यात्रावृत्तान्तलाई उर्वर बनाए।
उनको साइनो र बस्तीभित्र यात्रावृत्तान्त पाठकसमक्ष आइपुगेका छन्।
पर्वतको ओख्रेनीमा बाल्यकाल बिताएका पुन सात वर्षकै उमेरमा बाआमासँगै नवलपरासी बसाइँ सरे। बाल्यकालमै उनका पाइला पहाडका गौंडा-गल्छेडा र मधेशका समथर जमीनमा चलायमान भए।
लोकसंस्कृतिमा रुझान भएका पुनको लेखाइमा लोकजीवन छ्याङ्ग हुने गरी उघ्रिन्छ। उनले यसअघि लोकजीवनका आयामहरूलाई समेटेर लोक संस्कृतिका सुसेलीहरू (२०६७) कृति पाठक समक्ष ल्याइसकेका छन्। पुनको कृतिमा विचरण गरिरहँदा लोकजीवनका रैथाने अनुभूतिहरू बयली खेल्न आइपुग्छन्।
विगतमा फुटकर रूपमा मात्र यात्रावृत्तान्तलाई लिपिबद्ध गरेका पुनले यस पटक भने यात्रानुभूतिहरूलाई पुस्तकाकार रूप दिए। उनको नवीनतम कृति ‘साइनो’ मा स्वदेश भ्रमणका रैथाने अनुभूतिहरू सलबलाउँछन् अनि लोकजीवनका सुवास केबराको फूल झैं मगमगाउँछन्।
कृतिको केन्द्रीय विषयवस्तु नेपालको नयाँ पर्यटकीय गन्तव्यका रूपमा स्थापित होमस्टे, रैथाने जीवनशैली र लोकसंस्कृतिको सेरोफेरोमा फन्को मार्छ। भूगोलको हकमा कृति पूर्वमा धनकुटा-सुनसरीदेखि पश्चिम कैलाली र पहाडसम्म पुगेको छ। कृतिमा तराईका होमस्टे तथा पर्यटकीय गन्तव्यको चर्चा छ।
कृतिकार चित्रकारितामा पनि सक्रिय प्रतिभा हुन्। उनका चित्रकलामा गाउँबस्तीको झझल्को आउने चमत्कारपूर्ण कलाकारिता भेटिन्छ। आँखै अगाडि गाउँबस्ती उभिंदा गाउँले जीवनमा अभ्यस्त जो-कोही पनि अतीतमोहको मृगमरीचिकामा धकेलिन्छ। कृतिमा भने उनले गाउँबस्तीका शब्दचित्र तयार पारेका छन्।
प्रस्तुत कृतिमा ३७ वटा लेख सङ्गृहीत छन्, जसमध्ये आधा जति लेख पोखराका स्थानीय अखबारमा प्रकाशित भइसकेका हुन्। कृतिले दरै, पहरी, बोटे, थारू, मुसहर जस्ता जनजातिका जीवनशैलीसँग मितेरी गाँस्छ। कृतिमा लोकजीवनका विविध झाँकीहरूका अतिरिक्त भक्तपुरको जुजुधौ अनि टोखाको चाकु र च्युराको बखान छ।
कृतिकारले विभिन्न कालखण्डमा आफूले चाहरेका पर्यटकीय गन्तव्यहरूका मनोरम भूदृश्य, स्थानीय जीवनशैली, होमस्टे सञ्चालकहरूले दिएका न्यायो आतिथ्य र तिनै होमस्टेमा पाइने परिकारको वर्णन गरेका छन्। गाउँठाउँ डुल्दा आफू र आफ्ना टोली समक्ष टक्रयाइएका घरेलु ‘रौसी’ को मादकतापूर्ण सुस्वादुपनको चर्चा पनि कृतिमा छ।
उनले लोकभाका र लोकनृत्यले सजिएको स्थानीय जनजातीय लोकसंस्कृतिको भरपूर रसास्वादन गरेका छन्, जुन कुरा उनले कृतिका विभिन्न पृष्ठमा चर्चा छ।
त्यस्तै, स्थानीय भूगोल, लोकसंस्कृति र लोकमनोविज्ञानलाई हृदयको कुनामा सजाएर राखेको अनुभूति हुन्छ, जुन यात्रावृत्तान्तको आधारभूत व्याकरण पनि हो।
अमेरिकी यात्रावृत्तान्तकार विलियम हिट-मुनले आधुनिक सुखसुविधाबाट वञ्जित अमेरिकी गाउँबस्तीको भ्रमण गरेर सन् १९८२ मा ‘ब्लु हाइवेज’ नामक कृति तयार पारे, जसले अमेरिकी समाजमा तहल्का मच्चायो।
पुस्तकको भाषा सहज र सरल छ। कृतिमा एक किसिमको सहज लालित्य पनि छ। पुस्तकमा ठाउँ ठाउँमा उखान-टुक्का प्रयोग भएका छन्, जसले लेखाइलाई स्वादिलो बनाएका छन्।
हरेक कृतिमा सुधारको गुञ्जायस रहिरहन्छ। तर पनि, स्थानीय संस्कृति र अर्थतन्त्र केन्द्रमा राखेर मिहिन किसिमले यात्रावृत्तान्त जन समक्ष आउनु खुशीलाग्दो पक्ष हो। रैथाने यात्रा अनुभूतिहरूलाई पुस्तकाकार कृतिमा उतार्ने कृतिकारको प्रयास प्रशंसनीय छ।
कृतिले नेपालका होमस्टे तथा सांस्कृतिक दृष्टिले आकर्षक पर्यटकीय गन्तव्यहरूबारे जानकारी दिन्छ, जुन नयाँ घुमन्तेहरूका लागि उपयोगी हुन्छ। नेपाललाई नयाँ ढङ्गले चिन्ने र चिनाउने दिशामा कृतिकारले दिएको योगदानलाई कम आँक्न मिल्दैन।
यहाँनेर, एउटा प्रसङ्ग स्मरणीय हुन आउँछ। अमेरिकी यात्रावृत्तान्तकार विलियम हिट-मुनले आधुनिक सुखसुविधाबाट वञ्जित अमेरिकी गाउँबस्तीको भ्रमण गरेर सन् १९८२ मा ब्लु हाइवेज नामक कृति तयार पारे, जसले अमेरिकी समाजमा तहल्का मच्चायो।
समकालीन नेपाली गाउँबस्तीका कथाव्यथा झल्किने गरी विलियम हिट-मुनको बेस्टसेलर यात्रावृत्तान्त तयार पार्ने अवसर छ। यस अवसरले तिलकप्रसाद पुन ‘पुर्जा’ जस्ता भ्रमणशील सर्जकको बाटो हेरिरहेको पनि हुन सक्छ।