अन्तर्राष्ट्रिय टी-२० श्रृङ्खलामा यूएईसँग भिड्दै नेपाल
चार देशीय अन्तर्राष्ट्रिय टी-२० श्रृङ्खलाको दोस्रो खेलमा आज नेपाल यूएईसँग भिड्न लागेको छ।
ओमानको अल अमेरत रङ्गशालामा शनिबार बिहान ११ः४५ बजे नेपाल र यूएईको खेल हुनेछ। नेपालले पहिलो खेलमा शुक्रबार ओमानलाई ६ विकेटले पराजित गरेको थियो।
पछिल्लो तीन वटा अन्तर्राष्ट्रिय टी-२० प्रतिस्पर्धामा नेपालले दुई खेल जितेको छ भने एकमा हार बेहोरेको छ। आजको खेलमा जितका लागि मैदानमा उत्रिने नेपाली टोलीका कप्तान सन्दीप लामिछानेले बताएका छन्।
नेपाल पहिलो पटक लामिछानेको नेतृत्वमा अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिरहेको छ। उनको नेतृत्वको पहिलो खेलमा शुक्रबार नेपालले अन्तिम ओभरमा जित हासिल गरेको थियो।
नेपाल सहित ओमान, यूएई र क्यानाडा सम्मिलित चार देशीय श्रृङ्खलामा आजै अर्को खेलमा ओमान र क्यानाडाबीच हुनेछ। नेपाले अर्को खेल आइतबार क्यानाडासँग खेल्नेछ।
त्यसपछि ओमानमै आईसीसी टी-२० विश्वकपको ग्लोबल क्वालिफायर खेल्नेछ। जसमा नेपाल सहित ओमान, फिलिपिन्स, क्यानाडा, यूएई, बहराइन, आयरल्यान्ड र जर्मनी छन्।
समूहमा ‘ए’मा रहेको नेपालले क्यानाडा, फिलिपिन्स र ओमानसँग प्रतिस्पर्धा गर्नेछ। प्रतियोगिताका शीर्ष दुई टोलीले १६ अक्टोबरदेखि १३ नोभेम्बरसम्म अस्ट्रेलियामा हुने टी-२० विश्वकपका लागि छनोट हुनेछ।
नेपालले पहिलो खेल ६ फागुनमा ओमानसँग खेल्नेछ। त्यसपछि ७ फागुनमा फिलिपिन्ससँग र ९ फागुनमा क्यानाडासँग खेल्नेछ।